• ८ वैशाख २०८१, शनिबार

अझै विकृतिको सिकार बन्दै दलित

blog

कलैया समाचारदाता

बारा, असार ५ गते । परापूर्वदेखि सामाजिक विकृतिको सिकार बन्दै आएका दलितहरू अझै सोही पीडाबाट गुज्रिरहेको पूर्वसहायक राज्यमन्त्री कलावतीदेवी पासवानले बताउनुभएको छ ।मतदाता नामावलीमा महिला, दलितलगायत सीमान्तकृत समुदायको पहँुच सुनिश्चिताका लागि सरोकारवालासँग शनिबार कलैयामा भएको कार्यक्रममा पासवानले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, मुलुकको सबैभन्दा बढी दलितको बसोबास रहेका जिल्लाहरू सिरहा, सप्तरी र कपिलवस्तुलगायतका ठाउँमा सामाजिक अपराधका शिकार हुँदै आएको समाचार विभिन्न पत्रपत्रिकामा आउने गरेको छ । समाजले दलितहरूलाई हेप्ने, अपहेलित गर्ने गरेको तथा भेदभाव रहेकाले त्यस्ता प्रवृत्तिबाट उन्मुक्ति पाउन दलितहरू समाजसँग लड्नु पर्ने समय आएको छ । 

दलित सरोकारहरूका अगुवा नै दलीय कित्तामा समावेशभएको तथा दलीय भागबन्डामा अल्झिएका कारण यस्तो समस्या भोग्दै आएको नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताउनुभयो । उनीहरूले राज्यबाट पाउने सेवा सुविधाको आरक्षणसहितका फाइदा लिनुको साथै समानुपातिक पदका लागि दलमा मान, पदवी, पद पाउनका लागि दलका अगुवा नेताहरूको पछिपछि डुल्ने गरेकाले दलितहरू पछाडि परेको उहाँले बताउनुभयो ।

मतदाता नामावलीमा हामी सबैको मौलिक हकअधिकार रहेकाले दलितहरू मात्र नभएर छुट्टेकाहरू अन्य जातजातिको पनि नाम समावेश गराउन सबै समुदायका अगुवा व्यक्तिहरूले आ–आफ्नो ठाउँबाट विशेष पहल गर्नुपर्ने सहभागी वक्ताहरूले जोड दिएका छन् ।