१. आरम्भिकी
साहित्यका विभिन्न विधामध्ये कविता सर्वाधिक व्याप्ति प्राप्त गरेको विधा हो र यो चेतना प्राधान्य विधा पनि हो । चेतनाको विधा किन भनिएको हो भने यसको सम्बन्ध भाव, विचार र रागात्मक लयसौन्दर्यसँग हुन्छ । साहित्यका अन्य विधाले कथ्यको व्याख्या गर्छन् भने कविताले सङ्केत मात्र गर्छ र त्यो सङ्केत बुझ्न पाठकमा उच्च चेतना हुनु आवश्यक छ । भाव, विचार वा घटनाको विशिष्ट लयात्मक अभिव्यक्तिका रूपमा रहेको कवितामा त्यसका आफ्नै संरचक घटक वा तìवहरू हुन्छन् भने लयात्मकता कविताको निजी र अनिवार्य तŒव हो । कविताका लघुतम, लघु, मध्यम र बृहत् गरी चार रूप हुन्छन् भने संरचनाका आधारमा प्रगीतात्मक, आख्यानात्मक र नाटकीय गरी तीन प्रकारका हुन्छन् । यति मात्र होइन, कविता भावना र अनुभूतिको तीव्रतम अभिव्यक्ति हो ।
नेपाली कविताको इतिहास करिब साढे दुई सय वर्षको रहेको छ र यस अवधिमा नेपाली कवितामा विविध प्रवृत्ति देखिएका छन् । यिनै परिवर्तित प्रवृत्तिबाट नेपाली कविताका धाराको निर्माण भएको छ । प्राथमिककालीन वीर र भक्तिधाराबाट सुरु भएको नेपाली कविताले माध्यमिककाल र आधुनिकताको पृष्ठभूमि परिष्कारवादी धारापश्चात् विसं १९९१ देखि आधुनिककालमा प्रवेश गरेको हो । यसरी समयानुसार प्रवृत्तिगत परिवर्तन देखिँदै जानु साहित्यको सामान्य विशेषता जस्तै नेपाली कविताको पनि विशेषता हो ।
स्वच्छन्दतावादी धाराबाट आधुनिक नेपाली कविताको प्रारम्भ भएको हो । स्वच्छन्दतावादी धाराको वर्चस्वकै समयमा विसं २००८ देखि कृष्णचन्द्रसिंह प्रधानका कविताबाट प्रगतिवादी धाराको प्रारम्भ भएको हो भने २०१७ देखि मोहन कोइरालाबाट प्रयोगवादी धाराको प्रारम्भ भएको देखिन्छ । तत्पश्चात् २०३६ को राजनीतिक परिवर्तनपछि समसामयिक धाराको प्रारम्भ भएको देखिन्छ भने २०४६ को राजनीतिक परिवर्तनले उत्तरवर्ती नेपाली कवितालाई युगीन यथार्थपरक बनाएको छ । २०६२÷०६३ को राजनीतिक आन्दोलन र यसले नेपाली कवितामा पारेको प्रभावको परिणतिस्वरूप नेपाली कवितामा उत्तरवर्ती चरण प्रारम्भ भएको छ । त्यसभन्दा यताको नेपाली कवितालाई गणतन्त्रोत्तर नेपाली कविता पनि भनिन्छ ।
२. उत्तरवर्ती नेपाली कविताको पृष्ठभूमिका रूपमा पूर्ववर्ती नेपाली कविता
उत्तरवर्ती नेपाली कविताको पृष्ठभूमिका रूपमा पूर्ववर्ती नेपाली कविताको विराट् आयतनलाई बिर्सनु इतिहासलाई बिर्सनु हो । यहाँ पूर्ववर्ती नेपाली कविता भनेर उत्तरवर्ती नेपाली कविताभन्दा पहिलेको आधुनिक नेपाली कविता भन्ने बुझिन्छ । आधुनिकताका सामान्य केही लक्षण शास्त्रीयतावादी (परिष्कारवादी) धाराका कवितामा देख्न सकिन्छ । यस धाराका प्रभावशाली कवि लेखनाथ पौड्याल, बालकृष्ण सम आदिको नेतृत्वमा कवितामा पूर्वीय÷पाश्चात्य दर्शनको प्रयोगका साथ बौद्धिकताको उच्च प्रयोग धाराको रूपमा चिनिएका छन् । शास्त्रीयताले विज्ञानको विरोध गर्छ तर नेपाली कवितामा शास्त्रीयताबाट आधुनिक नेपाली कविताको प्रवर्तनका लागि पृष्ठभूमिको निर्माण भएकाले आधुनिकताको यसलाई नेपाली सन्दर्भको शास्त्रीयता मान्न सकिन्छ । यो उत्तरवर्ती नेपाली कविताको पहिलो पृष्ठभूमि हो ।
नेपाली कविताको परिष्कारवादी धाराका अतिशय नियमबद्ध कठोरतालाई चिर्दै शास्त्रीयताका व्यतिरेकमा १९९१ देखि लक्ष्मीप्रसाद देवकोटा र गोपालप्रसाद रिमालबाट नेपाली कवितामा आधुनिकताले प्रवेश गरेको हो । १९९१ मा स्वच्छन्दतावादी कवितालेखनका दृष्टिले लक्ष्मीप्रसाद देवकोटा शास्त्रीय छन्दोबद्ध कवितालेखनका व्यतिरेकमा गद्यकविताको दृष्टिले गोपालप्रसाद रिमाल र नवीन चेतनाको पत्रिका प्रकाशनको दृष्टिले शारदा पत्रिकाबाट स्वच्छन्दतावादी धाराको प्रवर्तन सँगसँगै नेपाली कविताले आधुनिक युगमा प्रवेश गरेको हो । नेपाली कविताको स्वच्छन्दतावादी धाराको प्रारम्भ भनेको नेपाली कवितामा आधुनिकताको प्रस्थानबिन्दु पनि हो । नवीन मूल्यको खोजीमा केन्द्रित यस धाराका कवितालाई उत्तरवर्ती नेपाली कविताको दोस्रो पृष्ठभूमि मानिन्छ ।
वैचारिकताको प्रवेश र परिवर्तनशील चरित्रका साथ देखिएको प्रगतिवादी नेपाली कविता उत्तरवर्ती नेपाली कविताको पृथक् पृष्ठभूमि मानिन्छ । स्वच्छन्दतावादी र प्रगतिवादी कविताका केही प्रवृत्ति साझा भए पनि प्रगतिवादी कविताको सम्बन्ध स्वच्छन्दतावादी भावुकता र कल्पनाशीलताभन्दा सामाजिक यथार्थसँग निकट भएकाले र त्यस्ता कवितामा माक्र्सवादी द्वन्द्वात्मक भौतिकवाद तथा वर्गचेतनायुक्त हुनैपर्ने भएकाले यस विन्दुबाट स्वच्छन्दतावादी र प्रगतिवादी कविता अलगिन्छ । यस दृष्टिले विसं २००८ को कृष्णचन्द्रसिंह प्रधानको
‘भन्ज्याङनेरै’ कवितासङ्ग्रहको प्रकाशन र त्यसको लेखकीय भूमिकामा प्रगतिवादका मान्यताका साथ ती कविता लेखिएको उनको स्वीकारोक्ति तथा ती कवितामा अभिव्यञ्जित प्रगतिवादी प्रवृत्तिका आधारमा यसै समयबिन्दुलाई प्रगतिवादी नेपाली कविताधाराको प्रस्थानविन्दु मान्न सकिन्छ । प्रगतिवादी कविको उद्देश्य नै कविताका माध्यमबाट राजनीतिक परिवर्तन र कवितालाई राजनीतिक प्रयोजनका लागि साधन बनाउने मान्यता भएकाले विशेष गरेर वामपन्थी राजनीतिसँग यसको नजिकको सम्बन्ध देखिन्छ । यस धाराका कवितालाई उत्तरवर्ती नेपाली कविताको तेस्रो पृष्ठभूमि मानिन्छ ।
नेपाली कवितामा पाश्चात्य विसङ्गतिवादी चिन्तन र प्रयोगशीलताको प्रवेशका दृष्टिले प्रयोगवादी कविताको इतिहास उल्लेखनीय छ । विसं २०१७ देखि मोहन कोइराला, जगदीशशमशेर राणा, वैरागी काइँलालगायतका कविबाट प्रयोगवादी धाराको प्रारम्भ भएको हो । युगीन असङ्गतिप्रतिको विरोधलाई प्रतीकात्मक र विम्बात्मक रूपमा अभिव्यक्त गर्नका लागि कविहरूले दुरुह शैलीको अवलम्बन गरेर कवितालेखन प्रारम्भ गरे । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएकाले पनि तत्कालीन राजनीतिक परिस्थितिले गर्दा तत्कालीन प्रयोगवादी कविले आफ्नो असन्तुष्टि व्यक्त गर्नका लागि अमूर्त शैली अवलम्बन गरेको यथार्थ पनि देखिन्छ । यिनै विविध सन्दर्भमा आधुनिक नेपाली कविताको प्रयोगवादी धाराको समयका राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक आदि पृष्ठाधार वा पृष्ठभूमिले पनि प्रयोगवादी नेपाली कवितालाई आधार प्रदान गरेका छन् ।
आयामेली आन्दोलनलगायतका अभियानले पनि यस धाराका कवितामा उल्लेखनीय योगदान पु¥याएका छन् भने पूmल–पात–पतकर, तेस्रो आयामलगायतका पत्रिकाले पनि प्रयोगवादी नेपाली कविताको प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएका छन् । विश्वसाहित्यमा विकसित भएका अस्तित्ववाद, विसङ्गतिवाद, अमूर्त लेखनको प्रभाव प्रयोगवादी नेपाली कवितामा परेको देखिन्छ । पाश्चात्य साहित्यसँगको निकटताका दृष्टिले र नवीन प्रवृत्तिको प्रयोगका दृष्टिले यस धाराका कविता उल्लेखनीय छन् । तत्कालीन परिवेशका जटिलता, विद्रुपता आदिलाई अभिव्यक्त गर्न चेतनाप्रवाह शैली, अमूर्त लेखन, विम्बबहुल भाषा, विम्बको व्यापक प्रयोग र समरेखीय अभिव्यक्ति कलाभन्दा भिन्न उध्र्वरेखीय अभिव्यक्ति कलालाई यस समयका कविताले अभिव्यक्त गरेका छन् । यस धाराका कवितालाई उत्तरवर्ती नेपाली कविताको चौथो पृष्ठभूमिका रूपमा मानिन्छ ।
३. उत्तरवर्ती नेपाली कविताको स्वरूप
सडक कविता क्रान्ति अर्थात् विसं २०३६ यताको वर्तमानसम्मको नेपाली कविताको अवधि पनि करिब पाँच दशक हुन लागेको छ । यस अवधिले मात्रै समकालीनता वा समसामयिकतालाई सम्बोधन गर्न सक्दैन । यसर्थ यसभन्दापूर्वको नेपाली कवितालाई पूर्ववर्ती र यस समयभन्दा यताको कवितालाई उत्तरवर्ती कविता मानेर अध्ययन गर्नु उपयुक्त हुन्छ । यस आधारमा उत्तरवर्ती नेपाली कविताले पनि करिब पाँच दशक छुन लागेकाले यस अवधिका कवितालाई मूलप्रवृत्तिका आधारमा समय र समाजलाई सम्बोधन गर्ने कविता र बहुलता, विविधता, पहिचान तथा उत्तरआधुनिकतावादी प्रवृत्तिका कविता गरी सूक्ष्म अध्ययन गर्दा बढी न्यायसङ्गत हुने देखिन्छ । परम्परागत भाषामा उत्तरवर्ती कविता भनेर अभिहित यी कवितालाई दूरस्थ समकालीनता (२०३६–२०६२) र निकटस्थ समकालीनता (२०६२–२०८२ः अर्थात् वर्तमानसम्म) गरी अध्ययन गर्नु समीचीन हुन्छ । यो आजको नेपाली कविताको अध्ययनको एउटा मार्गचित्र हो । यो नै उत्तरवर्ती नेपाली कविताको स्वरूप हो र यसलाई निम्न शीर्षकमा चर्चा गरिन्छ ः
३.१ उत्तरवर्ती नेपाली कविता : समय र समाजलाई सम्बोधन
नेपाली कवितामा प्रयोगवादोत्तर समयका कवितालाई उत्तरवर्ती कविताका नामले पनि चिनिन्छ र परम्परागत रूपमा यसलाई समसामयिक धाराका नेपाली कविता भनिएको छ । यो भनेको २०३६ देखियता २०६२ सम्मका नेपाली कविताको समय हो । यस समयमा पूर्ववर्ती स्वच्छन्दतावादी र प्रयोगवादी कवि पनि लेखनमा सव्रिmय देखिएकाले तिनले पूर्ववर्ती प्रवृत्तिलाई निरन्तरता दिएका छन् र कतिपय प्रयोगवादी कविले पछिल्लो समयमा सरलताको मार्ग पनि अवलम्बन गरेको देखिन्छ । यस समयमा पूर्ववर्ती धाराका कविको निरन्तरता भए पनि ती अवान्तर प्रवृत्ति हुन् र मूलप्रवाहका कविताको प्रवृत्ति समकालीन यथार्थको प्रकटीकरण तथा समय र समाजलाई सम्बोधन नै हो ।
यस समयका नेपाली कवितामा बहुलताका स्वर पनि प्रकटीकरण भएका छन् । पूर्ववर्ती प्रवृत्तिको अवान्तर निरन्तरता र प्रवृत्तिका निजी वैशिष्ट्यका साथ युगीन यथार्थका वैविध्यमय पक्ष र शैलीगत निजत्वको खोजीको सङ्कुल वृत्तबाट २०३६ देखि २०६२ सम्मको नेपाली कविता गतिशील देखिन्छ । नेपाली कविताको यो समय पूर्ववर्ती प्रयोगवादी धारा र उत्तरवर्ती चरणको सेतु पनि हो; तसर्थ पनि यस अवधिका कविताले समय र समाजलाई जुन किसिमले सम्बोधन गरेका छन्; त्यो विशिष्ट र महìवपूर्ण देखिन्छ । आधुनिक नेपाली कविताको प्रयोगवादी धाराका जटिलता, असम्प्रेष्यता, दुरुहता र क्लिष्टताका व्यतिरेकमा कवितामा सरलता र सम्प्रेष्यताका साथ उत्तरवर्ती चरणको प्रारम्भ भएको छ । पूर्ववर्ती कविताधारा निश्चित कविविशेष र पत्रिकाविशेषका माध्यमबाट प्रवर्तित भएका छन् भने उत्तरवर्ती चरण निश्चित कविविशेषबाट नभएर धेरै कविको समष्टि कवितालेखनका माध्यमबाट भएको देखिन्छ ।
(क) राजनीतिक, सामाजिक र साहित्यिक पृष्ठभूमि
पञ्चायती व्यवस्थाको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता बन्धित भएपछि शोषण र दमन पनि तीव्र हुन थाल्यो । यसै समयमा सर्वसाधारणबाट पञ्चायती व्यवस्थाको विरोध पनि हुन थाल्यो । २०३६ को विद्यार्थी आन्दोलनले राजनीतिक रूप लिएपछि त्यसको प्रभाव तत्कालीन कवितामा पनि परेको देखिन्छ र त्यसपछि २०६२ को लोकतान्त्रिक÷गणतान्त्रिक कविता आन्दोलनसम्मको साढे दुई दशकभन्दा बढीको अवधि परम्परागत रूपमा समसामयिक धाराको समय हो । २०८० को दशकको वर्तमान सन्दर्भ समसामयिक धारा २०३६ यताको नेपाली कविताका लागि सम्बोधन गरिने रूढ पदावली बनेको छ । राजनीतिक आन्दोलनका सन्दर्भबाट सुरु भएर राजनीतिक आन्दोलनका सन्दर्भसम्म नै पुगेको नेपाली कविताको परम्परागत रूपमा भनिँदै आएको समसामयिक धाराको राजनीतिक तथा सामाजिक पृष्ठाधार नै विशेष देखिन्छ । २०३६ को आन्दोलन, २०३७ को जनमतसङ्ग्रह, २०४६ को आन्दोलन र प्रजातन्त्रको पुनस्र्थापना, २०५२÷५३ देखि २०६२ सम्म चलेको माओवादी सशस्त्र द्वन्द्व र त्यसले नेपाली जीवन र समाजमा पारेको दुष्प्रभाव तथा दारुण स्थिति, २०६२ को लोकतान्त्रिक–गणतान्त्रिक आन्दोलन र लोकतन्त्र प्राप्ति जस्ता महìवपूर्ण राजनीतिक घटना सन्दर्भ यस अवधिका नेपाली कविताका मुख्य राजनीतिक पृष्ठभूमि हुन् ।
उदार प्रजातान्त्रिक विश्वचेतनाबाट पनि यस अवधिको नेपाली कविता प्रभावित देखिन्छ । यस अवधिमा धेरै पटक राजनीतिक परिवर्तन भएको र सर्वाधिक विकृति र विसङ्गति राजनीतिक क्षेत्रमा नै देखिएकाले त्यसको प्रभाव सामाजिक, आर्थिक र अन्य क्षेत्रमा पनि परेको देखिन्छ । २०३६ को आन्दोलनको परिणतिस्वरूप २०३७ को जनमतसङ्ग्रहबाट प्राप्त बालिग मताधिकार, केही खुकुलो राजनीतिक परिवेश, पञ्चायतको विजय र प्रजातन्त्रवादीको पराजय, २०४६ मा प्रजातन्त्र प्राप्तिपछि पनि अपेक्षित उपलब्धि हासिल हुन नसक्नु, नेतामा देखिएको अकर्मण्यता र पदलोलुपता, धेरै पटक सरकार परिवर्तनका कारण जनतामा देखिएको निराशा, सांसद खरिदबिव्रmी, मन्त्रीहरूका निर्लज्जता र अकर्मण्यता, २०५२ देखि भएको माओवादी सशस्त्र द्वन्द्वका कारण उत्पन्न सन्त्रासमय परिस्थिति, माओवादी र सरकारको दोहोरो बन्दुकका मारमा परेर नेपाली जीवन र समाजले भोग्नु परेको कष्टपूर्ण अवस्था, निर्दोष मानिसको मृत्युका कारणबाट उत्पन्न असहज र सन्त्रस्त परिस्थिति, गाउँहरू युवाविहीन हुनु, युवाको विदेश पलायन, जातीय विभेद, सामाजिक शोषण र अनाचार, माओवादीको चन्दा आतङ्क, सर्वसाधारणमा देखिएको निराशा र उदासीनता जस्ता सन्दर्भ यस समयको नेपाली कविताका सामाजिक पृष्ठाधार हुन् ।
विसं २०४६ को परिवर्तनपश्चात् देखिएको खुला सञ्चार नीति, विज्ञान–प्रविधि र आमसञ्चारको तीव्र विकास आदिका कारण विद्युतीय श्रव्यदृश्य माध्यममा देखिएको व्यापकता, टेलिभिजन च्यानल, एफएम रेडियो, विदेशी टेलिभिजन च्यानलहरूको प्रभाव, त्यसबाट नेपाली मौलिक संस्कृतिमाथि भएको आव्रmमण आदि यस अवधिको नेपाली कविताका साञ्चारिक तथा साहित्यिक पृष्ठभूमि हुन् र यस्ता आमसञ्चारका माध्यमले यस समयका नेपाली कवितालाई निकै प्रभाव पारेका छन् ।
यस अवधिमा धेरै काव्यिक आन्दोलन र अभियान पनि प्रारम्भ भएका छन् । सडक कविता व्रmान्ति, भोक कविता आन्दोलन, एलाक (एकलाइन कविता) आन्दोलन, तरलवाद÷तरलतावाद, आविष्कार कविता आन्दोलन, अणुकविता–लेखन, जनआन्दोलन कविता, संरक्षण कविता आन्दोलन, छन्द बचाऊँ अभियान, चौथो आयाम, सिर्जनशील अराजकता, छन्द जागरण अभियान, सडक कविता आन्दोलन, सौहार्द साहित्यको अवधारणा, गणतन्त्रवादी कविता आन्दोलन, विशेष रङ्गवाद, उत्तरवर्ती विन्दु समूह आदि काव्यिक आन्दोलन र अभियान पनि यस अवधिका नेपाली कविताका साहित्यिक पृष्ठभूमि हुन् ।
(ख) प्रवृत्तिगत पहिचान र विशेषता
२०३६ देखि २०६२ सम्मको नेपाली कविताको मूल प्रवृत्ति युगीन यथार्थको प्रकटीकरण हो र यसै मूल प्रवृत्तिभित्र अन्य धेरै प्रवृत्तिगत विशेषताको सङ्कुल प्रवृत्तिगत विशेषताबाट यस समयको मूल प्रवाहका कविता लेखिएका छन् । युगीन राजनीतिक अवस्था, युगीन शासन व्यवस्थाप्रतिको असन्तुष्टि, नेताको अदूरदर्शी नेतृत्वशैली, पञ्चायती व्यवस्थाका विकृति र विसङ्गति, सत्ताको दुरुपयोग र राजनीतीकरण, राजनीतिक मूल्यहीनता, राजतन्त्रको विरोध, परिवर्तनको चाहना, प्रजातन्त्रको स्वागत र समर्थन, सहिदभाव, विसङ्गतिबोध, कुण्ठा र निराशा, हताशा र उदासीनता, अन्योलग्रस्त जीवन, जीवनको मूल्यहीनता, ह्रासोन्मुख मानवीय चरित्र, प्रजातन्त्र प्राप्तिपछि पनि राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा विकृतिको व्यापकता, मान्छे मान्छेका बिच विश्वासको सङ्कट, विश्वबोध र अन्तर्राष्ट्रिय सचेतता, मानवीय संवेदनहीनता, देशमा व्याप्त गरिबी र पछौटेपन, आर्थिक असमानता र दुरवस्था, भ्रष्टाचार, सामाजिक असमानता र शोषण, जातीय र वर्गीय विभेद, सहरिया जीवनका यान्त्रिकता र जटिलता, सशस्त्र द्वन्द्वको सन्त्रास र आतङ्कमय
परिस्थिति, द्वन्द्वाव्रmान्त मानसिकता र पीडाबोध, द्वन्द्वजन्य सङ्कटापन्न परिस्थिति, सशस्त्र द्वन्द्वको विरोध र समर्थन, शान्तिकामी चेतना, मानवतावाद आदि विविध सन्दर्भलाई अभिव्यञ्जित गर्नु यस अवधिका नेपाली कविताको अन्तर्वस्तुगत प्रवृत्ति हो । प्रयोगवादी जटिलता र दुरुह भाषाशैलीभन्दा भिन्न सरल, सहज र सम्प्रेष्य भाषाशैलीको प्रयोग, अभिव्यक्तिमा तरलता, कतिपय कवितामा सरलताभित्र पनि भावगम्भीरता, भावानुकूल विम्ब, प्रतीक तथा मिथकको प्रयोग र मिथकीय पुनःसिर्जना, विभिन्न किसिमका विचलनको प्रयोग, मानवीकरण आदि यस समयको नेपाली कविताका भाषाशैलीगत प्रवृत्ति हुन् ।
३.२ उत्तरवर्ती नेपाली कविता : बहुलता, विविधता, पहिचान र उत्तरआधुनिकतावादी प्रवृत्ति
उत्तरवर्ती नेपाली कविताको पछिल्लो समय विसं २०६३ देखि यताका कविताको मूलस्वरूप भनेको बहुलता, विविधता, पहिचान र उत्तरआधुनिकतावादी प्रवृत्ति हो । यो नै अहिलेका कविताको मूलप्रवाह पनि हो । आधुनिक नेपाली कविताको धारागत वा चरणगत परिवर्तनमा राजनीतिक परिवर्तनको प्रभाव सबैभन्दा बढी परेको देखिन्छ । राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक, सांस्कृतिक आदि परिवर्तनमा त्यसको प्रभाव पर्ने र स्रष्टा तिनै परिवेशमा रहेर सिर्जनरत हुने भएकाले पनि राजनीतिक परिवर्तन साहित्यको प्रवृत्तिगत परिवर्तनका लागि पृष्ठभूमि बनेको देखिन्छ । नेपाली कविताको उत्तरवर्ती चरण पनि कुनै कविविशेष, कृतिविशेष वा पत्रिका विशेषबाट आरम्भ भएको नभई राजनीतिक परिवर्तन र कविहरूको सामूहिक प्रयासबाट भएको हो । २०६२÷६३ को लोकतान्त्रिक–गणतान्त्रिक आन्दोलन, त्यसका लागि राजनीतिक दलहरूका बिचको सहकार्य, १९ दिने जनआन्दोलन, लोकतन्त्र–गणतन्त्रको प्राप्ति जस्ता राजनीतिक घटनावली, संविधान सभाको निर्वाचन, संविधान निर्माणमा अत्यन्त ढिलाइ भएको अवस्था, कुनै पनि दलले पूरा अवधिभरि शासन गर्न नपाएको परिस्थिति आदि राजनीतिक सन्दर्भ उत्तरवर्ती नेपाली कविताका राजनीतिक पृष्ठाधार हुन् र यिनै राजनीतिक परिवर्तनसँगै सामाजिक क्षेत्रमा पनि परिवर्तन भएको छ । यिनै सन्दर्भबाट २०६२÷६३ यताको नेपाली कविताका लागि उत्तरवर्ती चरणका रूपमा यो नाम प्रयोग भएको छ ।
(क) राजनीतिक, सामाजिक र साहित्यिक पृष्ठभूमि
पूर्ववर्ती समय २०३६ देखि यता वर्तमानसम्म कविताका सापेक्षमा यस चरण अर्थात् २०६३ यताका नेपाली कवितामा केही पृथक् विशेषता र अभिलक्षण देखिएकाले पनि यो समय वा यस किसिमको राजनीतिक परिवर्तन उत्तरवर्ती नेपाली कविताका लागि विशेष बन्न पुगेको छ । लोकतन्त्र–गणतन्त्र प्राप्तिपछि पनि नेताहरूमा सुविधाभोगी र भ्रष्टाचारी प्रवृत्ति उस्तै रहनु, जातीय, वर्गीय, क्षेत्रीय र लैङ्गिक भेदभावको अन्त्य हुन नसक्नु जस्ता सामाजिक पृष्ठभूमिले पनि यस चरणका कविताका लागि प्रभाव पारेका छन् । खास गरेर सामाजिक, सांस्कृतिक, साञ्चारिक र साहित्यिक पृष्ठाधार पनि यस चरणका कविताका सम्बल बनेर देखा परेका छन् । सरकारद्वारा विभिन्न जातीय, जनजातीय आयोग तथा प्रतिष्ठानहरूको स्थापना, महिला, दलित र मधेशी आयोगहरूको स्थापना, सामुदायिक रूपमा जातीय–जनजातीय, लैङ्गिक, क्षेत्रीय आदि सङ्घसङ्गठनको स्थापना र ती संस्थाका माध्यमबाट पहिचानको खोजी, पहिचानको संरक्षण र मूलतः संविधानको निर्माणपश्चात् संविधानले प्रत्याभूत गरेका नागरिक पहिचानको खोजी, केन्द्रीकृत शासन प्रणालीको अन्त्यको चाहना जस्ता सन्दर्भले उत्तरवर्ती नेपाली कविताका लागि सामाजिक पृष्ठाधारको काम गरेका छन् ।
जनजातीय–जातीय संस्कृतिको पहिचान र अर्कातिर आमसञ्चार र सामाजिक सञ्जालका कारण साञ्चारिक सन्दर्भको प्रभाव पनि उत्तरवर्ती नेपाली कवितामा सर्वाधिक रूपमा रहेको देखिन्छ । अनलाइन पत्रिकाको अत्यधिक वृद्धि हुनु, फेसबुक, युट्युब र मेसेन्जरका माध्यमबाट कविताको विस्तार हुनु, प्रस्तुति प्रदर्शन कविता (स्लाम पोइट्री) को व्यापकता देखिनु, यिनै सामाजिक सञ्जालमा छन्दोबद्ध कवितावाचनले व्यापकता प्राप्त गर्नु, टेलिभिजन र रेडियोमा पनि कविताले प्रसारणको राम्रो माध्यम पाउनु आदि सन्दर्भ यस अवधिका कविताका साञ्चारिक पृष्ठाधार हुन् । यसै आधारमा यस अवधिका कवितामा साइबर–संस्कृतिको समेत व्यापक प्रभाव पाइन्छ भने सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जस्ता सन्दर्भ पनि देखिएका छन् । मुद्रणगत सुविधाका कारण पत्रिका र कवितासङ्ग्रहको प्रकाशनमा व्यापकता र विभिन्न काव्यिक आन्दोलन तथा अभियान पनि उत्तरवर्ती नेपाली कविताका लागि महìवपूर्ण पृष्ठाधार बनेका छन् । विलयन लेखन, लोकतान्त्रिक स्रष्टाको संयुक्त मञ्च, कवितामा लोकतन्त्र, रहस्यमय काव्यिक खोज आन्दोलन, नवचेतनाग्रह अभियान, बाछिटा लेखन अभियान, उन्मुक्त पुस्ता, कुकुरकविता आन्दोलन, क्वारेन्टिन कविता आदि काव्यिक अभियान र अन्य पहिचानवादी काव्यिक आन्दोलन र अभियान पनि उत्तरवर्ती नेपाली कविताका मुख्य पृष्ठभूमि हुन् । यिनै यावत् पृष्ठभूमिबाट उत्तरवर्ती नेपाली कविताको यो पछिल्लो चरण गतिशील देखिन्छ ।
(ख) प्रवृत्तिगत पहिचान र विशेषता
उत्तरवर्ती नेपाली कविता भनेको सबैभन्दा पछिल्लो समयको वर्तमानसम्म दुई दशकको समयको कविता हो । यो निरन्तर चलिरहेको वा चालु वर्तमानको चरण भएकाले यस अवधिका कविताले निश्चित प्रवृत्तिगत पहिचानका अभिलक्षण देखाए पनि ती प्रवृत्तिले स्थिरता प्राप्त गर्न बाँकी छ । यस चरणका कविताको मूलप्रवाहको प्रवृत्ति भनेको बहुलता, विविधता, पहिचान र उत्तरआधुनिकतावादी प्रवृत्ति हो र यो पनि परिवर्तित स्वरूपको यथार्थको प्रकटीकरण नै हो । यसैसँग सम्बद्ध भएर अन्य विविध प्रवृत्ति पनि आएका छन् । माओवादी सशस्त्र द्वन्द्वजन्य प्रभाव, लोकतान्त्रिक–गणतान्त्रिक चेतना, जातीय विभेद र रङ्गभेद–वर्णभेदप्रतिको विरोध, दलित चेतना, जनजातीय जागरण, जातीय अस्तित्वको खोजी, संस्कृति चेतना, भूमण्डलीकरण र प्रविधि–संस्कृतिको प्रभाव, निस्सासिँदो र विकृत सहरिया परिवेशको चित्रण, पुराना केन्द्रको भञ्जन र नयाँ केन्द्रहरूको स्थापना, नारीवादी चेतना र पहिचानको खोजी, डायस्पोरा चेतना, अभिघात चेतना, युवाको विदेश पलायन, साइबर–चेतना, कृत्रिम बौद्धिकता (एआई) को प्रयोग र यस विषयका कवितालेखन, मिथकीय पुनःसिर्जना, कवितामा विधाभञ्जन र विधामिश्रण, जातीय–जनजातीय, क्षेत्रीय र लैङ्गिक पहिचानको खोजी जस्ता विषय यस चरणका मूल प्रवृत्ति बनेर आएका छन् । देशको अस्मिताप्रतिको चासो पनि यस अवधिका कवितामा सर्वाधिक महìवको विषय बनेको छ ।
जातीय, क्षेत्रीय र लैङ्गिक पहिचानका नाममा नेपालीका बिचको सद्भाव, सहिष्णुता, अखण्डता, शान्ति आदि खलबलिने हो कि भन्ने चिन्ता र विखण्डनको चिन्ता पनि यस अवधिका कवितामा व्यापक देखिन्छ । पछिल्लो समयका कतिपय कवितामा विखण्डनको चिन्ता निकै देखिएको छ । विचार र चिन्तनमा नवीनता, कवितामा अर्थगाम्भीर्यप्रतिको चासो, पर्यावरणीय चेतना, सांस्कृतिक चेतना, अन्तर्विषयकताको व्याप्ति, अन्तर्पाठीयता र पुनर्पाठीयता, उत्तरआधुनिकतावादी बहुलवादी प्रवृत्तिको व्यापक प्रभाव चिन्तनगत स्पष्टता आदि उत्तरवर्ती नेपाली कविताका अन्तर्वस्तुगत मूल प्रवृत्ति हुन् । रङ्गवादी र सिर्जनशील अराजकतावादी अभियानका कवितामा पूर्ववर्ती प्रयोगवादी धाराको व्यापक प्रभाव छ र कतिपय कविका कवितामा बौद्धिकताको उत्कर्ष पनि प्राप्त गर्न सकिन्छ । यी प्रवृत्तिमध्ये पनि अन्तर्विषयकताको व्याप्ति अझ सशक्त प्रवृत्तिका रूपमा देखिएको छ । आजका नेपाली कवितामा समाजशास्त्र, इतिहास, भूगोल, दर्शन, विज्ञानप्रविधि, पर्यावरण आदिदेखि कृत्रिम बौद्धिकता (एआई) सम्मका अन्तर्विषय आएका छन् । २०३० को दशकदेखि लेख्न सुरु गरेर स्थापित भएका कवि पनि यी प्रवृत्तिका साथ यस अवधिमा नै सव्रिmय देखिएका र यसै चरणमा लेखन सुरु गरेर परिचय बनाउँदै गरेका कवि पनि अत्यन्त नवीन चेतना र शैलीका साथ सव्रिmय रहेकाले कतिपय पूर्ववर्ती प्रवृत्तिको निरन्तरता तथा नवीन प्रवृत्तिको संवरण एवं अन्तर्घुलन पनि यस अवधिका कवितामा प्राप्त गर्न सकिन्छ ।
भाषिक सरलताभित्र पनि भावगम्भीरता, विचलनको व्यापक प्रयोग, विधामिश्रण, विधाभञ्जन, लयसौन्दर्यप्रतिको सचेतता, प्रयोगमुखी चेतना, पृथक् शैलीशिल्पको निर्माणतिरको अभिमुखता आदि २०६३ यताको चरणका कवितामा पाइने भाषाशैलीगत विशिष्टता हुन् । समकालीन चेतनालाई यस चरणका धेरै कविले शाश्वतीकरण गर्न भने त्यति सकेको देखिँदैन । यो नै यस चरणका कतिपय कविताको सीमा हो ।
माथिका अन्तर्वस्तुतगत र शिल्पगत यी प्रवृत्तिको सङ्कुल वृत्तबाट उत्तरवर्ती नेपाली कविताको यस चरणको मूलप्रवाहको निर्माण भएको छ । यस समयमा पूर्ववर्ती स्वच्छन्दतावादी, प्रयोगवादी प्रवृत्ति, नैतिक औपदेशिकता, आदर्श आदि प्रवृत्तिका कविता पनि लेखिएका छन् तर यी प्रवृत्ति मूलप्रवृत्ति नभएर अवान्तर प्रवृत्ति हुन् । उत्तरवर्ती समयमा नेपाली कवितामा पृथक्ताका केही अभिलक्षण देखिएका छन् । उत्तरवर्ती समयका कविताको मूलप्रवृत्ति यथार्थको प्रकटीकरण र समकालीन चेतना भए पनि कतिपय कविका कवितामा समकालीनतालाई शाश्वतीकरण गर्न सकेको देखिँदैन । कवि र कविताको सङ्ख्यात्मक वृद्धिका अनुपातमा गुणात्मक वृद्धि न्यून नै देखिन्छ र न्यून सङ्ख्यामा रहेका गुणात्मक कविताबाट नै यस चरणको मूलप्रवाहको निर्माण भएको छ । यसर्थ उत्तरवर्ती चरणको पछिल्लो अवधिको नेपाली कविता बहुल विषय, प्रवृत्ति र शैलीहरूको समष्टि रूप हो र यो वैविध्यमय स्वरूप यस अवधिका कविताको सौन्दर्य पनि हो । उत्तरवर्ती चरणको यस अवधिमा लेखिएका कविता र तिनले अवलम्बन गरेका प्रवृत्तिको समुच्चयबाट नेपाली कविताको इतिहासको निर्माण भएको छ ।
६. विषयान्त
आधुनिक नेपाली कविताको ९० वर्षको इतिहासलाई हेर्दा यसमा धेरै प्रवृत्तिगत परिवर्तन आएका छन् । यसरी देखिएका परिवर्तन कविताका अन्तर्वस्तुमा मात्र होइन, रूपपक्ष अर्थात् भाषा र शैलीका विविध ढाँचामा पनि आएको देखिन्छ । नैतिक आदर्श र दार्शनिक भावमूलक, प्रकृति र संस्कृति चेतना भावमूलक, स्वच्छन्दता, स्वतन्त्रता र व्रmान्ति चेतनामूलक, अस्तित्ववादी–विसङ्गतिवादी भावमूलक र बौद्धिकतायुक्त प्रयोगमूलक तथा शैलीमा जटिलतायुक्त हुँदै यथार्थपरक, उत्तरआधुनिकतावादी–बहुलतावादी, विविध किसिमका पहिचानयुक्त भावमूलक तथा बौद्धिक नवप्रयोगका विविध परिवृत्तबाट गुज्रिएर नेपाली कविता गतिशील रहेको देखिन्छ ।
नेपाली कविताको इतिहासमा परम्परागत रूपमा नामाङ्कित विभिन्न धारा, उत्तरवर्ती चरण आदि समयका कविताका आआफ्नै किसिमका राजनीतिक, सामाजिक र साहित्यिक पृष्ठभूमि रहेका छन् । यी पृष्ठभूमि भनेका नेपाली कविताको परिवर्तित समयका सूचक हुन् । चाहे शासकमुखी भएर होस्, चाहे शासितमुखी भएर होस्, हरेक कालखण्डका कविताले समय र समाजलाई समाजलाई सम्बोधन गरेका हुन्छन् । समय आफैँमा अग्रगामी र पश्चगामी हुँदैन । त्यसको निर्धारण तत्तत् समयका राजनीति र अन्य शक्तिले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा गरेका हुन्छन् । शक्तिकेन्द्रमा रहेकाले कवि र कवितालाई आफ्नैवरपर राख्न चाहन्छन् भने शक्तिबाहिरकाले आफ्नै केन्द्र निर्माण गर्न खोजिरहेका हुन्छन् । माथि उल्लिखित कविताको ऐतिहासिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक आदि पृष्ठभूमिले यसै कुरालाई अभिव्यञ्जित गरेका छन् । हरेक कालखण्डका कविताले आआफ्नै समय र समाजलाई सम्बोधन गरेर पृथक् पहिचान बोकेका हुन्छन् र तिनमा समयको व्रmम अनुसार सौन्दर्यात्मक मूल्यबोधमा पनि व्रmमशः निखार आएको हुन्छ ।
उत्तरवर्ती चरण अर्थात् पछिल्लो समयका नेपाली कविताको एउटा पृथक् निजत्व छ र त्यो निजत्व भनेको बहुलवादी चेतना र पहिचानको खोजी हो । बहुलवादी चेतना भनेको सबै किसिमका विचारको सम्मान हो भने पहिचानको खोजी भनेको व्यक्ति वा समुदायका जातीय, क्षेत्रीय, वर्गीय, लैङ्गिक, सीमान्तीय, सांस्कृतिक आदि अस्तित्वको खोजी हो । यिनै र यस्तै प्रवृत्तिबाट आजको नेपाली कविता गतिशील देखिएको छ ।
प्रमुख सन्दर्भसामग्री
अधिकारी, ज्ञानु. (२०७८), समकालीन नेपाली कवितामा पहिचानको स्वर, काठमाडौँ ः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
गिरी, अमर, पौडेल, हेमनाथ र गौतम, लक्ष्मणप्रसाद (२०७४), (सम्पा.), समकालीन नेपाली कविताविमर्श, काठमाडौँ ः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
गौतम, लक्ष्मणप्रसाद (२०६६), समकालीन नेपाली कविताका प्रवृत्ति, काठमाडौँ ः पैरवी प्रकाशन ।
गौतम, लक्ष्मणप्रसाद (२०८०), आधुनिक नेपाली कविताको बृहत् इतिहास, जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास, (सम्पा.) माधवप्रसाद पोखरेल, ललितपुर ः जगदम्बा प्रकाशन ।
गौतम, लक्ष्मणप्रसाद (२०८०), आधुनिक नेपाली कविताको स्वरूप, भाषा, कला तथा संस्कृति प्रतिष्ठान नेपाल र नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँको आयोजनामा २०८२ पौष ५ का दिन चितवनमा सम्पन्न साहित्य गोष्ठीमा प्रस्तुत गोष्ठीपत्र ।
घिमिरे, भवानी (२०३६), ‘सडक कविताव्रmान्ति’, भानु (सडक कविताव्रmान्ति विशेषाङ्क), पृ. ३६–५० ।
शर्मा, सुकुम (२०७६), नेपाली भाषासाहित्यमा आन्दोलन (दोस्रो संस्क.), काठमाडौँ ः एकेडेमिक्स बुक्स ।