• १३ साउन २०८१, आइतबार

समन्वय समिति गठन

blog

अमरगढी समाचारदाता 

डडेल्धुरा, असार ६ गते । डडेल्धुरामा मेडिकल कलेज स्थापनाको गृहकार्य सुरु भएको छ । कलेजका लागि आवश्यक जग्गाको व्यवस्थापनसहित सहमति र समन्वयका लागि सरोकार पक्षको सहभागितामा जिल्लास्तरीय समन्वय, सहकार्य समिति गठन गरिएको छ । अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा सो समिति गठन गरिएको हो । समितिले कलेज स्थापनाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन मद्दत गर्नेछ ।

जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यलयका प्रमुखहरू सदस्य रहने गरी आइतबार समिति गठन गरिएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न पहल थालिने उल्लेख छ ।

अमरगढी नगरपालिकाका प्रमुख जोशीको अध्यक्षतामा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले समिति गठनसँगै डडेल्धुरामा सुदूरपश्चिम विश्वविद्यालयको कार्यालय स्थापना र डिनको नियुक्ति तत्काल गर्न आग्रह गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकरण ओझाका अनुसार जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयको नाममा रहेको जग्गा, भवन उपलब्ध गराउन आग्रह गर्ने समेत निर्णय बैठकले गरेको छ

सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालसँग १५३ रोपनी जमिन रहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चेतराज भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल अहिले एक सय शøयाको छ । करिब दुई सय शøया सञ्चालनका लागि भवन एवं आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा छ ।

मेडिकल कलेज स्थापना गर्नका लागि दुई सय रोपनी जग्गा आवश्यक पर्ने नेपाल सरकारको मापदण्ड रहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अम्मराज जोशीले बताउनुभयो । आगामी सय वर्षलाई मध्यनजर गरेर जग्गा उपलब्ध हुनुपर्ने र त्योअनुसार योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । 

बैठकमा अस्पतालसँग जोडिएको ३५ रोपनी जमिन स्थानीयले अस्पताललाई उपलब्ध गराउने भनेर छलफल भएको विश्वविद्यालयका रजिस्टार यज्ञराज पाठकले जानकारी दिनुभयो । अस्पतालसँग जोडिएको जग्गा र स्थानीयले उपलब्ध गराउने जग्गाबाहेक त्यस क्षेत्रमा १५५ रोपनी जमिन ऐलानी रहेकाले सो जग्गा अधिग्रहणका लागि पहल थाल्नुपर्ने नेकपा (एमाले)का जिल्ला अध्यक्ष प्रकाश साउदले सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले नेपाल सरकारले जेठ १ गते नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कजेल स्थापनाका लागि पहल थालिने उल्लेख गरिएको जानकारी दिनुभयो ।