• ६ चैत २०८२, शुक्रबार

धमाधम रोपाइँ

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), चैत ६ गते । बर्दियामा चैते धान रोपाइँ सुरु भएको छ । चैते धानको पकेट क्षेत्र राजापुर र गेरुवा गाउँपालिकामा धान रोपाइँको चटारो छ । 

बर्दियामा राजापुर, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । विशेष गरी राजापुर र गेरुवा गाउँपालिकामा बर्खे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ । 

बर्दियामा एक दशकअघिदेखि चैते धान खेती हुने गरेको छ । पर्याप्त सिँचाइ सुविधा, मल र गुणस्तरीय बिउ भएमा चैते धान खेती राम्रो हुने गेरुवा गाउँपालिका–४, गिदरपुरका किसान सीताराम चौधरीले बताउनुभयो । 

यस वर्ष करिब ७५० हेक्टरमा चैते धान खेती हुने अनुमान गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले जनाएको छ । गत आर्थिक वर्ष  २०८१/८२ मा सात सय हेक्टरमा चैते धान रोपिएको थियो भने अघिल्लो आव २०८०/८१ मा ६५० हेक्टरमा धान खेती भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख वीरेन्द्र पराजुलीले बताउनुभयो । 

केही वर्षपहिले बर्दियामा धान सुपर जोन कार्यक्रम लागु भएपछि करिब एक हजार दुई सय हेक्टरसम्म चैते धान खेती हुन्थ्यो तर पछिल्लो समयमा चैते धान खेती घटेको छ । चैते धान खेती हुने स्थान राजापुर र गेरुवालाई लक्षित गरेर चिनी मिल स्थापना भएपछि धान खेती घट्दै गएको छ । चिनी मिलले उखु खेतीका लागि किसानलाई प्रोत्साहन गर्दै गएपछि धान खेती घटेको एकाइ प्रमुख पराजुलीले बताउनुभयो । 

नियमित सिँचाइ र मलको अभावका कारण पनि चैते धान खेतीमा कमी आएको राजापुरका व्यावसायिक किसान पहारी थारूले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले बर्खे धानको समर्थन मूल्य तोकेर सहकारीलाई व्यवस्थापन खर्च दिई खरिद गराए जस्तै चैते धानलाई पनि गर्नु पर्छ ।” 

सरकारले धान उत्पादनमा आत्मनिर्भर गराउन र चैते धान प्रवर्धन गर्नका लागि आव २०७३/७४ मा धान जोन कार्यक्रम लागु गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम लागु गरेको थियो । आव २०७५/७६ मा धान सुपर जोन कार्यक्रम लागु गरिएको थियो । 

हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले चैते धानका लागि धानको बिउ खरिद, विषादी खरिदमा ५० प्रतिशत अनुदान दिँदै आएको छ । त्यसै गरी वैकल्पिक सिँचाइका लागि मोटर पम्प, बोरिङ र विभिन्न मेसिनरी सहयोग गर्दै आएको छ । धान खेतीका लागि आवश्यक आधुनिक मेसिन, कस्टम हायरिङ सेन्टर स्थापना गरिएको कार्यालय प्रमुख पराजुलीले बताउनुभयो । चैते धानको बिउ उत्पादनका लागि समेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।