• १२ वैशाख २०८१, बुधबार

सिकलसेलको निःशुल्क उपचारमा कठिनाई

blog

गोविन्द शर्मा

बाँके, असार ६ गते । सरकारले थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगको उपचारका लागि सहयोगको नीति लिएको भएपनि अपर्याप्त रहेको सो समुदायका पीडितहरुको बुझाई छ । नेपाल सरकारले सिकलसेलका विरामीलाई एक लाख रुपियाँसम्मको औषधी निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । 

भेरी अस्पतालमा उपचाररत विरामीहरुले त्यो सेवा पूरा गरिसकेपछि थप उपचारमा कठिनाई भएको बताउनुभएको छ । भेरी अस्पताल नेपालगञ्जका डा. राजन पाण्डेले अस्पतालमा उपचाररतमध्ये करिब २० जना विरामीको एक लाख रुपियाँसम्मको औषधी प्राप्त गरिसकेको जानकारी दिनुभयो ।

“उहाँहरुलाई उपचारका लागि थप औषधीको आवश्यक पर्छ” एक दशकदेखि सिकलसेलियाबारे अध्ययन र उपचारमा संलग्न डा. पाण्डेले भन्नुभयो,– “विभिन्न नीतिका कारण समस्या उत्पन्न भएको छ । सिकलसेलको उपचारमा प्रयोग हुने औषधी अति आवश्यकीय औषधीको सूचीमा समावेश भएको भएपनि विमासूचीमा समावेश नभएका कारण विमाबाट उपचार पाउन नसकेको सम्वद्ध विरामीहरुको गुनासो छ ।”

अस्पतालले विरामीको आर्थिक अवस्था हेरेर अति विपन्न उपचार कोष लगायतबाट थप औषधी चाहिने विरामीलाई सहयोग गर्दैआएको जनाएको छ । भेरी अस्पतालमा पछिल्लो एक दशक अवधीमा सिकलसेलका करिब चार हजार विरामी सम्पर्कमा छन् । तीमध्ये ८८४ जना नियमित उपचारमा रहेको अस्पतालले जनाएको छ । 

नियमित उपचारमा रहेका विरामीले सिकलसेलको उपचार बापत एक लाख रुपियाँ सहयोग पाउने सरकारी नियम भएपनि त्यो अपर्याप्त रहेको उपचाररत पीडितहरुले बताउनुभयो । सिकलसेलजस्तै थालेसेमिया रोग पनि ठूलो स्वास्थ्य समस्याको रुपमा देखिएको डा. पाण्डेले बताउनुभयो ।