• १७ असार २०८१, सोमबार

पाँच पत्रकार पुरस्कृत

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, असार ६ गते । जिल्ला समन्वय समिति म्याग्दीले बिकास पत्रकारिता पुरस्कारबाट जिल्लाका पाँच जना पत्रकारलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा गोरखापत्रकर्मी ठाकुरप्रसाद आचार्य, कान्तिपुर दैनिकका घनश्याम खड्का, राससकर्मी ध्रुवसागर शर्मा, कमल खत्री र नागरिक दैनिकका पत्रकार हरिकृष्ण गौतम पुरस्कृत हुनुभएको हो । 

जिल्ला समन्वय समिति म्याग्दीले सोमबार एक कार्यक्रम आयोजना गरेर पाँच जना पत्रकारलाई जनही दश दश हजार रुपियाँ नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मानित गरेको हो ।

जिल्ला समन्वय समितिले जिल्लाको समग्र विकासका गतिविधिलाई प्रचार प्रसार गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पछिल्लो पाँच वर्षको एक एक जनाका दरले पाँच जनालाई पुरस्कृत गरिएको जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्र के.सी.ले बताउनुभयो । प्रत्येक वर्ष हुनु पर्ने कार्यक्रम प्राविधिक कारणले रोकिएकोमा यस वर्ष आवश्यक प्रक्रिया पु¥याएर पुरस्कृतत गरिएको के.सी.को भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुनले जिल्लामा पत्रकारको संख्या राम्रो हुँदैगर्दा पनि महिलाको उपस्थिति कमजोर भएको बताउनुभयो । पत्रकारको भिडमा एक दुई जना मात्रै महिला पत्रकार देखिनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । 

जिल्ला न्यायाधीश तेजनारायण पौडेल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, जिल्ला समन्वय समिति म्याग्दीका निवर्तमान प्रमुख देवेन्द्र के.सी., नेकपा माओवादी केन्द्रका प्रतिनिधि अम्बिका ढुङ्गाना, पुरस्कृत पत्रकार घनश्याम खड्काले मन्तव्य राख्नुभएको थियो ।