• ६ जेठ २०८१, आइतबार

अनोमाघाटलाई बुद्धधाम बनाउने तयारी

blog

सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाट । तस्बिर : यशोदा पौडेल

यशोदा पौडेल

रामग्राम, असार ६ गते । नवलपरासीपश्चिम (बर्दघाट–सुस्ता)को सिद्धार्थ गौतमले सन्यास धारण गरेको (महाभिनिष्क्रमण स्थल) सुस्ता गाउँपालिका वडा नं. ५ स्थित अनोमाघाटलाई बुद्धधाम बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गराउने कार्य अन्तिम चरणमा पुगेको छ ।  

सुस्ता गाउँपालिकाले नेपालको बोधगयाको रूपमा अनोमाघाट (धाम) विकास गर्ने गरी लक्ष्य लिएकोले अनोमाघाटको विकास र प्रचारप्रसार गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गराउने कार्य अन्तिम चरणमा पुगेको हो । डीपीआरका लागि चालू आर्थिक वर्ष २०७८/७९ मा विनियोजित १० लाख रुपियाँबाट हाल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गराउने कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जानकारी दिनुभयो । 

सिद्धार्थ गौतमले बोधि प्राप्तिका लागि सन्न्यास धारण गरी पहिला पाइला टेकेको स्थल अनोमा नदीको अनोमाघाट (ठाढीघाट) भएको ऐतिहासिक आधार फेला परेपछि नेपालको बोधगयाका रूपमा विकास गर्न जिल्लाको सुस्ता गाउँपालिकाले डीपीआर तयारी काम अघि बढाएको थियो ।

सिद्धार्थ गौतमले बोधीको खोजी गर्दै बुद्धत्व प्राप्त गरेको यदि बोधगाय अन्तिम स्थान हो भने बोधी खोजीको पहिलो प्रस्थान बिन्दु अनोमाघाट हो । किनभने अनोमाघाटसम्म आउँदा सिद्धार्थ युवराज थिए तर यही अनोमाघाटमा उनले आफ्नो राजसी पोसाक त्याग गरे, कपाल मुण्डन गरे र सन्न्यास धारण गरी बोधीको खोजीमा लागे ।  

कपिलवस्तु राज्यका युवराजसमेत रहेका सिद्धार्थ गौतमको महाभिनिष्क्रमण स्थल भएको स्थान ठाढीघाट नै भएको पुष्टि भएपछि गाउँपालिकाले सो स्थानलाई महाभिनिष्क्रमण स्थलका रूपमा विकास गरी राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन डीपीआरको काम अघि बढाएको हो  । 

डीपीआर तयार भएपश्चात् गाउँँपालिकालगायत प्रदेश सरकार, सङ्घीय सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायसँग समन्वय गरी काम अगाडि बढाइने योजना रहेको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत बुद्धराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार स्थानीयवासी, सरोकारवाला निकायसँग समन्वय गर्दै यस क्षेत्रको चौतर्फी विकासका लागि कार्य अगाडि बढाइनेछ । गाउँपालिकाको बजेटले मात्र नभ्याउने भएको हुँदा त्यसका लागि सङ्घीय सरकार र लुम्बिनी प्रदेश सरकारसँग पनि पहल गरिनेछ ।

“यो स्थान गाउँपालिकाको मात्रै नभई राष्ट्रिय सम्पदा हुनेछ । यसले गर्दा अनोमाघाट भगवान् बुद्धको महाभिनिष्क्रमण स्थलको रूपमा विकास हुने विश्वास लिएका छौँ,” अधिकृत पौडेलले भन्नुभयो, “यसलाई बोधगयाका रूपमा विकास गरेर विश्व सम्पदामा सूचीकृत गराउनुपर्छ । दातृ निकायले पनि चासो देखाएका छन् ।”

बोधगयालगायत विभिन्न स्थानको अवलोकन भ्रमण गरी भविष्यमा लुम्बिनी प्रदेशकै एक महत्त्वपूर्ण बौद्ध तीर्थस्थलको रूपमा विकास गर्नसक्ने गरी काम गरिनेछ । अहिले अनोमाघाटमा प्रदेश सरकारले पनि केही पूर्वाधार निर्माणमा सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।   

बौद्ध दर्शनअनुसार यो अनोमाघाट भगवान् बुद्धको एक महत्त्वपूर्ण घटनास्थल भएकाले यस क्षेत्रलाई बुद्धधामका रूपमा विकास गर्ने कार्य गाउँपालिकाले अगाडि सारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।