• ६ जेठ २०८१, आइतबार

बाघको आक्रमण बढ्दो क्रममा

blog

मानिसलाई आक्रमण गरेर मार्ने बाघलाई चितवनको मेघौलीबाट असार २ गते नियन्त्रणमा लिने क्रममा । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, असार ६ गते । चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुनः बासस्थानमै छाड्ने गरेको छ ।  

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले मानिसलाई आक्रमण गरेर खान थालेपछि आक्रमण गर्ने क्रम बढ्ने भएकाले आक्रमणकारी बाघलाई नियन्त्रणमा लिने गरेको जानकारी दिनुभयो । मानिसलाई आक्रमण गर्न थालेपछि बाघले फेरि आक्रमणको योजना बनाउँछ । त्यसैले ती बाघलाई नियन्त्रणमा लिएर राख्नेछौँ, उहाँले भन्नुभयो,  “२०७७ सालयता हामीले चारवटा बाघलाई नियन्त्रणमा लिएका छौँ र अहिलेसम्म छाडेका छैनौँ ।” 

२०७७ सालमा चितवनको देवनगर र बाँकेबाट चालू आर्थिक वर्षमा, गत जेठमा पूर्वी चितवनको राप्तीबाट र पछिल्लो पटक असार २ गते मेघौलीबाट आक्रमणकारी बाघलाई नियन्त्रणमा लिइएको हो । मान्छेलाई आक्रमण गर्ने बाघलाई निकुञ्जका प्राविधिक टोलीले पहिचान गरेर डार्ट विधिबाट नियन्त्रणमा लिने गरेको छ । त्यसरी नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको निगरानीमा राखिन्छ । उनीहरूको आनीबानीलाई अध्ययन गरेर छाड्न मिल्ने भए मात्र छाड्ने गरिएको छ । 

अहिलेसम्म नियन्त्रणमा लिएका बाघले दोहो-याएर मानिस मारेको अध्ययनले देखाएको छैन, सूचना अधिकारी तिवारीले भन्नुभयो । “२०७७ मा देवनगरबाट नियन्त्रणमा लिएको बाघको अध्ययन गर्दा सामान्य अवस्थामा आउन लागेको देखिन्छ । त्यसलाई अहिले नै छाड्ने तयारी भने गरिएको छैन,” उहाँले भन्नुभयो । यसरी नियन्त्रणमा लिएका बाघलाई यति समयमा छाडिन्छ भन्ने हुँदैन, तिवारीले भन्नुभयो ।  

बाघको स्वास्थ्य जाँच नियमित गरिँदै आएको र तिनीहरूले मानिसप्रति देखाउने व्यवहारको पनि अध्ययन गरिने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म नियन्त्रणमा लिएका चारवटै भाले बाघ रहेका छन् । ती आठदेखि १० वर्षसम्मका छन् । 

असार २ गते बिहान भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतलाई बाघले आक्रमण गरेर मारेको थियो । गत दुई वर्षमा जनावरको आक्रमणबाट ३८ जनाको मृत्यु भएकोमा बाघको आक्रमणबाट मात्रै १८ जनाको मृत्यु भइसकेको छ । बाघपछि गैँडाको आक्रमणबाट आठ र हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । 

तीन महिनामा मात्रै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघ र गैँडाको आक्रमणबाट ११ जनाको मृत्यु भएको तथ्याङ्क छ । यो अवधिमा १० जनाको बाघको आक्रमणबाट र एक जनाको गैँडाको आक्रमणबाट मृत्यु भएको छ । 

एउटा बाघलाई हिँड्डुल गर्न लगभग ४० किलोमिटर क्षेत्रफल आवश्यक पर्छ तर बाघको सङ्ख्या बढे पनि निकुञ्जको क्षेत्रफल बढ्न नसक्दा बाघ मानव बस्ती वरपरसम्म पुग्ने गरेको विज्ञहरूले बताएका छन्  । मान्छेलाई आक्रमण गरेको अवस्थालाई हेर्दा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, निगुरो टिप्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कंदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा मृत्यु भएको देखिन्छ । 

बाघको सङ्ख्या वृद्धि भएका कारण मानिसलाई आक्रमण गर्न थालेको संरक्षणकर्मी बताउँछन् । आउँदो बाघ दिवस जुलाई २९ मा बाघको सङ्ख्या सार्वजनिक गरिँदैछ । सन् २०१८ को गणनाअनुसार निकुञ्जमा बाघको सङ्ख्या ९३ रहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बाघको सङ्ख्या बढेका कारण मध्यवर्ती क्षेत्रमा बाघले बासस्थान बनाएकाले आक्रमणको घटना बढेको बताउनुहुन्छ । मानिसले अपनाउनुपर्ने सावधानी कम अपनाउँदा घटना बढ्दै गएको आचार्यको भनाइ छ ।