सन्तोष दहित
दाङ, कात्तिक १९ गते । नेकपा (एमाले) को ११ औं केन्द्रीय महाधिबेशनमा दाङबाट २२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
एमाले पार्टी केन्द्रले गरेको निर्णयअनुसार संघीय निर्वाचन क्षेत्रअनुसार खुलातर्फ एक हजार दुई सय पार्टी सदस्य बराबर २ खुल्ला २ महिला र १ जना ४० बर्ष मुनिका युवा गरेर ४ जना र थप पहिलो ८ सय सदस्य बराबर १ जना महिला र त्यसपछिको प्रत्येक ८ सयमा खुल्ला १ जना प्रतिनिधि रहने ब्यबस्था रहेको छ ।
त्यस्तै दलिततर्फ जिल्लालाई नै एक क्षेत्र मान्नेगरि प्रत्येक ५ सय सदस्य बराबर १ जना रहने ब्यबस्था गरेको छ। जसअनुसार दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट २ जना खुल्ला, २ जना महिला र १ जना ४० बर्ष मुनिका युवा गरेर ५ जना, निर्वाचन क्षेत्र नम्बर २ बाट ४ जना खुल्ला, २ जना महिला र १ जना ४० बर्ष मुनिका युवा गरेर ५ जना, निर्वाचन क्षेत्र नम्बर ३ बाट ४ जना खुल्ला, २ जना महिला र १ जना ४० बर्ष मुनिका युवा गरेर ५ जना र दलिततर्फ २ खुल्ला र १ महिला गरी दाङ जिल्लाबाट जम्मा २२ जना प्रतिनिधि सहभागी हुने प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकरी दिनुभयो ।
त्यसबाहेक दाङबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, केन्द्रिय विभागका सदस्यहरु र केन्द्रिय सल्लाहकारहरु आयोजकका रुपमा सहभागी रहनुहुने छ । बुधबार बसेको एमाले दाङको वैठकले महाधिवेशनमा सहभागी हुने मापदण्ड र सख्याको टुंगो लगाएको हो । जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एवम् पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा पोलिट्ब्यूरो सदस्य शान्ता चौधरी, केन्द्रिय सदस्यहरु भागवत विश्वासी, जिवन गौतम, सिता सिग्देल न्यौपाने, साजिदा सिद्धिकि लेखा समिति सदस्य सावित्रा विश्वकर्मा, केन्द्रिय सल्लाहकार शारदा स्वर्णकार लगायतका नेताहरुको सहभागीता रहेको थियो।
वैठकले कात्तिक २० गते दाङका सबै पालिका कमिटिहरुको वैठक बस्ने , कार्तिक २२ गते दाङका सबै वडाहरुमा वडा भेला गर्ने, कार्तिक २५ गते दाङका सबै पालिकाहरुका पालिका सभा गर्ने र कार्तिक २७ गते तुलसिपुरमा हुने युवाको लुम्विनि प्रदेश सभालाई आबश्यक समन्वय, सहयोग र सहभागीता जनाउने निर्णय गरेको छ ।
त्यस्तै घोराही र तुलसीपुरमा रहेका पार्टी कार्यालय पुनर्निर्माणका लागि जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला पदाधिकारी, क्षेत्रिय संयोजकहरु र आर्थिक विभाग प्रमुखसहितको समिति गठन गरेको छ । साथै मंसिर ४ गते २ नम्बर , ५ गते १ नम्बर र ६ गते ३ नम्बरमा क्षेत्रीय समन्वय कमिटिको वैठक गर्ने र मंसिर १३ गते दाङका ३ वटै क्षेत्रमा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको भेलागरि सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय पनि वैठकले गरेको छ ।