काठमाडौँ, कात्तिक १९ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्नुभएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उहाँले जेन्जी लक्षित कार्यक्रम तत्काल ल्याउन पनि आग्रह गर्नुभएको हो।
उहाँले भन्नुभयो, “हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न जरुरी छ।”
केन्द्रीय सदस्य शिवाकोटीले जेनजी पुस्ताको असन्तुष्टि पार्टीले गम्भीरतापूर्वक नलिएको भन्दै सचेत गराएका छन्। उनले नयाँ पुस्ताको आवाज सुन्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने र व्यवहारिक कार्यक्रम ल्याउने कांग्रेसको अहिलेको उच्च प्राथमिकताको विषय हुनुपर्ने बताउनुभयो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई देशको राजनीतिक चेतका रूपमा व्याख्या गर्दै उहाँले भन्नुभयो, “हामीले नागरिकको आक्रोश बुझ्ने सट्टा अझै पनि गुटगत स्वार्थमा अल्झिरहेका छौँ। समय बलवान हुन्छ, समयको संकेत नबुझे कांग्रेस थप संकटमा पर्न सक्छ।”
शिवाकोटीले सभापति शेरबहादुर देउवा र आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गर्नुभयो।
उहाँले भन्नुभयो, “५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन्, त्यसलाई नजरअन्दाज गर्नु विधानविपरीत हुन्छ।”
शिवाकोटीले नयाँ पुस्ता लक्षित “कांग्रेस संवाद अभियान” ल्याउन र पार्टीको सांगठनिक ढाँचामा ३० वर्षमुनिका युवाको कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार, “सूचना प्रविधिमा दक्ष र विवेकी यो पुस्ता हाम्रो प्राथमिकतामा नपरे कांग्रेस भविष्यमा थप कमजोर हुनेछ।”