• १३ साउन २०८१, आइतबार

‘प्रदेशका सबै वडामा प्रसूति सेवा पु-याउँछौँ’

blog

इनरुवा, असार ८ गते  । प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश १ का सबै वडामा प्रसूति सेवा पु-याउने तयारी भएको बताउनुभएको छ । सुनसरी जिल्लाका विभिन्न स्थानीय तहका उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गर्दै उहाँले प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि चार करोड रुपियाँ बजेट विनियोजन गरी सबै वडामा प्रसूति सेवा पु-याउने तयारी भएको बताउनुभएको हो । 

उहाँले नागरिकको स्वास्थ्य सेवामा पहुँचका लागि राज्यले ग्यारेन्टी गरेको कुरा संविधानमा नै उल्लेख भएकाले त्यसै अनुरूप प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि प्रदेश १ का १४ वटै जिल्लाका १३७ वटा पालिकाका सबै वडामा स्वास्थ्य सेवा सरल, सहज र प्रभावकारी प्रसूति गृहको सेवा पु-याउने तयारी भएको बताउनुभयो ।

हिमाली र पहाडी क्षेत्रमा स्वास्थ्य चौकी पुग्न घण्टाँै लाग्ने भएकाले स्वास्थ्य सेवा सरल, सहज र प्रभावकारी बनाउन प्रदेश सरकार लागि परेको जानकारी दिनुहुँदै उहाँले स्वास्थ्य संस्थाको स्तरोन्नतिसँगै प्रसूति गृहको सेवालाई प्रभावकारी बनाउने जानकारी दिनुभयो । उहाँले हिमाली र पहाडी क्षेत्रबाट बसाइसराईं गर्ने बढेकाले त्यसलाई रोक्न शिक्षा, स्वास्थ्य, यातायात र खानेपानीको व्यवस्था सोही ठाउँमा व्यवस्था गर्नुपर्ने आवश्यक रहेकाले सबै वडामा प्रसूति सेवा पु-याउने तयारी रहेको बताउनुभयो । 

उहाँले प्रदेश सरकारका मन्त्रालयमध्ये तेस्रो धेरै बजेट स्वास्थ्य मन्त्रालयमा विनियोजन भएको र प्रदेश १ को झापाको मेची अस्पताललाई दुई सय शøयाको प्रदेशिक अस्पताल बनाउने, उदयपुरको गाईघाट अस्पताल र सुनसरीको इनरुवा अस्पतालको स्तरोन्ती गर्ने कामको थालनीभएको बताउनुभयो । 

इटहरीका प्रमुख हेमकर्ण पौडेलले नेपालको ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूका लागि आवश्यक प्रोत्साहनलगायतका सेवा सुविधा थपका लागि उपमहानगरपालिकाले पहल गर्ने बताउनुभयो । महिला स्वास्थ्य स्वयंसेविका सुमित्रा माझीले कठिन अवस्थामा पनि घरघरमा पुगेर सेवा दिएको भन्दै आफूहरूका लागि राज्यले जीवनयापनका लागि ध्यान दिनुपर्ने माग गर्नुभयो । 

कार्यक्रममा ग्रामीण, दुर्गम तथा गाउँ तहमा रहेर न्यून सुविधामा बालबालिकादेखि महिलासम्मको स्वास्थ्यका लागि उत्कृष्ट काम गर्नेमध्ये १२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानित गरिएको थियो । 

प्रत्येक स्थानीय तहबाट एक जनाका दरले १२ जना उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको धरानबाट बृन्दा राई, इटहरीबाट मैमुना खातुन, इनरुवाबाट सृजना मेहता, दुहबीबाट गुणसुन्दरी कार्की, वराहक्षेत्रबाट पूूनम पाल, रामधुनीबाट कल्पना चौधरी, गढीबाट सुमित्रा माझी, बर्जुबाट बिनादेवी चौधरी, देवानगञ्जबाट कविता मेहता, हरिनगरबाट बबितादेवी मण्डल, कोसीबाट शान्तीदेवी मेहता र भोक्राहा नरसिंहबाट चन्दा भगत सम्मानित हुनुभएको छ । जिल्लाको १२ पालिकाका १२४ वटा वडामा कार्यरत एक हजार १८३ जना स्वयंसेविका मध्ये १२ जनालाई सम्मान गरिएको हो ।