• ७ जेठ २०८१, सोमबार

निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेसन

blog

तस्बिर : बाबुराम देवकोटा बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–५, रामटारमा विद्युतीय सवारीसाधन रिचार्ज गर्न राखिएको १२० किलोवाट क्षमताको चार्जर ।

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असार ७ गते । बागमती प्रदेश सरकारले सुरुका वर्ष गौरवको आयोजना बनाएको चार्जिङ स्टेसन निर्माण र विद्युतीय बस सञ्चालनसम्बन्धी योजना ओझेलमा पर्दै गएको छ । प्रदेश सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा नपरेपछि प्राथमिकताविहीन बन्दै गएको हो । प्रदेश सरकारको परिवर्तनसँगै विद्युतीय सवारीसाधन सञ्चालन प्राथमिकतामा नपर्दा चालू आर्थिक वर्षमा विनियोजन भएको बजेटसमेत खर्च हुन सकेको छैन । 

यता बीपी राजमार्गमा दैनिक चार हजारभन्दा बढी डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधान सञ्चालन हुँदै आएकोमा ती सवारीसाधनबाट निस्किने धुवाँले वातावरण प्रदूषण बढ्दै गएपछि विकल्पका रूपमा सञ्चालनमा ल्याइएको विद्युतीय सवारीसाधनको सङ्ख्या बढ्दै गएको छ । यातायात व्यवसायीका अनुसार बीपी राजमार्गमा अहिले दिगो कम्पनीले १० सिट क्षमताका ३० वटा र सुन्दर यातायात कम्पनीले १९ सिट क्षमताका दुईवटा सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका छन् ।

कमलामाई नगरपालिका–६ निवासी टङ्क कार्की आफूले पनि आठ महिनादेखि चाहना यातायात प्रालिअन्तर्गत दिगो कम्पनीका दु्ईवटा विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको बताउनुहुन्छ । डिजेल र पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनभन्दा विद्युतीय सवारीसाधन वातावरणमैत्री रहेको उहाँले बताउनुभयो । अन्य सवारीसाधनको तुलनामा टुटफुट पनि कम हुने र इन्धन पनि नचाहिने हुँदा पछिल्लो समयमा विद्युतीय सवारीसाधनप्रति यातायात व्यवसायीको आकर्षण बढ्दै गएको व्यवसायी कार्कीको भनाइ छ ।

कार्कीका अनुसार, सिन्धुलीमा अहिले विद्युतीय सवारीसाधन ३२ वटा सञ्चालनमा छन् भने योसँगै समस्या पनि आइरहेको छ । दुई-दुई महिनामा क्राउन बिग्रिन्छ । नयाँ क्राउन फेर्नुपर्दा एक लाख पचास हजार रुपियाँ खर्च हुने हुँदा डिजेल र पेट्रोलभन्दा महँगो पर्न गएको छ । विद्युतीय सवारीसाधन मर्मतका लागि सामान नआएको र बिग्रियो भने कम्पनीले नयाँ गाडीको खोलेर हालिदिने गरेकाले खर्च बढेको उहाँको भनाइ छ । विद्युतीय सवारीसाधन हाल कालोपत्रे सडकमा मात्रै सञ्चालन हुँदै आएका छन् ।

विद्युतीय सवारीसाधनका अर्का सञ्चालक व्यवसायी हरिकृष्ण बुढाथोकी अन्य गाडीजस्तो विद्युतीय सवारीसाधन जता पनि सञ्चालन नहुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो गाडी अन्य सवारीसाधनजस्तो कच्ची सडकमा जाँदैन । अर्को समस्या भनेको १६० किलोमिटर लामो बीपी राजमार्गको बीचमा पर्ने सुनकोसी गाउँपालिका–५, रामटारस्थित होटल मयुर र सिन्धुलीमाढीस्थित रेड चिल्ली होटलमा मात्रै चार्जिङ सेन्टर रहेकाले समस्या भएको छ ।”

गाडी किन्दा कम्पनीले नै एउटा सानो चार्जर दिएकाले त्यसैले घरमा नै चार्ज गर्न मिल्ने उहाँले सुनाउनुभयो । बीपी राजमार्गको बीच–बीचमा अरू चार-पाँचवटा चार्जिङ स्टेसन भएमा व्यवसायीलाई सहज हुने बुढाथोकीको सुझाव छ । सुनकोसी गाउँपालिका–५, रामटारमा एक वर्षदेखि चार्जिङ स्टेसन सञ्चालन गर्दै आउनुभएका रामहरि पौडेल बीपी राजमार्गमा अहिले ३२ वटा विद्युतीय सवारीसाधन सञ्चालन हुँदै आएको भए पनि दैनिक बिहान गएका र बेलुका फर्किएका गरी ४१-४२ वटा सवारीसाधनमा रिचार्ज गर्दै आएको जानकारी दिनुहुन्छ ।

विद्युतीय सवारीसाधन चार्जिङ गरेबापत प्रतियुनिट १५ रुपियाँ शुल्क लिने गरेको र यो डिजेल तथा पेट्रोलभन्दा ९९ प्रतिशत कम खर्च हुने उहाँको भनाइ छ । उहाँका अनुसार एउटा सवारीसाधन रिचार्ज गर्न आधा घण्टा समय लाग्दछ । चार्जिङ स्टेसनमा १२० किलोवाट क्षमताको चार्जर जडान गरेको भए पनि अहिले ६० किलोवाट मात्र सञ्चालन गरी तीनवटा नोजलबाट एक पटकमा तीनवटासम्म सवारीसाधन रिचार्ज हुँदै आएको छ ।

दिगो कम्पनीको ५० प्रतिशत अनुदानमा १७ लाख रुपियाँ आफूले लगानी गरी चार्जर जडान गरेको व्यवसायी पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “६० किलोवाटमा पनि ३०/३० किलोवाटको नोजल जडान गरेको छु । एकै पटक ६० किलोवाट क्षमताको नोजल जडान गर्न मिल्ने भए पनि अहिले सञ्चालनमा रहेको विद्युतीय सवारीसाधनमा ४२ किलोवाट क्षमता भएकाले ३० किलोवाटको नोजल प्रयोग गर्नु परेको हो ।”