हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), कात्तिक २० गते । उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–४ मा रहेको छ हजार २१३ मिटर अग्लो छुवामा हिमालमा पहिलो पटक दक्षिण कोरियाली नागरिकले सफल आरोहण गरेका छन् । ल्होमन्थाङको नाम्दा गाउँहुँदै छुवामा हाइक्याम्प गएका तीन कोरियाली पर्वतारोही डोङजिन किम, ह्योन चुल र नाम्योंगले कात्तिक १६ गते बिहान २:३० बजे उक्त हिमालको सफल आरोहण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय ल्होमन्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।
पौडेलले भन्नुभयो, “आरोहीको टोली, सुरक्षित साथ फर्किनुभएको छ, यो आरोहणले उपल्लो मुस्ताङ पर्वतारोहणका लागि पनि गन्तव्य रहेको सन्देश प्रवाह गरेको छ ।” पर्यटन मन्त्रालयबाट ४५ दिनको आरोहण अनुमति पाएको टोलीलाई एक्याप ल्होमन्थाङले एक कार्यक्रम गरी आरोहीसहित सात सदस्य टोलीलाई सम्मानसमेत गरेको छ ।
एक्यापले आयोजना गरेको सम्मान कार्यक्रममा हिमाली क्षेत्रको प्रवर्धनका लागि कोरियाली नागरिकले गरेको पहिलो पटकको आरोहणले निकै ठुलो महत्व राखेको बताउँदै यसलाई एक्यापले प्रचारप्रसार गर्ने प्रमुख पौडेलले बताउनुभयो । यो हिमालको कोरियाली नागरिकको सफल प्रयासले बजारीकरणको बाटो खुलेको एक्याप ल्होमन्थाङले जनाएको छ । सम्मान कार्यक्रममा आरोही डोङजिन किमले कठिन र चट्टान बढी भए पनि छुवामा हिमालको आरोहणले आनन्द महसुस भएको बताउनुभएको थियो ।
नेपालमा विश्वका ठुला हिमालका कारण महत्वपूर्ण मानिएका हिमाल ओझेलमा परेको महसुस गरी उपल्लो मुस्ताङमा आएको डोङजिनको भनाइ थियो । नेपाल सरकारले बाह्य पर्यटकका लागि अर्धनिषेधित उपल्लो मुस्ताङका १५ हिमाल पर्वतारोहणका लागि खुला गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी मुस्ताङका १५ हिमाल आरोहणका लागि खुला गरेको थियो ।