• २० कात्तिक २०८२, बिहिबार

सडक कालोपत्रे नभएपछि स्थानीयको असन्तुष्टि

blog

मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको बिहुँ खण्ड । तस्बिर : रामकृष्ण बोहोरा

नवराज नेपाली 

गलकोट (बागलुङ), कात्तिक २० गते ।  मध्यपहाडी लोकमार्गको बागलुङस्थित बिहुँ खण्ड नौ वर्षसम्म कालोपत्रे नभएपछि स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् । लामो समयसम्म पनि सडक कालोपत्रे नभएपछि यहाँका स्थानीयले आन्दोलनको घोषणा गरेका छन् । बागलुङको काठेखोला गाउँपालिका–५ र ६ का स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई आन्दोलन गर्ने गरी ध्यानाकर्षण गराएका छन् । 

काठेखोला गाउँपालिका–५ का वडाध्यक्ष ज्ञामनाथ कँडेल र ६ का वडाध्यक्ष बृहस्पति कँडेलको नेतृत्वमा जिल्ला प्रशासन आएको स्थानीयले मध्यपहाडी लोकमार्गले तत्कालै काम सुरु नगरे मङ्सिर १ गतेबाट बागलुङको बिहुँ खण्ड पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् ।

आर्थिक वर्ष २०७२/७३ सालमा दुई वर्षमा सक्नुपर्ने काम पाँच पटक म्याद थप्दासमेत निर्माण सम्पन्न हुन नसकेपछि गत वर्ष ठेक्का रद्द गरेर नयाँ ठेक्का लगाइएको थियो । नयाँ ठेकेदारले समेत सन्तोषजनक हिसाबले काम नगरी हालसम्म जम्मा १२ प्रतिशत भौतिक प्रगति गरेपछि स्थानीय सडक बन्दको चेतावनीसहित जिल्ला प्रशासन कार्यालयमा आएर चारबुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । ठेकेदारले बदमासी गर्दा स्थानीयले धुलोमाटो खानुपर्ने, धुलोमाटोका कारण रोग लाग्ने समस्या देखिएकाले आन्दोलनको घोषणा गर्नु परेको वडाध्यक्ष कँडेलले बताउनुभयो । 

स्थानीयले दिएको समयसीमाभित्रै जिल्ला प्रशासन कार्यालयले ठेकेदारसँग मध्यस्थता गरी मध्यपहाडी लोकमार्गको कार्यालयसँग बसेर छलफल गरिने प्रमुख जिल्ला अधिकारीले स्थानीयलाई आश्वासन दिनुभएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको सबै सडक कालोपत्रे सकिँदा बिहुँ खण्डको १२ किमी सडक अझै कालोपत्रे हुन सकेको छैन ।  बिहुँ–घोडाबाँधे खण्डको सडक हालसम्म पनि कालोपत्रे सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्रे सक्ने गरी तामाङ/रिजाल भगवती जेभीसँग सम्झौता गरिएको थियो ।