• २० कात्तिक २०८२, बिहिबार

दुई नयाँ पुल निर्माण

blog

सिँजा समाचारादाता 

सिँजा (जुम्ला), कात्तिक २० गते । जुम्लाको गुठीचौर गाउँपालिका–५, झारज्वाला र कनकासुन्दरीको भैँसेडीमा पक्की पुल निर्माण भएको छ । झारज्वालामा तीन करोड ७६ लाख ३५ हजार र भैँसेडीमा चार करोड ३२ लाख रुपियाँ लागतमा पूर्वाधार विकास कार्यालय जुम्लाले पुल निर्माण गरेको हो । 

पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख प्रभाकरप्रसाद सिंहले गुठीचौर गाउँपालिका केन्द्रनजिकै पुल निर्माण भएको बताउनुभयो । उक्त पुलले जुम्ला र डोल्पा जिल्लालाई जोडेको उहाँको भनाइ छ । दुई जिल्लासँगै गुठीचौरका दुर्गम बस्तीलाई समेत यातायातमा जोड्न टेवा पुगेको विश्वास गरिएको छ । झारज्वालानजिकै निर्माण भएको पुलको लम्बाइ २५ मिटर लामो रहेको छ । पुल निर्माण सम्पन्न भए पनि गुठीचौरमा जग्गाको कुरा नटुङ्गिँदा सञ्चालनमा ढिलाइ भएको थियो । गाउँपालिकाले जग्गाको समस्या समाधान गरेपछि अहिले पुल सञ्चालनमा आएको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताउनुभयो । गुठीचौरको उत्पादनलाई बजार पु¥याउने र यातायातको पहुँच विस्तार गर्न टेवा पुगेको उहाँको भनाइ छ ।

यसै गरी कनकासुन्दरीको भैँसेडीमा निर्माण भएको पक्की पुलको लम्बाइ ३० मिटर लामो छ । उक्त पुल निर्माणपछि दुर्गम साहुबाडा, धोबीघाट, चौकी, मुसेधान्नी, तली लेकपोर, माझगाउँ लेकपोर र कोटघरलगायत गाउँका नागरिकलाई सदरमुकाम आउनजान सहज भएको छ । कनकासुन्दरीको भैँसेडी र गुठीचौर गाउँपालिकाको झारज्वालामा निर्माण भएका पक्की पुल सञ्चालनमा आइसकेका छन् ।

चालु आर्थिक वर्षमा जुम्लामा तीन वटा पक्की पुल निर्माण सुरु भएका छन् । पातारासीको लुम, कनकासुन्दरीको न्याउरीघाट र हिमा गाउँपालिकाको मोफ्ला जोड्ने पुल निर्माणमै क्रममा रहेका छन् । गाउँ गाउँमा सडक पुगे पनि पुल नहुँदा प्रयोगविहीन बनेका सडकमा गाडी गुडाउन र नागरिकको दैनिकीलाई सहज बनाउन पुल निर्माण कार्यलाई जोड दिइएको हो । जसमा हिमा गाउँपालिका–३ को मोफ्लालगायतका दुर्गम गाउँलाई राजमार्गमा जोड्न ९० लाख लगानीमा मोटरेबल बेलिब्रिज निर्माणका लागि ठेक्का आह्वान भई प्रक्रिया बघि बढेको छ । यता कनकासुन्दरी गाउँपालिका–१ को न्याउरीघाटमा २५ मिटर लामो पक्की पुल निर्माण सुरु भएको छ । उक्त पुल निर्माणका लागि पाँच करोड ४५ लाख बजेटको ठेक्का भई निर्माण कम्पन्नीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालय जुम्लाले जनाएको छ । साथै पातारासी गाउँपालिकाको लुममा पनि पक्की पुल निर्माण भइरहेको छ ।