तानसेन समाचारदाता
तानसेन, कात्तिक २० गते । पाल्पामा मतदाता नामावली सङ्कलन उत्साहपूर्ण हुन सकेको छैन । राजनीतिक दल, कार्यकर्ता र मतदाता उत्साहित नहुँदा मतदाता नामावली सङ्कलन प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । निर्वाचन आयोगले गत असोज १० गतेदेखि नै मतदाता नामावली सङ्कलन सुरु गरेको थियो । यो अवधिमा जम्मा ४३३ जना मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । थपिएका नयाँ मतदातामा २६० जना पुरुष र १७३ जना महिला रहेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।
मतदाता नामावली सङ्कलन दसैँतिहार जस्ता पर्वका कारण उत्साहपूर्ण हुन नसकेको शर्माले बताउनुभयो । तिहारपछि भने दैनिक २०/२५ जना नामावली सङ्कलनका लागि आएको उहाँको भनाइ छ । पाल्पामा हालसम्म एक लाख तीन हजार १८५ महिला र ९८ हजार ६५२ महिला गरी दुई लाख एक हजार ८३७ जना मतदाता रहेको कार्यालयले जनाएको छ । जिल्लास्थित राजनीतिक दलका नेताले भने चुनावबारे अन्योल बढेका कारण मतदाता नामावली सङ्कलन उत्साहपूर्ण हुन नसकेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुँवरले निर्वाचन हुने नहुने अन्योलले मतदाता पनि अलमलमा परेको बताउनुभयो ।
केन्द्रमा दलहरूमा बढेको आन्तरिक कलहका कारण दलहरूले समेत मतदाता नामावली सङ्कलन प्रभावकारी नबनेको उहाँको भनाइ छ । निर्वाचन नहुने आशङ्का बढेका कारण जिल्लास्थित दलका नेता तथा कार्यकर्ताले मतदाता नामावली सङ्कलनमा सकारात्मक भूमिका निर्वाह गर्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति सुमन गैरेले बताउनुभयो ।
यसअघि जिल्ला प्रशासन कार्यालय पाल्पा र रामपुर प्रशासन कार्यालयबाट समेत मतदाता नामावली सङ्कलन भएकोमा अहिले जिल्ला निर्वाचन कार्यालयबाट मात्र नामावली सङ्कलनको काम भइरहेको छ । एक स्थानबाट मात्र नामावली सङ्कलन हुँदा मतदातालाई सहजता नभएको उनीहरू बताउँछन् । निर्वाचन गर्ने भनेपछि निर्वाचन आयोग र सम्बन्धित निकायले मतदाता सङ्कलन कार्यलाई प्रभावकारी बनाउन जरुरी रहेको नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्वअध्यक्ष गोविन्द भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि धेरै मतदाता नामावली सङ्कलनमा सहभागी हुन चाहेका छन् तर पायक पर्ने स्थानमा नामावली सङ्कलनको व्यवस्था हुनु पर्छ ।”
मतदान स्थलबारे छलफल
निर्वाचन कार्यालयले जिल्लामा रहेका मतदान स्थल थपघट गर्नेबारे सर्वपक्षीय छलफल गरेको छ । जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका प्रमुख, सुरक्षा निकायलगायतसँग कार्यालयले छलफल गरेको जनाएको छ । पाल्पामा ११८ वटा मतदान स्थलमा २४६ वटा केन्द्र रहेका छन् ।