बुटवल समाचारदाता
बुटवल, कात्तिक २० गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलले एमाले निर्वाचनबाट डराएर नभाग्ने बताउनुभएको छ । उहाँले एमाले सधैँ जनताबाट अनुमोदित शासन व्यवस्थाको वकालत गर्ने पार्टी भएकाले निर्वाचनबाट कहिल्यै नभाग्ने उल्लेख गर्नुभयो ।
प्रेस चौतारी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जनताको माझमा जान आफूहरू तयार रहेको तर यो प्रकारको निर्वाचनको तयारीले चुनावको वातावरण बन्न नसक्ने बताउनुभयो ।
उहाँले देशलाई संवैधानिक प्रक्रियामा ल्याउन प्रतिनिधि सभाको पुनस्र्थापना गर्ने र प्रतिनिधि सभामार्फत बन्ने नयाँ सरकारले निर्वाचन गराउनुपर्ने नेकपा (एमाले) को बटम लाइन हो भन्नुभयो ।
उपाध्यक्ष पौडेलले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने एमालेको माग रहेको बताउँदै प्रतिनिधि सभामार्फत संविधान संशोधन गरेर प्रतिनिधि सभाको सदस्य नभएको व्यक्ति पनि प्रधानमन्त्री र मन्त्री बन्न सक्ने प्रावधान ल्याई सोही सरकारले निर्वाचन गराउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले संसद् पुनस्र्थापना गरी संविधान संशोधनमार्फत मात्रै निर्वाचनमा जानुपर्ने जिकिर गर्नुभयो । उहाँले संविधान बचाउने हो भने संसद् पुनस्र्थापना गर्नुपर्ने तर्क राख्नुभयो । जेनजीको माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद् पुनस्र्थापना हुनुपर्ने उहाँको भनाइ छ ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने बताउनुभयो । उहाँले भदौ २४ गते भएको आगजनी र विध्वंसको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताउनुभयो । पौडेलले सुरक्षा निकायको मनोबल कमजोर भएको बताउँदै देशभर लुटिएका हतियार अझै पनि फिर्ता नभएकाले मुलुकमा शान्ति सुरक्षाको अवस्था कमजोर रहेको टिप्पणी गर्नुभयो ।
काठमाडौँमा हुने एमालेको महाधिवेशनले सर्वसम्मत नेतृत्व छान्ने पौडेलको भनाइ छ । जेनजीको भावनाको नेकपा (एमाले) ले सम्मान गर्ने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले नयाँ निर्वाचनमार्फत गठन हुने सरकारले संविधान संशोधन गरी देशमा जेनजीको माग र भावनाबमोजिमको व्यवस्थामा जान सकिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रम प्रेस चौतारी रुपन्देहीकी अध्यक्ष भगवती पाण्डेको अध्यक्षतामा भएको थियो ।