• १९ असार २०८१, बुधबार

बलात्कारका घटनामा वृद्धि

blog

ओखलढुङ्गा, असार ८ गते । ओखलढुङ्गामा जेठ महिनामा बलात्कार तथा यौनजन्य अपराधका चारवटा घटना भएका छन् । यी चारैवटा घटनाको जाहेरी जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा परेको छ । गत जेठ ३० गते सिद्धिचरण नगरपालिका–३ की एक १२ वर्षीया बालिका आफ्नै विद्यालयका प्रधानाध्यापकबाट बलात्कृत भएको जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा पुग्नुभयो । 

सोही जाहेरीको आधारमा सिद्धिचरण नगरपालिका–३, नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयालसहित चार जनालाई बालिका बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।  बालिकालाई बलात्कार गरेको आरोपमा अन्य सिद्धिचरण नगरपालिका–३ का ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाल, ३२ वर्षीय डम्बर भुजेल र ३१ वर्षीय केवल भुजेललाई पक्राउ गरिएको ओखलढुङ्गा प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो । बालिकालाई डर, धम्की देखाई अभियुक्तले फरक-फरक मितिमा फरक-फरक स्थानमा जबरजस्तीकरणी गरेको जाहेरी परेको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ । 

पक्राउ परेका चार जनाविरुद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षण भइसकेकोले रिपोर्ट पछि अनुसन्धान थप अघि बढ्ने प्रहरीको भनाइ छ । ती बालिका नारायणस्थान माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत हुनुहुन्छ ।

यस्तै जेठ महिनामा मोलुङ गाउँपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–५ का ४४ वर्षीय तारानाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । आरोपित पोखरेलले जेठ १२ गते दिउँसो पीडित बालिकालाई आफ्नै घरको कोठामा बोलाएर जबरजस्तीकरणी गरेको आरोप छ ।

बालिकाको आफन्तले प्रहरीमा दिएको जाहेरीको आधारमा पोखरेललाई पक्राउ गरी अनुसन्धान गरिएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले बताउनुभयो । पक्राउ परेका अभियुक्त पोखरेललाई हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ । 

त्यसैगरी मानेभन्ज्याङ गाउँपालिकाकी १८ वर्षीय बालिका बलात्कार पश्चात् मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मानेभन्ज्याङ गाउँपालिका–५ मा भएको सो घटना पश्चात् काठमाडाँै भाग्दै गरेको अवस्थामा सिन्धुलीको नेपाल थोकबाट गत जेठ ८ गते मानेभन्ज्याङ–९ का २८ वर्षीय टङ्कराज राईलाई प्रहरीले पक्राउ गरेको छ । 

चालू आर्थिक वर्षको जेठ महिनासम्म २८ वटा बलात्कारका घटनाको उजुरी आएको प्रहरी निरीक्षक केशव अधिकारीले बताउनुभयो ।

बालिका र उहाँको परिवारले दिएको जानकारीअनुसार उक्त युवकलाई नेपाल थोकबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । जेठ ७ गते शनिबार बेलुका बालिका परिवारसँगै खाना खाएर सुतेकी थिइन् । आइतबार बिहान बालिका घरमा नभएपछी परिवारले उनको खोजी गर्दा गाउँ नजिकैको खोल्सामा उनलाई अचेत अवस्थामा स्थानीयले फेला पारेका थिए । गम्भीर घाइते र अचेत अवस्थामा बालिकालाई फेला पारेका स्थानीय र बालिकाको परिवारले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बालिकालाई उद्धार गरी ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारका ल्याइएको थियो । ओखलढुङ्गामा उहाँको उपचार सम्भव नभएपछि  हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडाँै पठाएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो । 

त्यस्तै जेठ महिनामा युवतीलाई यौन शोषण र कुटपिट गरेको आरोपमा प्रहरीले ओखलढुङ्गाका एक युवकलाई पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–४, रुम्जाटारका करिब ३९ वर्षीय युवकलाई छिमेकी गाउँकी २५ वर्षीया एक युवतीलाई यौन शोषण र कुटपिट गरेको आरोपमा गत २१ गते राति पक्राउ गरिएको प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिनुभयो । 

युवतीको आँखालगायतका शरिरका अन्य भागमा नीलडाम हुनेगरी युवकले कुटपिट गरेको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा पीडित युवती युवककै घरमा करिब दुई वर्षदेखि घरेलु कामदारका रूपमा कार्यरत रहेको पाइएको प्रहरीको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । यी चारवटै घटनाका आरोपितलाई पक्राउ गरी ओखलढुङ्गा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

यी घटनाबाट ओखलढुङ्गामा बलात्कारका घटना वृद्धि भएको पुष्टि गर्छ । जेठ महिनामा चारवटा बलात्कार तथा बलात्कार जन्य घटना भएका छन् । अधिकांश बालिका बलात्कारको घटना बढी रहेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको छ महिनाको तथ्याङ्कलाई केलाउँदा ओखलढुङ्गामा यौनजन्य तथा घरेलु हिंसाको घटना बढेको देखिन्छ । 

इन्सेकका ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाँका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सातवटा बलात्कार र अन्य पाँचवटा बलात्कारजन्य प्रयासका घटना भएको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको जेठ महिनासम्म २८ वटा बलात्कारका घटनाको उजुरी आएको प्रहरी निरीक्षक केशव अधिकारीले बताउनुभयो । 

ओखलढुङ्गामा मानव अधिकारको अवस्थाबारे भएको एक छलफलमा जिल्लामा बलात्कार र बलात्कार प्रयासका घटनामा वृद्धि भएकोले यसको न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । 

सम्पूर्ण जिम्मेवार सरोकारवाला निकाय, सङ्घ संस्था, व्यक्ति तथा निकायले बलात्कारका घटना न्यूनीकरणका लागि ठोस कदम चाल्नुुपर्ने सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले बताउनुभयो । जिल्लामा पछिल्लो समय बलात्कार र घरेलु हिंसाका घटना अस्वाभाविक रूपले बढेको प्रतिसम्बन्धित निकायले ध्यान दिनुपर्ने प्रमुख खनालको भनाइ छ ।  

Author

शेरबहादुर राई