अस्पताल भवन निर्माण सुस्त
रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पताल निर्माणको काम अहिले बन्द छ । यो अस्पतालको आगामी मङ्सिर ३० गते निर्माण सम्पन्न गर्ने म्यादसहित गत वर्ष भदौ १० गते शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएको १० महिना कटिसक्दा पनि अस्पताल निर्माणको २० प्रतिशत पनि काम सम्पन्न भएको छैन । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (भवन) रामेछापमार्फत नौ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँको लागतमा निर्माण गर्ने गरी गत वर्ष जेठ ३० गते गाल्वा-लालशुभ मेन्द्रो जेभी काठमाडौँसँग निर्माण सम्झौता भएको थियो ।
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन
पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ ।
पन्ध्र दिने ‘सोवा रिग्पा’ तालिम सञ्चालन
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विभिन्न चार जिल्लाका लामाहरुको सहभागितामा सोवा रिग्पा (उपचार स्वास्थ्य विज्ञान) तालिम सञ्चालन गरिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा १५ दिने उक्त तालिम सञ्चालन गरिएको हो ।
घाटगद्दी ग्रेडिङमा नयाँ पद्धति
कैलालीमा काठको घाटगद्दी व्यवस्थापनमा नयाँ पद्धति सुरुवात गरिएको छ । सो पद्धतिले उपभोक्तालाई घाटगद्दीमा राखिएका काठको अवस्थाबारे बुझ्न सजिलो भएको छ ।डिभिजन वन कार्यालय पहलमानपुरले वन व्यवस्थापन पद्धतिबाट उत्पादित गोलिया काठमा सर्वसाधारणसमेतले स्पष्ट बुझ्ने गरी गोलियाको नम्बरिङ, ग्रेडिङ तथा पाइलिङ गर्ने नयाँ पद्धति सुरुवात गरेको हो ।
अवैध उत्खनन गर्ने पक्राउ
मोरङका विभिन्न खोलाबाट खोलाजन्य सामग्री अवैध रूपमा उत्खनन् गरेको आरोपमा नौवटा सवारी र आठ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले केराबारी–८, खदम खोला, वडा नम्बर ७ स्थित मुगु खोला, सुन्दरहरैँचा–५, बूूढीखोला, बेलबारी–२, लोहन्द्रा खोलामा नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको हो ।
आँपपीपल अस्पताल पुग्ने सडक कालोपत्रे
आँपपीपल अस्पताल जाने सडक कालोपत्रे भएको छ । ग्रामीण भेगमा रहेर विशेषज्ञ सेवा प्रदान गरिरहेको उक्त अस्पतालसम्म पक्की सडकको पहुँच पुगेको छ । गण्डकी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालयमार्फत आँपपीपल भन्ज्याङदेखि अस्पतालसम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे भएको छ ।
पहिरोमुनि स्वास्थ्य चौकी : डरैडरमा सेवा दिँदै स्वास्थ्यकर्मी
खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीले पहिरोले पुर्ला कि भन्ने डरैडरमा बिरामीको उपचार गर्नुपर्ने अवस्था छ । असारको १३ गते स्वास्थ्य चौकीमाथिबाट आएको पहिरोले बर्थिङ सेन्टर पुरिदिएको थियो । बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकी कतिखेर पहिरोमा पर्ला भन्ने डरैडरमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन् । बिरामीको उपचार गर्नेबेला बाहिर एक जनालाई पहिरो हेर्न राखेर स्वास्थ्य चौकीभित्र बस्नुपर्ने अवस्था रहेको डोगडी स्वास्थ्य चौकीका प्रमुख दलबहादुर रावतले बताउनुभयो ।
मासिएका कुलो पुनस्र्थापनाको पहल
चक्लाबन्दी एवम् अतिक्रमणको कारण मासिएको वर्षौं पुरानो सार्वजनिक कुलो (स्थानीय भाषामा ‘पैनी’) पहिलेकै अवस्थामा ल्याउन पहल थालिएको छ । चन्द्रपुर नगरपालिकाको ५, ६, ८ र ९ नम्बर वडाका जमिनमा सिँचाइ हुने वर्षौं पुरानो ‘पैनी’ मासिएर पानी सडक तथा घर आँगनमा बग्न थालेपछि स्थानीय जनप्रतिनिधिले पूर्ववत् अवस्थामा ल्याउन पहल थालेका हुन् ।
कर्साघाटमा पुल निर्माण
बुटवल उपमहानगरपालिका–१५ र सैनामैना नगरपालिका–१ जोड्ने गरी १२७ मिटर लामो कर्साघाट (दानव नदी) पुल निर्माण सम्पन्न भएको छ । करिब ११ मिटर चौडाइको सो पुल तीनवटा स्ल्याबमा पाइल फाउन्डेसन प्रविधिमा निर्माण गरिएको हो ।
सप्तकोसी कटानबाट बस्ती जोखिममा
परराष्ट्रमन्त्री डा.नारायण खड्काले सप्तकोसीको कटानलाई नियन्त्रण गरी बाढी प्रभावित क्षेत्रका मानिस र जमिनलाई सुरक्षित राख्न नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । परराष्ट्रमन्त्रीे खड्काले आइतबार उदयपुरको बेलका नगरपालिका वडा नं. ८ स्थित कोसी कटान क्षेत्रको स्थलगत निरीक्षणका क्रममा सो कुरा बताउनुभएको हो ।
बजेट विनियोजन हुन्छ कार्यान्वयन हुँदैन
कर्णाली प्रदेश सरकारले स्थापना गर्ने भनिएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयले चार वर्ष बितिसक्दासमेत कुनै आकार ग्रहण गर्न सकेको छैन । कर्णाली सरकारले पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भनेर आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरेकोे थियो । त्यसयता सरकारले बर्सेनिबजेट विनियोजन गरे पनि विश्वविद्यालयका लागि कुनै प्रयत्न गरिएको छैन ।
महानगरका बालगृह मापदण्डविपरीत
भरतपुर महानगरपालिकामा सञ्चालन भएका केही बालगृह मापदण्डअनुसार सञ्चालन नभएको पाइएको छ । भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीसहितको टोलीले आइतबार निरीक्षण एवं अनुगमनका क्रममा मापदण्डअनुसार बालगृह सञ्चालन नभएको पाइएको हो ।
लुम्बिनीको हिस्सा चौध प्रतिशत
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा लुम्बिनी प्रदेशको योगदान १४ दशमलव १ प्रतिशत रहेको छ । सात प्रदेशमध्ये यो तेस्रो ठूलो हिस्सा हो । राष्ट्रिय जीडीपीमा सबैभन्दा धेरै बागमती प्रदेशको हिस्सा ३६ दशमलव ९ प्रतिशत रहेकामा दोस्रोमा प्रदेश १ को १५ दशमलव ७ प्रतिशत रहेको छ ।
सगरमाथा क्षेत्रमा फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन
फ्रान्सेली फिल्म ‘दिग्वी’को छायाङ्कन नेपालमा हुने भएको छ । फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायाङ्कन काठमाडौँ र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो ।
शैक्षिक संरचना निर्माणमा साढे सात अर्ब
२०७२ को भूकम्पबाट क्षति पुगेका काभ्रेका शैक्षिक पूर्वाधार निर्माणमा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुगेका ३८१ वटा विद्यालय, शौचालय र खानेपानी आयोजनाको काम सम्पन्न गर्नका लागि सात अर्ब ६६ करोड २० लाख रुपियाँ खर्च हुने जनाएको छ ।
दुर्गम गाउँ पापुङका किसानलाई भैंसी वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले दुर्गम गाउँ पापुङका किसानलाई उन्नत जातको भैंसी वितरण गरेको छ । गाउँपालिकाले शुद्ध दूध उपभोग साथै किसानको आयआर्जन वृद्धि गर्नमा सहयोग पुर्याउने उद्देश्यले किसानलाई उन्नत जातको भैंसी वितरण गरेको हो ।
सिसिटिभी क्यामेराको निगरानीमा लुम्बिनीको दान गणना सुरु
बुद्ध जन्मस्थल लुम्बिनीका दानपेटिकाको रकम गन्न सुरु गरिएको छ । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दानपेटिका तीन महिनापछि आईतबार खोलिएको छ ।
भुक्तानी लिनेकोे चटारो
आर्थिक वर्षको अन्तिममा सर्लाहीका जनप्रतिनिधि र कर्मचारीलाई खर्चालु कामको चटारो छ । आर्थिक वर्ष २०७८÷७९ सकिन अब दुई साता मात्रै बाँकी रहेकाले जनप्रतिनिधि र कर्मचारीलाई ‘क्लोजिङ’को चटारो परेको हो । पालिकाका कार्यालयहरूमा अहिले विभिन्न योजनाको भुक्तानी लिन उपभोक्ता समिति र ठेकेदारको भीडभाड बढेको छ ।
बाँदर भगाउने बन्दुक वितरण
रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ का किसानलाई बाँदर भगाउने बन्दुक उपलब्ध गराएको छ । बाँदरले किसानले लगाएको बालीमा क्षति पु¥याएपछि किसानको मागअनुसार बाँदर भगाउने बन्दुक प्रदान गरिएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।
घरैमा सामाजिक सुरक्षा भत्ता
सान्नीत्रिवेणी गाउँपालिकाले पालिकाभित्रका सबै बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । पालिकाले आइतबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिले पाउने गरेका छन् । पालिकाले कर्मचारी परिचालन गरेर वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
दुई महिनापछि खुल्यो ताल्चा
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताल्चा दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागमध्ये आधाभन्दा बढी माग सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताल्चा खुलेको हो ।
मनसुनमा मोहनातिर छिर्छन् डल्फिन
कैलालीमा दुर्लभ जलप्राणी डल्फिन देखिन थालेका छन् । पानीको सतह बढेपछि यहाँका सहायक नदीनालामा गङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेको हो ।केही दिनयता जिल्लाको दक्षिण–पूर्वी तटीय क्षेत्रस्थित नदीनालामा डल्फिन देखा परिरहेका स्थानीयवासीले जनाएका छन् ।
अलपत्र सडकमै रोपाई, ठेकेदार वेपत्ता हुँदा नियमक निकाय मुखदर्शक
गण्डकी प्रदेश सरकारले तीन वर्ष अघि सारेको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’ अन्तर्गतका जिल्लाका दुईवटा सडक योजना अलपत्र परेका छन् । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक योजना समयमै कार्यान्वयन हुन नसक्दा अलपत्र परेको छ ।
‘एक घर, एक बाँदर’ पाल्ने योजना
दोलखाको कालिञ्चोक गाउँपालिकाले एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउन लागेको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा समावेश भएको यो कार्यक्रम पारित भइसकेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।