• १९ जेठ २०८१, शनिबार

बाँदर भगाउने बन्दुक वितरण

blog

मन्थली नगरपालिकामा किसानलाई बाँदर भगाउने बन्दुक प्रदान गरिँदै ।

रामेछाप, असार २० गते । रामेछाप जिल्लाको मन्थली नगरपालिका–८ का किसानलाई बाँदर भगाउने बन्दुक उपलब्ध गराएको छ । बाँदरले किसानले लगाएको बालीमा क्षति पु-याएपछि किसानको मागअनुसार बाँदर भगाउने बन्दुक प्रदान गरिएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र रामेछापले ५० प्रतिशत अनुदानमा दिएको ती बन्दुकको बाँकी रकम वडा कार्यालयले बेहोरेर किसानलाई निःशुल्क उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । हाललाई एउटा टोलमा एउटा पुग्ने गरी बाँदर भगाउने बन्दुक दिएको बताउँदै त्यसको प्रभावकारिता हेरेर थप व्यवस्था मिलाउने उहाँले बताउनुभयो । 

निर्वाचनको समयमा पनि बाँदर नियन्त्रणका लागि प्रयास गर्ने प्रतिबद्धता जनाएको भन्दै सोही प्रतिबद्धताअनुसार बन्दुक उपलब्ध गराएको उहाँले बताउनुभयो । राष्ट्रिय अनुसन्धान केन्द्रले उत्पादन गरेका ती बन्दुक मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले किसानलाई हस्तान्तरण गर्नुभयो । बन्दुक हस्तान्तरण गर्दै नगरप्रमुख श्रेष्ठले अहिले बाँदरको समस्या किसानको प्रमुख समस्या भएको बताउनुभयो । ती मेसिनले बाँदर भगाउन प्रभावकारी काम गरेमा नगरपालिकाले थप वडामा पनि त्यसको व्यवस्था मिलाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वडाको चिसापानीको तल्लो क्षेत्रका नागरिकलाई बाँदरले धेरै वर्षअगाडिदेखि दुःख दिँदै आएको छ । बाँदरकै कारण यस क्षेत्रका किसानले खेत तथा बारीमा अन्नपात लगाउन नसकेर धेरै खेत तथा बारी बाँझै राख्ने गरेका छन् । मन्थली नगरपालिकामा किसानलाई बाँदर भगाउने बन्दुक प्रदान गरिँदै ।