• १८ चैत २०८२, बुधबार

कोशी प्रदेशमा युवा लक्षित ‘उदय परियोजना’ सञ्चालन हुँदै

blog

प्रेम अधिकारी

पशुपतिनगर (इलाम), चैत १८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका युवालाई लक्षित गरी ‘उदय परियोजना’ सञ्चालन गर्न लागिएको बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिका–३, बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमूर्तिसहितको पार्क बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नवप्रवर्तन कार्यक्रममार्फत युवा उद्यमीलाई लक्षित गरी उक्त परियोजना सुरु गर्न लागिएको जानकारी दिनुभएको हो ।

मुख्यमन्त्री कार्कीले बिहीबार सुनसरीको इटहरीमा आयोजना हुने विशेष कार्यक्रममार्फत परियोजनाको शुभारम्भ गरिने बताउनुभयो । परियोजना अन्तर्गत प्रदेशका विभिन्न बैँकहरूको छनोट कार्य सम्पन्न भइसकेको र साना तथा मझौला युवा उद्यमीले ३० लाखदेखि तीन करोड रुपियाँसम्म सहुलियत ब्याजदरमा ऋण पाउने उहाँले उल्लेख गर्नुभयो । यसका लागि कोशी प्रदेश सरकारले स्विस सरकारसँगको समन्वयमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा आठ अर्ब रुपियाँ विनियोजन गरेको छ ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “युवालाई उद्योग सञ्चालनमा सहयोग गरी व्यावसायिक बनाउन प्रदेश सरकारले दुई वर्षभित्र आठ करोड रुपियाँ लगानी गर्ने योजना बनाएको छ, यसले बेरोजगारी समस्या समाधानमा समेत टेवा पुग्ने छ ।” उहाँका अनुसार हिमाली र पहाडी जिल्लामा सहुलियतमा १० लाख रुपियाँसम्म ऋण उपलब्ध गराइने छ । उक्त ऋण ३० देखि ४० प्रतिशत धितोमा प्रवाह गरिने छ ।

यसैबिच, कोशी प्रदेश सरकारले गत वर्षदेखि युवा लक्षित ब्याज अनुदान कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । कृषि मन्त्रालयमार्फत पाँच करोड रुपियाँ विनियोजन गरी सुरु गरिएको यस कार्यक्रममा हाल १५० भन्दा बढी परियोजना सञ्चालनमा छन् । कुल लगानीको छ प्रतिशत ब्याज रकम प्रदेश सरकारले बेहोर्दै आएको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले यसबाट पहाडी क्षेत्रमा बढ्दै गएको बसाइसराइ रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बौद्धधाममा निर्मित पार्कले कोशी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्य थपिएको बताउँदै आगामी दिनमा आवश्यक पर्ने थप संरचना निर्माणको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता जनाउनुभयो । कोशी प्रदेश, सङ्घीय सरकार र सूर्योदय नगरपालिकाको करिब आठ करोड रुपियाँ लागतमा ११ वर्ष लगाएर ६५ फिट अग्लो बुद्धको प्रतिमासहितको पार्क निर्माण गरिएको हो । १७ रोपनी क्षेत्रफलमा फैलिएको यो पार्क नेपाल र भारतसहित तेस्रो मुलुकका पर्यटकका लागि प्रमुख आकर्षण बन्ने गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेल लामाले बताउनुभयो ।

पार्क उद्घाटनअघि बौद्ध धर्मगुरु खेन्छेन नाम्डोल छिरिङ रिम्पोछेसहितका धर्मगुरुहरूबाट प्राण प्रतिष्ठा गरिएको थियो । नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरबाट दुई किलोमिटर दूरीमा रहेको यो पार्कले स्थानीय पर्यटन प्रवर्धन र आर्थिक आर्जनमा सहयोग पुग्ने सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले बताउनुभयो ।