• १८ चैत २०८२, बुधबार

बुद्धको प्रतिमासहितको पार्क उद्घाटन

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) चैत १८ गते । इलामको सूर्योदय नगरपालिका ३ बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहित बुद्ध पार्कको आज उद्घाटन गरिएको छ । 

कोशी प्रदेश , संघीय सरकार र सूर्योदय नगरपालिकाको आठ करोड हाराहारी लगानीमा निर्माण गरिएको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क निर्माण थालिएको ११ बर्ष पछि उद्घाटन गरिए संगै संचालनमा आएको हो । 

पार्कको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले गर्नुभयो । स्थानीय दाता सहितले दान गरेको १७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका धार्मीक पर्यटकीय गन्तब्यको सूचीमा बुद्धपार्कलाई सूचीकरण गरिने बताउनु भयो । उहाले कोशी भ्रमण वर्षकै समयमा उद्घाटन गरिएको उक्त पार्क, नेपाल , भारत र तेस्रो देशका पर्यटकका लागि आर्कषक गन्तब्य बन्ने बताउनु भयो । मुख्यमन्त्री कार्कीले भन्नु भयो ‘सूर्योदय नगरपालिकाले सूचीकरणका लागि लेखेर पठाएपछि हामी धार्मीक गन्तब्यका रुपमा यो पार्कलाई सूचीकरण गर्छौ ।’यस अघि कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरेको थियो । 

पार्कको उद्घाटन गर्नु अघि बुर्ध धर्म गुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछे सहितका धर्म गुरुबाट  प्राण प्रतिष्ठान गरिएको थियो । धर्म गुरु खेन्छेनले भगवान बुद्ध शान्तिका प्रतिक भएकाले विश्वमा शान्तिको शन्देश फैलाउन उक्त प्रतिमा र पार्कले महत्वपूर्ण भूमीका खेल्ने बताउनुभयो । 

सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालले उक्त पार्क संचालनमा आएपछि सूर्योदय नगरपालिका भित्र अर्को पर्यटकीय गन्तब्य थपिएको बताउदै स्थानीय पर्यटन प्रवर्धन संगै आर्थिक आयआर्जन समेत बढने बताउनु भयो । उक्त पार्क संगै स्थानीय पर्यटन व्यवसायीले समेत अन्य पर्यटकीय संरचना निर्माण गरेका छन् ।

नेपाल , भारत लगायत तेस्रो देशका पर्यटकका लागि प्रमुख गन्तब्य भएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले जानकारी दिनु भयो । 

नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।  छिमेकी देश भारत, भुटान , चिन र स्वदेशी पर्यटकका लागि उक्त पार्क गन्तब्य बन्ने अपेक्षा रहेको गौतम बुद्ध स्मृति प्रतिष्ठानले जनाएको छ । उक्त पार्कमा बर्षैधरी धर्मगुरुबाट पाठपुजा गरिने जनाइएको छ । 

पार्कमा धर्म गुरुका लागि आवास सहित संरचना निर्माण गर्न भने वाँकी रहेको छ । कार्यक्रमको अवसरमा जग्गा दाता तथा आर्थिक सहयोग गर्ने दातालाई सम्मान गरिएको छ ।