काठमाडौं, चैत १८ गते । गृहमन्त्री सुधन गुरुङले आम सर्वसाधारणका समस्या र गुनासा प्रत्यक्षरूपमा सुन्ने नयाँ अभियानको थालनी गर्नुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमै पुगेका नागरिकका पिरमार्का सुन्दै उहाँले सेवा प्रवाहलाई जनमैत्री बनाउने प्रतिबद्धता जनाउनु भएको हो ।
विशेषगरी मोफसल र दुर्गम गाउँहरूबाट राजधानी आएका सर्वसाधारणले आफ्ना समस्या सिधै गृहमन्त्रीसमक्ष राख्न पाएका थिए । सो अवसरमा मन्त्री गुरुङले नागरिकका समस्यालाई टिपोट गर्दै तत्काल समाधान हुन सक्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।

न्याय पाउन अझै कठिन भएको गुनासो
छलफलका क्रममा अधिकांश सर्वसाधारणले न्याय प्राप्तिको प्रक्रिया अझै झन्झटिलो र पहुँचवालाको नियन्त्रणमा रहेको गुनासो गरेका छन् । उनीहरूले शक्ति र राजनीतिक पहुँच नहुँदा सानातिना मुद्दामा पनि लामो समय अन्याय सहेर बस्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सहभागी नागरिकहरूले गृहमन्त्रीले प्रत्यक्ष भेट दिएर आफ्ना कुरा सुनिदिएकोमा खुसी व्यक्त गरे । भेटका क्रममा एक सर्वसाधारणले आफ्नो अनुभव सुनाउँदै भन्नुभयाे "धेरै गृहमन्त्रीहरू फेरिए, तर हामीजस्ता निमुखा जनताको गुनासो सुन्न समय दिने मन्त्री पाउन सकेका थिएनौँ । सिंहदरबार छिर्नै गाह्रो हुने अवस्थामा गृहमन्त्री आफैँले हाम्रो कुरा सुनिदिनुभएकोमा हामी आभारी छौँ ।"
राज्यको सेवा सबैको पहुँचमा पुग्ने प्रतिबद्धता
नागरिकका कुरा सुनिसकेपछि गृहमन्त्री गुरुङले जनताका गुनासालाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभयो । उहाँले राज्यको उपस्थिति सबै नागरिकका लागि समान हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, "अन्यायमा परेका कसैले पनि पहुँच नभएकै कारण न्यायबाट वञ्चित हुनुपर्ने छैन । राज्यको सेवा र न्यायको पहुँचलाई गाउँ–गाउँसम्म पुर्याउन मन्त्रालयले आवश्यक कदम चाल्नेछ ।"