• २० चैत २०८२, शुक्रबार

रोमानियामा राहदानी घुम्ती शिविर : चाैध सय लाभान्वित

blog

काठमाडौँ, चैत १९ गते । वैदेशिक रोजगारीका सिलसिलामा रोमानियामा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी नवीकरण घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

राहदानी विभाग काठमाडौँको समन्वय तथा जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासको आयोजनामा बुखारेस्टमा पाँच दिनसम्म शिविर सञ्चालन गरिएको हो । रोमानियाको राजधानी बुखारेस्टस्थित चौतारी रेस्टुरेन्टमा मार्च २७ देखि सुरु भएको उक्त शिविर मार्च ३१ सम्म चलेको थियो । शिविरमा राहदानी नवीकरणका साथै अन्य कन्सुलर सेवाहरू समेत प्रदान गरिएको थियो ।

झण्डै १४ सयले बुझाए आवेदन

जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागरप्रसाद फुयालका अनुसार शिविर अवधिभर कूल १ हजार ३ सय ९१ जना सेवाग्राहीले राहदानी नवीकरणका लागि 'प्रि-इनरोलमेन्ट' फारम बुझाएका छन् । यसैगरी, १० जनाले अधिकृत वारेसनामा प्रमाणीकरण लगायतका अन्य कन्सुलर सेवा प्राप्त गरेको दूतावासले जनाएको छ ।

राहदानीको म्याद सकिन लागेका र नवीकरणका लागि जर्मनीसम्म पुग्न झन्झट बेहोरिरहेका नेपालीहरूका लागि यो शिविर निकै प्रभावकारी सावित भएको छ । राजदूतावासका प्रथम सचिव रन्जन यादवको नेतृत्वमा खटिएको टोलीले शिविरको व्यवस्थापन गरेको थियो । टोलीमा तृतीय सचिव दिपेन्द्र प्रसाद साह तथा राहदानी विभाग काठमाडौँका अधिकृतद्वय आनन्द चुवाई सुवेदी र सुवास मगर सहभागी हुनुहुन्थ्यो । टोलीले बिहानदेखि अबेरसम्म सेवाग्राहीको कागजात रुजु र बायोमेट्रिक संकलनको काम गरेको थियो ।

शिविरलाई व्यवस्थित बनाउन दूतावासले रोमानियामा क्रियाशील नेपाली संघसंस्था तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको थियो । जसमा तेन्जिङ् लाक्पा शेर्पा, नरेश गिरी, फुर्साङ् लामा, तिल बहादुर गुरुङ, गोमादेवी थापामगर गौरीमान लिम्बू, सागर क्षेत्री र युवराज लामिछानेले समन्वय गर्नुभएको थियो ।

हाल रोमानियामा नेपाली कामदारको संख्या ५० हजार नाघिसकेको छ । यति ठूलो संख्यामा नेपालीहरू कार्यरत रहे पनि त्यहाँ हालसम्म नेपालको कुनै औपचारिक कूटनीतिक नियोग वा संयन्त्र स्थापना भएको छैन । कूटनीतिक निकायको अभावमा सामान्य सेवाका लागि पनि जर्मनी वा अन्य मुलुक धाउनुपर्ने बाध्यता रहेका नेपालीहरूका लागि यस्ता घुम्ती शिविरले ठूलो राहत पुर्‍याउँदै आएका छन् ।