• २४ असार २०८१, सोमबार

दुई महिनापछि खुल्यो ताल्चा

blog

नेपाल संस्कृत विश्वविद्यालयमा दुई महिनाअघि लगाइएको ताल्चा खोल्दै कर्मचारी र विद्यार्थी । तस्बिर : लीलाधर वली

घोराही, असार २० गते । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा लागेको ताल्चा दुई महिनापछि खुलेको छ । नेपाल विद्यार्थी सङ्घले उठाएका १४ बुँदे मागमध्ये आधाभन्दा बढी माग सम्बोधन भएपछि नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालयमा लागेको ताल्चा खुलेको हो ।  सहमतिअनुसार कार्यालयको मूलगेट र प्रशासन शाखालगायतका ठाउँका ताल्चा खोले पनि उपकुलपति र रजिष्ट्रारको कार्यकक्षको ताल्चा भने यथावत् रहेको नेपाल विद्यार्थी सङ्घले जनाएको छ । 

विद्यार्थीको आउँदै गरेको परीक्षा र कार्यालयको दैनिक प्रशासनिक कार्य सञ्चालनलाई अवरोध नगर्ने उद्देश्यअनुसार दुई महिनादेखि गरिएको तालाबन्दी खोलेको नेपाल विद्यार्थी सङ्घ नेपाल संस्कृत विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक चोलेन्द्र रिजालले जानकारी दिनुभएको छ । 

नेपाल विद्यार्थी सङ्घले राखेका मागमा विश्वविद्यालयले तीन महिनाभित्र दीक्षान्त समारोहको आयोजना गर्नुपर्ने, विद्यापीठमा प्रात एवं सन्ध्याकालीन कक्षाको व्यवस्था गर्नुपर्ने, छात्रावाससँगै पुस्तकालयलाई व्यवस्थित गर्दै ई–लाइबे्ररीका रूपमा व्यवस्थित गर्नुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकको व्यवस्थापन गर्नुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्नेलगायतका माग सम्बोधन भएपछि कार्यालयको मूलगेटमा लगाएको ताल्चा खोलिएको बताएको छ । 

संयोजक रिजालका अनुसार विद्यार्थीको छात्रवृत्ति दुई सय प्रतिशतले वृद्धि गर्नुपर्ने, अवैज्ञानिक तवरले गरिएको उपप्राध्यापकको विज्ञापन खारेज गरी अध्ययन गरी सर्वपक्षीय माग सम्बोधन गरेर पुनर्विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुनर्गठनसहित विश्वविद्यालयमा हुने आर्थिक अनियमितता छानबिनका लागि समिति गठन गर्नुपर्ने र गुरुकुलमा प्रक्रियाबद्ध ढङ्गबाट स्थायी प्राध्यापकको तत्काल व्यवस्था गर्नुपर्ने मागमा सहमति हुन नसक्दा सङ्घर्ष समितिले पदाधिकारीको कार्यकक्षमा भने तालाबन्दी कायम राखिएको बताउनुभयो । 

तालाबन्दीका कारण विश्वविद्यालयले दूरगामी प्रभाव पर्नेखालका कुनै पनि निर्णय गर्न सकेको छैन । १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह सम्पन्न गर्ने योजना अवरुद्ध भएको विश्वविद्यालयले जनाएको छ । त्यसैगरी पाठ्यक्रम लागू गर्ने निर्णय, एकीकृत हस्पिटलको निर्माणको प्रक्रिया अघि बढाउनेलगायत सम्पूर्ण पुँजीगत बजेट खर्च गर्नका लागि पनि समस्या उत्पन्न भएको विश्वविद्यालयले जनाएको छ । 

नेपाल संस्कृत विश्वविद्यालयमा नेपाल विद्यार्थी सङ्घले विभिन्न विद्यापीठमा रहेका विद्यमान समस्यालाई मध्यनजर गरेर उपकुलपतिसमक्ष गत चैत २२ गते माग प्रस्तुत गरेको थियो । उक्त मागपत्रको सम्बोधन नभएपछि नेविसङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत गत वैशाख १९ गतेदेखि उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको थियो ।