नारद कोहार
तौलिहवा(कपिलबस्तु), चैत्र १८ गते । कपिलवस्तुमा बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को सबै तयारी पूरा भएको छ ।
केन्द्राध्यक्ष केन्द्रमा खटी सकेका छन भने प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थापना पुगी सकेको छ ।शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख चोपलाल बेल्बासेले एसइईको सबै तयारी पूरा भएको बताउनुभयो ।
उत्तर पुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेको छ । प्रश्नपत्र भने जिल्लामा रहेको जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा पठाई सकिएको छ ।
जिल्लामा ३५ वटा परीक्षा केन्द्र कायम गरिएको छ । सदरमुकाम तौलिहवामा ६ र सदरमुकाम बाहिर २९ वटा केन्द्र छन् । जिल्ला परीक्षा समन्वय समिति र केन्द्राध्यक्षको अभिमुखीकरण सम्पन्न भइसकेका छ ।
जिल्लामा १७१ विद्यालयका नौ हजार ८८२ जना परीक्षामा सहभागी हुने छन् । जसमध्ये नियमित तर्फ आठ हजार ४३२ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।
यस्तै ग्रेडवृद्धी तर्फ एक हजार ४५० जना परीक्षार्थी छन् । परीक्षा सुरक्षित निष्पक्ष र मर्यादितरूपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी समेत परिचालन गरिने जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रजिअ जर्नादन गौतमले बताउनुभयो ।
सामुदायिक १३४ र संस्थागत ३७ विद्यालयका परीक्षार्थी सहभागी हुने छन् । परीक्षामा ३५ केन्द्राध्यक्ष, ७० सहायक केन्द्राध्यक्ष, पाँच सय निरीक्षक लागतका गरी साढे सात सय जनशक्ति परिचालन हुने छन् ।
बिहीबार अंग्रेजी विषयको परीक्षा हुने छ ।
मोबाइल निषेध
परीक्षामा मोबाइल निषेध गरिएको छ । परीक्षामा मोबाइल सहीत डिजिटल सामाग्री लैजान निषेध गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख चोपलाल बेल्बासेले बताउनुभयो ।
यस्तै चिट, गेस पेपर, गाइडलगायतका सामाग्री समेत लैजान पाइने छैन । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्रको गेट मै महिला र पुरुष निरीक्षकले खानतलासी लिन सक्ने बेल्बासेको भनाइ छ ।