• १८ चैत २०८२, बुधबार

पोखरामा ट्रान्सपार्टी गर्ने ३८ जना पक्राउ

blog

लागु औषध सेवनसहितको ट्रान्सपार्टी न्युज । तस्बिर :एजेन्सी नेपाल

काठमाडौँ, चैत १८ गते । पोखरामा विदेशीसँग मिलेर ट्रान्सपार्टी गर्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रात्रिकालीन समयमा ट्रान्सपार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो ।पोखरा महानगरपालिका–१८, सेदीस्थित फेवातालमाथि जङ्गलनजिक रहेको एकान्त घरमा नेपाली र विदेशी मिलेर ट्रान्सपार्टी गरिरहेको बेलामा प्रहरीले मङ्गलबार राति छापा मारेर नियन्त्रणमा लिएको हो ।

पार्टीमा लागु औषध प्रयोग र बिक्री भइरहेको सूचनापछि वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराइको नेतृत्वमा प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार नियन्त्रणमा लिएका मध्ये आठ जनासँग लागु औषध फेला परेको छ । एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिकसँग लागु औषध फेला परेको प्रहरीले बताएको छ ।

उनीहरू विरुद्ध लागु औषधसम्बन्धी अनुसन्धान भइरहेको र सोही अनुसार मुद्दा चलाइएको कास्की प्रहरी प्रमुख कार्कीले बताउनुभयो । बाँकी रहेकाको हकमा भने विगतको आपराधिक पृष्ठभूमि खोजिरहेको र सोही अनुसार कारबाही प्रक्रिया अगाडी बढाउने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो,“‘पोखरा-१८, सेदीभन्दा माथि एकान्त स्थानमा एउटा घर रहेछ, त्यहाँ ट्रान्सपार्टी लागु औषध, मादकपदार्थसहितको पार्टी गर्दैछन्, नेपाली र विदेशी मिलेर भन्ने सूचना प्राप्त भयो । त्यसपश्चात बैदाम प्रहरी कार्यलयका डिएसपी नवराज भट्टराईको नेतृत्वमा प्रहरी टोली गएर घेरा हाल्यौँ । त्यहाँ पार्टी गर्दै गरेको अवस्थामा मान्छेहरू फेला परे, उनीहरूको खानतलासी गर्ने क्रममा आठ जनासँगबाट विभिन्न प्रकारका लागु औषध बरामद भयो । धेरै जना मापसे सेवन गरेको पनि भेटिएको थियो । हामीले अनुसन्धान गर्नको लागि ३८ जनालाई नियन्त्रणमा लिएर बैदाम प्रहरी कार्यलय र जिल्ला प्रहरी कार्यलयमा राखिएको छ । लागु औषध भेटिएकालाई लागु औषधसम्बन्धी नै अनुसन्धान हुन्छ र मुद्दा दर्ता हुन्छ । बाँकी अन्यको पनि हामी स्क्रिनिङ गर्दैछौँ, विगतको आपराधिक पृष्ठभूमिको बारेमा । जसको केही देखिँदैन, उहाँहरू छुट्नुहुन्छ । जोजो मुद्दा चल्नलाई प्रमाण पुग्छ, उहाँहरूलाई भने मुद्दा चल्छ । लागु औषधसहित भेटिएकोमा एक जना इजरायली, दुई जना भारतीय छन् । आठ जनामा बाँकी पाँच जना नेपाली छन् ।”

प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनास्थलबाट नौ प्रकारका लागु औषध बरामद गरिएको छ । बरामद सामग्रीमा एमडिएमए, चरेस, कोकिन, खैरो हेरोइन, ‘आइस’ (एम्फेटामिनजस्तो पदार्थ), गाँजा, ‘म्याजिक मसरुम’ तथा एलएसडी रहेका छन् ।

उक्त घर बमेन्द्र पुनले स्थानीय कृष्ण पराजुलीबाट भाडामा लिएर ट्रान्सपार्टी आयोजना गरेका थिए ।