नवराज नेपाली
बागलुङ (गलकोट) चैत १८ गते ।चारतारे युवा क्लब सिवाइसी नेपालद्वारा सञ्चालित वातावरणमैत्री नमुना गाउँ विकास कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका वडा नं.९ का भुजाकाटे र फूलपाती क्षेत्रका पशुपालक कृषकहरूलाई बाख्रा वितरण गरिएको छ ।
संस्थाले दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रममार्फत कुल १७ वटा बाख्रा वितरण गरेको जनाएको छ ।
जसअन्तर्गत गत वर्ष १० वटा र चालु वर्षमा सात वटा बाख्रा वितरण गरिएको हो ।स्थानीय स्तरमा रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बताउनुभयो ।
अध्यक्ष पौडेलले यस प्रकारका कार्यक्रमहरूले लक्षित समुदायको जीवनस्तर सुधार गर्नुका साथै दिगो आयस्रोत विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
साथै, आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै अन्य विपन्न समुदायलाई समेत समेट्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।संस्थाले बाख्रा वितरणअघि कृषकहरूलाई बाख्रा पालन सम्बन्धी तालिम पनि उपलब्ध गराएको छ ।
पहिलो वर्षका लागि संस्थाको तर्फबाट पशु बीमा समेत गरिदिने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।गत वर्ष बाख्रा प्राप्त गरेका कृषकहरूले यस कार्यक्रमबाट राम्रो आम्दानी लिन सफल भएको र जीवनस्तरमा सुधार आएको वातावरण मैत्री नमुना गाउँ विकास कार्यक्रम टोल विकास समितिका संयोजक हिरा बिकले बताउनुभयो ।
उहाँले बाख्रा पालनबाट नियमित आम्दानी हुन थालेपछी घरखर्च धान्न सहज भएको अनुभव सुनाउनु भएको थियो ।कार्यक्रममा वातावरण मैत्री नमुना गाउँ विकास कार्यक्रम टोल विकास समितिका सदस्य, जनप्रतिनिधि, संस्थाका कार्यसमिति सदस्य किरण थापा कार्यक्रम अधिकृत सुमन घर्ती क्षेत्री लगायतको उपस्थितिमा उक्त बाख्रा वितरण गरिएको थियो ।