• १८ चैत २०८२, बुधबार

बेनी-जोमसोम सडकमा पहिरो रोकथाम योजना : बर्खामा नियमित यातायात सञ्चालन गर्ने लक्ष्य

blog

बेनी–जोमसोम सडकमा पर्ने सिरुबारी पहिरो रोकथामको काम हुँदै । तस्बिरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत १८ गते। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गतको बेनी–जोमसोम सडक खण्डमा पहिरो रोकथाम तथा नियन्त्रण योजना सुरु गरिएको छ। म्याग्दी खण्डमा पर्ने चमेरे, सिरुवारी र दानाका विभिन्न स्थानमा रहेका साना–ठुला पहिरो रोकथामका लागि काम थालिएको हो।

सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–२ चमेरे, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से झरना तथा मुस्ताङ खण्डमा पर्ने सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन गरिएको छ। पहिरो रोकथामका लागि ‘रक एन्करिङ’, पर्खाल, ‘बायो–इन्जिनियरिङ’, बेन्चिङ र लिडिमेस प्रविधिको प्रयोग गर्न लागिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार आयोजनाले चालू आर्थिक वर्षमा पहिरो रोकथामका लागि २५ करोड रुपैयाँ खर्च गर्दै छ।

म्याग्दी खण्डमा पर्ने पहिरोमध्ये सबैभन्दा उच्च जोखिमयुक्त रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा ‘बेन्चिङ’ विधिबाट पहिरो रोकथाम सुरु गरिएको छ। भिरालो जमिनलाई सिँढी जस्तो तहगत ढाँचामा स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने यो विधि सिरुवारीको पहिरोमा प्रभावकारी हुने विश्वास गरिएको छ।

आयोजना प्रमुख शर्माले भन्नुभयो, “जेठ महिनाभित्र पहिरो रोकथामको कार्य सम्पन्न गरेर बर्खायाममा बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन गर्ने लक्ष्य राखेका छौँ।” सिरुवारीको ३०० मिटर दूरीको पहिरो दीर्घकालीन समाधानका लागि ६० करोड बजेट आवश्यक भए पनि हाल आन्तरिक स्रोतबाट अस्थायी रोकथाम सुरु गरिएको उहाँले बताउनुभयो। सिरुवारीमा सडकभन्दा एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ।

यसैगरी अन्नपूर्ण गाउँपालिका–३ दानाको खामभित्ता क्षेत्रमा पहिरो रोकथामका लागि वाम्ती/कोण्डा टिस्टा जेभीसँग सात करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। त्यस्तै गुइँठेभिरको पहिरोका लागि जिएसपिएल/बुद्धिसरा जेभीसँग नौ करोड तथा लाटोखोला, रुप्से र सेतोखोला खण्डका लागि गजेन्द्र निर्माण सेवासँग सात करोड रुपैयाँमा सम्झौता भई काम अगाडि बढेको छ। तल्लो चमेरे र सिरुवारी पहिरो रोकथामका लागि जिएसआई/हुटेराज जेभीले दुई करोड रुपैयाँमा जिम्मेवारी पाएका छन्।

गत वर्ष आयोजनाले बेसरी पहिरोमा ‘रक एन्करिङ’ र बायो–इन्जिनियरिङ सफल रूपमा कार्यान्वयन गरेको थियो। विज्ञको टोलीले बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर खण्डमा रहेका नौ वटा पहिरोलाई ‘अति जोखिमपूर्ण’ भनी वर्गीकरण गरेको छ। बर्खामा सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा जाने पर्यटक, तीर्थयात्री र स्थानीय बासिन्दाले ठुलो सास्ती भोग्दै आएका छन्।