• १३ साउन २०८१, आइतबार

अवैध उत्खनन गर्ने पक्राउ

blog

रङ्गेली समाचारदाता

विराटनगर, असार २१  गते । मोरङका विभिन्न खोलाबाट खोलाजन्य सामग्री अवैध रूपमा उत्खनन् गरेको आरोपमा नौवटा सवारी र आठ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले केराबारी–८, खदम खोला, वडा नम्बर ७ स्थित मुगु खोला, सुन्दरहरैँचा–५, बूूढीखोला, बेलबारी–२, लोहन्द्रा खोलामा नदीजन्य सामग्री उत्खनन् गरिरहेको अवस्थामा सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको हो । 

इलाका प्रहरी कार्यालयको टोलीले खोलाबाट नियन्त्रणमा लिइएका सवारी र चालकलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले एउटा जेसीबी, चारवटा टिप्पर र चारवटा ट्याक्टरलाई खोलाबाटै नियन्त्रणमा लिएको हो ।

बर्षात्को समयमा समेत खोलाबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गरिरहेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । मोरङमा असारको पहिलो हप्तादेखि खोला तथा नदीजन्य वस्तु उत्खननमा रोक लगाइएको छ । रोक लगाए पनि कानुन विपरीत खोलाजन्य वस्तुको अवैध उत्खनन हुने गरेको छ । 

प्रहरीले बूूढीगङ्गा गाउँपालिका–३ का अशोक कट्वाल र को. १ ख. ५८६२ नम्बरको टिप्पर, केराबारी–१० का राज लिम्बूूलाई को. १ ख. १४९१ नम्बरको जेसीबीसहित पक्राउ गरेको छ । यसैगरी सुनसरी–१२, खनारका जयराम उराउलाई को. १ ख. ७२५१ नम्बरको टिप्पर, इटहरी–११ का अनिल चौधरीलाई ना. ८ ख. ४२६७ नम्बरको टिप्परसहित नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी सुन्दरहरैँचा–१० का दिनेश उराउ र प्र.–१–०२–००१ ख. ९३८७ नम्बरको टिप्पर, सुन्दरहरैँचा–५ का काशीनाथ ऋषिदेव र को. १ त. ६८६४ नम्बरको ट्याक्टर, सुन्दरहरैँचा–११ का उज्वल पौडेल र को. २ त. ५५६४ नम्बरको ट्याक्टर, सुन्दरहरैँचा–१२ का शम्भु मग्रातीलाई अनटेस्ट लेखिएको ट्याक्टर तथा प्र. १–०२–००३ त. १४०१ नम्बरको अर्को ट्याक्टर नियन्त्रणमा लिइएको छ ।