• १८ चैत २०८२, बुधबार

युवालाई स्वरोजगार बनाउँदै एकीकृत सेवा कार्यालय

blog

तालिम उद्घाटन कार्यक्रममा बोल्नुहुँदै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, चैत १८ गते । युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले एकीकृत सेवा कार्यालय बागलुङको आयोजनामा नेपाली खाना बनाउने तालिम सुरु भएको छ । पन्ध्र दिने तालिममा इला कम्फर्ट र पर्व होटलका सेफले सहजीकरण गर्नु हुने छ ।  

कार्यालयले चालु आर्थिक वर्ष विनियोजन गरेको ५ लाख रुपियाँ बजेटबाट विभिन्न सिपमुलक कार्यक्रम सञ्चालन गर्दैछ । युवालाई लक्षित गर्दै सुरु गरिएको नेपाली खाना बनाउने तालिममा २० जना प्रशिक्षार्थीका लागि एक लाख ६२ हजार रुपियाँ विनियोजन भएको कार्यालयका प्रमुख शिव शर्माले जानकारी दिनुभयो । 

खाना बनाउने बाहेक कार्यालयले ब्युटिसियनसहितको तालिम पनि सञ्चालन गर्ने जनाएको छ । उद्यमी बढाउने, स्वरोजगारमूलक तालिम सञ्चालन गर्नेजस्ता क्रियाकलापले युवा पलायन पनि रोक्ने भएकाले नगरपालिका र होटल सङ्घको अनुरोधमा एकीकृत सेवा कार्यालयले खाना बनाउने तालिम सञ्चालन गरेको हो । 

तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले अब पोखरा, काठमाडौँका होटलमा जस्तै यहाँका होटलमा पनि स्तरीय खाना बनाउने जनशक्ती बढाउनुपर्ने बताउनुभयो । ‘‘दक्ष जनशक्ति उत्पादनमा नगरपालिका सहयोग गर्न तयार छ’’ खड्काले भन्नुभयो, ‘‘पर्यटन प्रवर्धन र युवालाई दिगो रोजगारीको अवसर दिन होटल व्यवसायमा दक्ष जनशक्ति उत्पादन आवश्यक छ ।’’  

कार्यक्रममा होटल सङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले होटलहरू भवनले मात्र स्तरीय नभई दक्ष जनशक्ती, उनीहरूले दिने सेवा लगायतले स्तरीय बन्ने भन्दै त्यसका लागि दिगो रूपमा बस्ने, काम गरिदिने जनशक्ति अभाव भएको बताउनुभयो । तालिमबाट आउने दक्ष कामदारले जिल्लाकै होटलमा रोजगारी पाउने र अन्य क्षेत्रमा रोजगारीका लागि जाँदा पनि सिप देखाउन सक्ने अध्यक्ष चोखालको भनाइ छ ।

एकीकृत कार्यालयका प्रमुख शर्माले पछिल्लो समय ग्राहकहरू होटलको नामभन्दा पनि खानाको गुणस्तर हेरेर छनोट गर्ने प्रवृत्ति बढेको बताउनुभयो । शर्माका अनुसार, तालिममा नेपाली खानाका परिकार पकाउने सिपसँगै होटल सरसफाइ, ग्राहकसँग गर्नुपर्ने व्यवहार र सेवासम्बन्धी आधारभूत कुराहरूमा जोड दिइने छ ।