• १८ चैत २०८२, बुधबार

रानीघाट खोलामा चार लेन पुल निर्माण हुँदै

blog

घोराही–तुलसीपुर सडक अन्तर्गत रानीघाट खोलामा सुरु भएको पुल निर्माण । तस्बिरः लीलाधर वली

लीलाधर वली

घोराही, चैत १८ गते । पुल निर्माणका लागि सम्झौता भएको म्याद सकिएको सात महिनापछि रानीघाट खोला (काला खोला)मा पुल निर्माणको काम सुरु भएको छ । दाङको घोराही–तुलसीपुर चार लेन सडकखण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७, रानीघाट खोलामा पुल निर्माणको काम सुरु भएको हो । 

काला खोलामा ९० मिटर लम्बाइ र २० दशमलव पाँच मिटर चौडाइ रहेको पुल निर्माणका लागि २०७९ असार २९ गते शर्मा सगुन जेभी बुटवलसँग १७ करोड ८२ लाख ७९ हजार आठ सय रुपियाँमा ठेक्का सम्झौता भएको थियो । 

सम्झौता अनुसार २०८२ भदौ २८ गते पुल निर्माणको काम सक्नुपर्ने भए पनि काम सुरु नै नभएपछि दुई वर्षका लागि पुल निर्माणको म्याद थपका लागि विभागमा सिफारिस गरिएको पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन चौधरीले जानकारी दिनुभयो ।   

थप गरिएको म्याद अनुसार पुल निर्माणको काम निर्माण कम्पनीले २०८४ भदौ २८ गतेसम्म सक्नुपर्ने छ  । ‘पुल निर्माणका लागि सम्झौता भएको म्यादमा पुल निर्माणको काम हुन सकेन’ पुल सेक्टर कार्यालय बाँकेका इन्जिनियर चौधरीले भन्नुभयो, ‘एउटै सडकमा तीन वटा पुल निर्माणका कारण ढिलाइ भएको हो, निर्माण कम्पनीले स्वीकारेको छ, अब थपिएकै मितिमा पुल निर्माणको काम सक्ने प्रतिबद्धता जनाएपछि म्याद थपका लागि विभागमा सिफारिस गरेका छौं । म्याद थपको अझै टुङ्गो लाग्न सकेको छैन ।’ 

रानीघाट खोलासँगै शर्मा सगुन जेभीले घोराही–तुलसीपुर सडक खण्डमै ग्वार खोला र हापुर खोलामा पुल निर्माणको काम गरिरहेको छ ।