• ८ जेठ २०८१, मङ्गलबार

पन्ध्र दिने ‘सोवा रिग्पा’ तालिम सञ्चालन

blog

सोवा रिग्पा तालिमपछि सामुहिक तस्बिर खिचाउँदै ।

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा विभिन्न चार जिल्लाका लामाहरुको सहभागितामा सोवा रिग्पा (उपचार स्वास्थ्य विज्ञान) तालिम सञ्चालन गरिएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा १५ दिने उक्त तालिम सञ्चालन गरिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामासोवा रिग्पा तालिम आइतबारसम्म सञ्चालन भएको थियो । तालिममा ताप्लेजुङसहित पाँचथर, संखुवासभा र झापासमेत चार जिल्लाका २३ जना लामा सहभागी बनेका थिए । ताप्लेजुङमा सञ्चालित तालिममा डा. तेन्जिङ थार्के गुरुङले प्रशिक्षण दिनुभएको थियो ।

स्थानीय व्यवस्थापक पासाङरिता शेर्पाका अनुसार सोवा रिग्पा तालिम धेरै उपयोगी र प्रभावकारी रहेको बताउनुभयो । करिव २५ सय वर्ष पहिले भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको सोवा रिग्पा (उपचार स्वास्थ्य विज्ञान) प्राचीन उपचार पद्धति भएको बताइएको छ ।  

यता तालिमको समापनमा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा र वडा नम्बर ९ हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङ सहभागी बन्नुभएको थियो । धार्मिक विविधता भएको देश नेपालमा सबैखाले धर्म–संस्कृति तथा संस्कारको संरक्षण साथै प्रवद्र्धन गर्न आवश्यक रहेको नगर प्रमुख मादेनले बताउनुभयो ।