• १६ मङ्सिर २०८२, मङ्गलबार

मेयर कप फुटबल : कटारी र बेनी सेमीफाइनलमा

blog

संघर्ष गर्दै बागलुङ र बेनी नगरपालिकाका खेलाडिहरु । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, मंसिर १६ गते । बागलुङमा जारी मेयर कप फुटबल प्रतियोगितामा उदयपुरको कटारी र म्याग्दीको बेनी नगरपालिका सेमीफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको तेस्रो दिन मंगलबार सम्पन्न क्वाटरफाइल खेल जित्दै कटारी नगरपालिका र बेनी नगरपालिकाले सेमीफाइनलको यात्रा तय गरेका हुन् । 

कटारीले प्रहरी र बेनीले आयोजक बागलुङ नगरपालिकालाई पराजित गरेको हो । मंगलबार सम्पन्न पहिलो खेलमा विभागीय टोली गण्डकी प्रदेश प्रहरी पोखरालाई ट्राइबेकरमा स्तब्ध बनाउँदै कटारीले सेमीफाइनल भीडन्त पक्का गरेको हो । ट्राइबेकरमा प्रहरीलाई कटारी नगरपालिकाले २–४ गोल अन्तरले पराजित गरेको छ । 

कटारीको जितमा गोलरक्षक सागर मगर नायक बन्नुभएको छ । मगरले प्रहरीका खेलाडि सन्दीप तामाङ र अंकित गुरुङको पेनाल्टीलाई उत्कृष्ट बचाउ गर्नुभएको थियो । मगर म्यान अफ दि म्याच घोषित हुँदै दुई हजार रुपियाँ प्राप्त गर्नुभएको छ । 

कटारीको जितमा दिकेश लामा, गणेश भुजेल, पवन पाख्रिन र हेमन्त भुजेलले गोल गर्नुभयो भने प्रहरीका लागि समिट श्रेष्ठ र सरोज तिताङले गोल गर्नुभएको थियो । कटारीले बुधबार बिहान हुने पहिलो खेलमा आयोजक बागलुङ नगरपालिका ‘निलो’सँग फाइनल यात्राका लागि प्रतिष्पर्धा गर्नेछ । बलियो टोली प्रहरीलाई पन्छाएको कटारीले दोस्रो रोजाइका खेलाडि सम्मिलित बागलुङ नगरपालिका ‘निलो’लाई सहजै पन्छाउने अनुमान गरिएको छ ।

यस्तै, मंगलबारै भएको दोस्रो क्वाटरफाइनल खेलमा आयोजक बागलुङ नगरपालिका ‘सेतो’लाई १–२ गोलले पराजित गर्दे बेनी नगरपालिका म्याग्दीले सेमीफाइनल यात्रा पक्का गरेको हो । बेनीको जितमा विनम थजाली दुई गोलको योगदान गर्नुभयो । विनमले खेलको पहिलो हाफको ५ औं र दोस्रो हाफको ७० औं मिनेटमा उत्कृष्ट गोल गर्नुभएको थियो ।

बागलुङ नगरपालिकाका लागि आशबहादुर गुरुङले ७५ औं मिनेटमा सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन । बेनीको जितमा नायक बन्नुभएका विनम थजाली म्याद अफ दि म्याच घोषित हुँदै दुई हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । बेनीले बुधबार हुने दोस्रो सेमीफाइनल खेलमा पैयुँ गाउँपालिको सामना गर्नेछ ।     

प्रतियोगिताको विजेता टोलीले ३ लाख ३३ हजार ३ सय ३३ रुपियाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । उपविजेतालाई २ लाख २ हजार २ सय २२ रुपियाँ पुरस्कार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १०–१० हजारका दरले पुरस्कार प्रदान गरिने खेल संयोजक गौतमले जानकारी दिनुभयो ।

बागलुङ नगर खेलकुद विकास समितिको आयोजनामा रामरेखास्थित बाङ्ेचौर खेल मैदानमा चलिरहेको प्रतियोगिता मंसिर १८ गतेसम्म चल्नेछ । बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको ‘मेयर कप’ फुटवल प्रतियोगिता यस वर्षदेखि पुनः सुरु भएको हो ।