अन्धकारबाट उज्यालोतिर लैजाने सबैभन्दा सशक्त माध्यम नै शिक्षा हो । शिक्षा देश र समाजको भविष्य हो । हरेक बालबालिकाका निम्ति शिक्षा जीवनको तयारी हो । विद्यालय शिक्षा सबैभन्दा महत्वपूर्ण हुन्छ । समाजमा विद्यमान गरिबी, अभाव, विभेद, अन्याय हटाउँदै समतापूर्ण समाज निर्माण गर्ने सबैभन्दा सशक्त माध्यम शिक्षा हो । शिक्षाको महत्वपूर्ण जग विद्यालय शिक्षा हो । नेपालमा विद्यालय शिक्षा धेरै पछि आरम्भ भयो । १०४ बर्से राणा शासनमा विद्यालय शिक्षा सर्वसाधारणका लागि ढोका बन्द थियो । २००७ सालको प्रजातन्त्र स्थापनाको क्रान्तिले विद्यालय खुल्ने क्रम बढ्यो । धेरै जसो सुविधासम्पन्न ठाउँमा मात्र बिस्तारै विद्यालय खुल्दै गए । शिक्षाको पहुँच गाउँ गाउँसम्म पुर्याउन २०४६ सालको परिवर्तन नै आउनु पर्यो । प्रजातन्त्र पुनस्र्थापनापछि भने देशको गाउँ गाउँसम्म विद्यालय विस्तार हुन थाले । शिक्षाको ज्योति गाउँसम्म पुग्न थाल्यो । सडक पूर्वाधार पनि शिक्षाको विस्तारमा सहयोगी भयो । देश सङ्घीयतामा गएपछि यताका एक दशकमा विद्यालय शिक्षा स्थानीय सरकारको जिम्मेवारीमा गएको छ । हरेक पालिकाले विद्यालय शिक्षाको व्यवस्थापन गरिरहेका छन् । कतिपय पालिकाले दक्ष विषय शिक्षक पाउन नसक्दा समस्या भोगिरहेका छन् । दुर्गम र विकट जिल्ला तथा पालिकाले शिक्षकको अभाव झनै चरम बन्न थालेको छ ।
विद्यालय शिक्षाको महत्वपूर्ण आधार भनेकै विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषय हुन् । यी विषयका शिक्षक पाउन देशभरि नै समस्या देखिँदै छ । अझ दुर्गम र विकट जिल्लामा विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक पाउन कठिन हुन थालेको छ । कालीकोटका सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी विषयका विषयगत शिक्षक पाउनै मुस्किल हुन थालेको छ । धेरै विद्यालयमा यस्तो अभाव भए पनि नरहरिनाथ गाउँपालिका–७, काल्कोट उच्छवस्थित रूपादेवी माध्यमिक विद्यालयले गणित विषयको शिक्षकका लागि १८ पटक विज्ञापन गरेको छ । यसरी पटक विज्ञापन गर्दा पनि शिक्षक भने पाउन सकेको छैन । यो विद्यालय कालीकोटको पश्चिममा अछाम जिल्लासँगै जोडिएको दुर्गम स्थानमा रहेको छ । विद्यालयले सङ्घीय अनुदानमा गत वर्ष नै गणित शिक्षकका निम्ति कोटा पाए पनि शिक्षक भने पाउन सकेको छैन । १८ पटक विज्ञापन गर्दा पनि शिक्षक नपाएपछि १९ औँ पटक विज्ञापन गरेको छ । गत वर्षको वैशाखयता हरेक १५ दिनको फरकमा निरन्तर विज्ञापन गरे पनि पदपूर्ति गर्न सकेको छैन । शिक्षक नपाउँदा विद्यालयको अध्यापनमा प्रतिकूल प्रभाव परेको छ । सामुदायिक विद्यालयमा अध्ययन अनुमतिपत्र प्राप्त शिक्षकले मात्र अध्यापन गर्न पाउँछन् । अध्ययन अनुमतिपत्र भएका गणित शिक्षक पाउन कठिन भएपछि विद्यालयलाई यस्तो गम्भीर समस्या आएको हो ।
गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक पाउन देशभरि नै सजिलो छैन । पाए पनि टिकाउन कठिन छ । देशभरकै दुर्गम विद्यालयमा विषयगत शिक्षक पाउनु झनै सजिलो छैन । नेपालमा शिक्षक पेसा अझै मर्यादित हुन सकेको छैन । अवसर पाएसम्म अरू नै पेसा, व्यवसायमा लाग्ने प्रवृत्ति बढ्दो छ । वैदेशिक रोजगारीप्रति तीव्र आकर्षणले पनि देशभित्र गुणस्तरीय जनशक्ति खाँचो हुँदै गएको छ । अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषय उच्च शिक्षामा मेधावीले अध्ययन गर्छन् । यस्ता विद्यार्थी अहिले अस्टे«लिया, अमेरिका, क्यानडा जस्ता विकसित मुलुकमा अध्ययनका क्रममा जाने र उतै रोजगारीमा लाग्न थालेका छन् । विशेष गरी नयाँ पुस्तामा शिक्षण पेसाप्रति आकर्षण कम छ । शिक्षाको गुणस्तर बढाउन अब्बल शिक्षकको व्यवस्थापन पहिलो सर्त हो । कुनै पनि देशको दीर्घकालीन भविष्य र समृद्धिका लागि गुणस्तरीय विद्यालय शिक्षाको विकल्प हुन सक्दैन । स्तरीय विद्यालय शिक्षाको जग बसाउन शिक्षाको मूल्यमान्यता र आदर्शप्रति प्रतिबद्ध शिक्षक उत्पादन गर्नु आवश्यक छ । शिक्षक नै बालबालिकाका मार्गदर्शक हुन् । नेपालको सन्दर्भमा गुणस्तरीय शिक्षाको फराकिलो जग बसाउन सामुदायिक विद्यालय व्यवस्थापनमा दीर्घकालीन सुधार अपरिहार्य छ । शिक्षामा व्यापारीकरण भएको भन्दै आलोचना भइरहेको छ । दुर्गमका गाउँ गाउँबाट जनसङ्ख्या विस्थापनको समस्या छ । यस्तो अवस्थामा गुणस्तरीय शिक्षाका निम्ति पनि विकट र दुर्गम भूभागबाट अझ बढी विस्थापनको जोखिम छ । त्यसैले गुणस्तरीय विद्यालय शिक्षाका लागि नीतिगत व्यवस्थापन वाञ्छनीय देखिन्छ ।