• १७ मङ्सिर २०८२, बुधबार

सत्ताइस अर्बको हस्तकला सामग्री निर्यात

blog

  • आन्तरिक खपत दस अर्बको

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १७ गते । मुलुकबाट वार्षिक २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात हुने गरेको छ । स्थानीय सिप र कलाको प्रयोग गरी विभिन्न डिजाइनमा बनाइएका हस्तकलाका सामान अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको हो । 

व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आव २०८१/८२ मा २७ अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान निर्यात भएको हो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा हस्तकलाका सामानको निर्यात बढेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । 

महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले अन्तर्राष्ट्रिय बजारसँगै पछिल्लो समय आन्तरिक बजारमा समेत हस्तकलाका सामानको खपत बढ्दै गएको जानकारी दिनुुभयो । कोभिडपछि अन्तर्राष्ट्रिय बजारमा हस्तकलाका सामानको निर्यात बढ्दै गएको उहाँले जानकारी दिनुभयो । 

आन्तरिक बजारमा वार्षिक १० अर्ब रुपियाँ बराबरको हस्तकलाका सामान खपत हुने गरेको उहाँले जानकारी दिनुभयो । स्थानीय सिप र परम्परागत कलाको प्रयोग गरी बनाइएका हस्तकलाका सामानको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको निर्यात बढाएर व्यापारघाटा कम गर्न सकिने उहाँले जानकारी दिनुभयो ।  हस्तकला उद्योग व्यवसायमा करिब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको अनुमान छ ।

नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड, विभिन्न वन्यजन्तुका सिङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सिसा, धुप, छाला, धातुजन्य सामग्री, ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकलाका सामान विदेश निर्यात हुन्छ ।

महासङ्घका अनुसार अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारत लगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । नेपालको निर्यात क्षेत्रमा हस्तकला क्षेत्रको छ प्रतिशत योगदान रहेकाले आगामी दिनमा यसलाई बढाउन आवश्यक रहेको व्यवसायीको भनाइ छ । 

महासङ्घका अनुसार फेल्ट, प्राकृतिक रेसा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा धेरै माग छ ।

बुधबारदेखि प्रदर्शनी

यसैबिच बुधबारदेखि ललितपुरको पाटन सङ्ग्रहालय र पाटन दरबार क्षेत्रमा हस्तकला प्रदर्शनी हुने भएको छ । हस्तकलाका वस्तुको प्रचारप्रसार एवं प्रवर्धन गर्ने उद्देश्यले नेपाल हस्तकला महासङ्घको र ललितपुर महानगरपालिकाको सहयोगमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा परम्परागत हस्तकलाका सामान, बौद्ध धर्म अनुसार १० कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक राखिने छ । 

यस्तै ललितपुर महानगरपालिका–१६, सांस्कृतिक समितिबाट शास्त्रीय सङ्गीत, चर्या नृत्य, अष्टमातृका नाच, कात्तिक नाच, लोकनृत्व प्रदर्शनी गरिने छ । नेपाल भाषाका लोकगीतलगायतको प्रस्तुति गरिने महासङ्घले जनाएको छ । मेला संयोजक प्रताव शाक्यले हस्तकलाका पौराणिक कलालाई संरक्षण गर्न प्रदर्शनीले सहयोग पुग्ने जानकारी दिनुभयो । पाँच दिनसम्म सञ्चालन हुने मेलामा ३१ वटा स्टल राखिने छ । प्रदर्शनीमा प्रदर्शनकर्ता तथा आगन्तुकको सुविधाका लागि नेवारी मौलिक खाद्य परिकारका स्टलसमेत राखिने महासङ्घले जनाएको छ ।