जीवछ यादव
लहान, मङ्सिर १६ गते । लहान नगरपालिका वडा नम्बर २ भगवानपुर घर भएको नेकपा एमाले महाधिवेशन प्रतिनिधि चुनिएका जितेन्द्रकुमार यादवको बा ०१००६ ख ५८१८ नम्बरको इभि चार्जिङ हायसमा गएराति अज्ञात व्यक्तिले आगो लगाएका छन् ।
लहान काठमाडौँ चलाउने हायस दुई वर्ष अघि ६० लाखमा खरिद गरेर चलाउने हायस सोमबार राति ११ बजे घर अगाडि राखिएको अवस्थामा आगो लगाइएको गाडी मालिक जितेन्द्र यादवले बताउनुभयो ।
मङ्सिर १३ गते नेकपा एमालेको एघारौं महाधिवेशनका लागि सिराहा १ का लागि भएको प्रतिनिधि चयनको निर्वाचनमा एक हजार १८८ मत प्राप्त गरेर विजय हुनुभएको थियो । लहानको इलाका प्रहरी कार्यालय लहानदेखि लहान १९ कटहा चोकसम्म पक्की सडक निर्माणका लागि सडक खनिएकाले बाटो अवरुद्ध हुँदा गोलबजार नगरपालिकाबाट वारुण यन्त्र आउन झण्डै दुई घण्टा लागेको थियो ।
आगो लागेपछि इलाका प्रहरी कार्यालय लहानबाट एक किलोमिटरको दूरीमा आगजनी हुँदा आधा घण्टा समय लाग्नु र लहान नगरपालिकामा ३० वर्ष अघि खरिद गरिएको वारुण यन्त्र बिग्रिएको अवस्थामा रहेकाले गोलबजारबाट वारुण यन्त्र आउँदा आगो नियन्त्रणमा नआएकाले लहान नगरपालिका र इलाका प्रहरी कार्यालय लहान गम्भीर नभएको भन्दै स्थानीयहरुले आक्रोश पोखेका छन् ।
यता इलाका प्रहरी कार्यालयले आगो लगाउने अपराधी व्यक्तिको खोजीमा प्रहरी लागिसकेको प्रहरी नायब उपरीक्षक कैलाश राईले बताउनुभयो । लहानमा घरकै अगाडि राखिएको व्यक्तिको गाडीमा आगो लगाएको पहिलो घटना भएको उहाँले बताउनुभयो ।
२४ वटा वडा भएको लहान नगरपालिकाको वारुण यन्त्र मर्मत नहुनु र आवश्यकताको आधारमा अर्को वारुण यन्त्र खरिद नगर्दा आगलागीबाट भइरहेको धनजनको क्षति रोक्न चुनौती देखिएको स्थानीयहरुले गुनासो पोखेका छन् । लहानको वारुण यन्त्र सुचारु भएको भए घटनास्थलसम्म आइपुग्न दस मिनेटको बाटो छ ।