काठमाडौँ, मङ्सिर १६ गते । गोरखापत्र दैनिकबाट बहुभाषामा समाचार सामग्री दिन थालेको मातृभाषाको सङ्ख्या ४६ पुगेको छ । वि.सं. २०८२ मङ्सिर १६ गते मङ्गलबारबाट प्रकाशन प्रारम्भ भएको कुलुङ भाषापृष्ठ प्रकाशन सुरु भएसँगै यो सङ्ख्या ४६ पुगेको हो ।
आज आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले कुलुङ भाषामा समाचार प्रकाशन भएको पृष्ठ सार्वजनिक गर्नुभयो ।
सञ्चारमन्त्री जगदीश खरेलले सरकार सबै नेपालीको घरदैलोमा रहेको बताउनुहुँदै गोकर्णेश्वरमा आएर कुलुङ समुदायसँग सहभागी भएर पृष्ठ अनावरण गर्न पाएकोमा गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘भाषा, संस्कृति संस्कारको हामी सबैले संरक्षण प्रवर्धन गर्नुपर्छ । सरकार सुशासन कायम गर्ने अभियानमा छ । फागुन २१ गते निर्वाचन तोकिएको छ, सबैले भाग लिउँ ।’’
यसैगरी, मन्त्रालयका सचिव राधिका अर्यालले गोरखापत्रमा भाषा थपिनु समावेशी नेपाल निर्माणको एउटा अभियान भएको बताउनुभयो । साथै इतिहास दस्तावेजीकरण गर्ने अभियान पनि भएको बताउनुहुँदै सचिव अर्यालले सबै भाषा हाम्रा सम्पत्ति भएको जानकारी दिनुभयो ।

यस्तै, गोरखापत्रका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्रमा अब ४६ भाषा पुगेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय सबै भाषालाई सम्मानका लागि गोरखापत्रमा थप गर्दै गएका छौं, आउने दिनमा यसलाई थप व्यवस्थित गर्दै जाने छौं । सहयोगका लागि सबैमा धन्यवाद ।’’
यसैगरी, मन्त्री खरेलद्वारा अनावरण गरिएको पृष्ठ नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका अध्यक्ष चन्द्रसिंह कुलुङलाई हस्तान्तरण गर्नुभयो । सङ्घका अध्यक्ष कुलुङले गोरखापत्रको भाषा पृष्ठमा स्थान दिनुभएकोमा गोरखापत्र परिवारलाई धन्यवाद दिनुभयो ।

समारोहमा मन्त्रालयका सचिव राधिका अर्याल, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, गोरखापत्र सञ्चालक समिति सदस्य लक्की चौधरी, राइजिङ नेपालका सम्पादक विष्णु गौतम, विभागीय प्रमुखहरुलगायत सहभागी हुनुहुन्छ । कार्यक्रम गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतको सभाध्यक्षतामा सम्पन्न भएको छ ।
गोरखापत्रमा २०६४ असोज १ गतेदेखि विभिन्न मातृभाषाका समाचार सामग्री समेटिएको ‘नयाँ नेपाल बहुभाषिक पृष्ठ’ प्रकाशन प्रारम्भ भएको थियो । २०६२–६३ को जनआन्दोलनपछि जारी नेपालको अन्तरिम संविधान २०६३ ले विभिन्न मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएपछि नेपालको संवैधानिक इतिहासमा पहिलो पटक बहुभाषा नीतिले संवैधानिक मान्यता पाएको थियो । यो संवैधानिक व्यवस्था २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानमा पनि छ ।
मुलुकको समावेशिता र बहुभाषिक नीतिलाई कार्यान्वयन गर्न गोरखापत्र संस्थानको सञ्चालक समितिले २०६४ साउन ४ गते 'नयाँ नेपाल' शीर्षकअन्तर्गत बहुभाषिक पृष्ठ प्रकाशन गर्ने निर्णय गरेको थियो । दोस्रो जनआन्दोलनताका ‘नयाँ नेपाल’ बहुप्रचलनमा थियो ।

यसै अनुसार गोरखापत्रमा छ भाषा– तामाङ, मैथिली, लिम्बू, गुरुङ, राई र नेपाल (नेवार) भाषामा सामग्री प्रकाशन भएका थिए । हाल तीलगायत उर्दू, थारू, भोजपुरी, शेर्पा, जिरेल, थामी, किसान, ताजपुरिया, बाहिङ राई, वान्तबा राई, अवधी, सुनुवार, मगर, धिमाल, बज्जिका, कुमाल, मगही, बराम, संस्कृत, उराँव, माझी, मुगाल, अछामी, डोट्याली, दराई, मेचे, जुम्ली, चेपाङ, मारवाडी, ल्होमी, राजवंशी, दनुवार, बझाङी, ह्याल्मो, याक्खा, डडेलधुरेली, नेपाल भोटे, रानाथारू, वाम्बु र कुलुङ भाषा समावेश भई ४६ भाषाका पृष्ठ प्रकाशन भइरहेका छन् ।
