• २४ असार २०८१, सोमबार

भुक्तानी लिनेकोे चटारो

blog

सर्लाही, असार २० गते । आर्थिक वर्षको अन्तिममा सर्लाहीका जनप्रतिनिधि र कर्मचारीलाई खर्चालु कामको चटारो छ । आर्थिक वर्ष २०७८/७९ सकिन अब दुई साता मात्रै बाँकी रहेकाले जनप्रतिनिधि र कर्मचारीलाई ‘क्लोजिङ’को चटारो परेको हो । पालिकाका कार्यालयहरूमा अहिले विभिन्न योजनाको भुक्तानी लिन उपभोक्ता समिति र ठेकेदारको भीडभाड बढेको छ । 

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनलगत्तै आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्तभएका जनप्रतिनिधि र कर्मचारीलाई अहिले चालू आर्थिक वर्षको हरहिसाब मिलाउन भ्याइनभ्याइ छ । जिल्लाको विष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव सापकोटाले आर्थिक वर्षको अन्तिम भएकाले कामको अत्यधिक बोझ रहेको जानकारी दिनुभयो । विष्णु गाउँपालिकाले यस पटक अहिलेसम्म गाउँ सभा प्रारम्भ गर्न सकेको छैन । 

गाउँ सभा गर्न राजनीतिक सहमति जुटाउने प्रयास भइरहेको गाउँपालिका कार्यालयले जनाएको छ । जिल्लाका अन्य १९ वटा पालिकामा भने चालू आर्थिक वर्षको भुक्तानीसहित आगामी आर्थिक वर्षको बजेट पारित गराउने अन्तिम तयारी भइरहेको छ । 

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाले नीति तथा कार्यक्रम र बजेटलाई अन्तिम रूप दिने काम भइरहेको बताउनुभयो । पालिकाहरूले असार २५ भित्र चालू गाउँ तथा नगर सभा अधिवेशनबाट बजेट पारित गर्ने गरी छलफल चलिरहेको जनाएका छन् । लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिनाले सिलिङका आधारमा वडाले ल्याएको बजेट र नगरले बनाउने बजेटलाई मर्ज गरेर (एकीकृत) नीति तथा कार्यक्रम र बजेट पारित गरिने बताउनुभएको छ ।  

Author

कौडेना गाउँपालिकाको कार्यालय । तस्बिर : जनार्जन खत्री