• २४ असार २०८१, सोमबार

भूकम्पपछिको पुनर्निर्माण

शैक्षिक संरचना निर्माणमा साढे सात अर्ब

blog

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत निर्माण भएको पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालय भवन । तस्बिर सौजन्य : आयुष केसी

बनेपा, असार २० गते । २०७२ को भूकम्पबाट क्षति पुगेका काभ्रेका शैक्षिक पूर्वाधार निर्माणमा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका अनुसार काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पुगेका ३८१ वटा विद्यालय, शौचालय र खानेपानी आयोजनाको काम सम्पन्न गर्नका लागि सात अर्ब ६६ करोड २० लाख रुपियाँ खर्च हुने जनाएको छ ।

एकाइ प्रमुख गोकर्णध्वज कार्कीका अनुसार नेपाल सरकारले जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक अर्ब ३५ करोड १३ लाख ८६ हजार र शिक्षा विकास समन्वय एकाइमार्फत १७ करोड ५० लाख ८० हजार रुपियाँ खर्च भएको छ । यसैगरी एसियाली विकास बैङ्कले ईईएपी कार्यक्रमअन्तर्गत दुई अर्ब ७० करोड ४८ लाख, डीआरएसपी–१ अन्तर्गत ६२ करोड ८८ लाख २८ हजार, डीआरएसपी–२ अन्तर्गत ५९ करोड ७३ हजार ६० हजार र डीआरएसपी–३ अन्तर्गत २८ करोड ७१ लाख रुपियाँ बजेट आएको एकाइ प्रमुख कार्कीले बताउनुभयो । 

यस्तै भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुने विद्यालयका लागि ६० करोड ७० लाख रुपियाँ, विभिन्न गैरसरकारी संस्थामार्फत एक अर्ब २३ करोड ६४ लाख ८३ हजार रुपियाँ र एसियाली विकास बैङ्कको सहयोगमा भूकम्पमा क्षति भएका विद्यालयको प्रबलीकरणका लागि सात करोड ३७ लाख ७५ हजार रुपियाँ खर्च भएको छ ।

एकाइका अनुसार जेठ मसान्तसम्म जिल्लामा विद्यालय व्यवस्थापन समितिमार्फत २७० वटा, एसियाली विकास बैङ्कको सहयोगमा (ईईएपी)अन्तर्गत २८ वटा, डीआरएसपी–१ अन्तर्गत दस र भारत सरकारको सहयोगमा दसवटा विद्यालयको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको बताउनुभयो ।

 यसैगरी विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण भइरहेका ३१ विद्यालयमध्ये असार मसान्तसम्म २५ वटा विद्यालयको काम सकिने र डीआरएसपी–२ अन्तर्गत निर्माण भइरहेका नौ विद्यालय सम्पन्न भई हस्तान्तरण हुन बाँकी रहेको छ । एसियाली विकास बैङ्कको सहयोगमा डीआरएसपी–३ अन्तर्गत तीनवटा विद्यालयको भवन निर्माण भइरहेको, डीआरएसपी प्रबलीकरणअन्तर्गतका १८ विद्यालयमध्ये सातवटाको काम अन्तिम चरणमा पुगेको, ११ वटाको काम भइरहेको र भारत सरकारको सहयोगमा दुईवटा विद्यालय निर्माणको काम भइरहेको छ । एकाइका अनुसार भूकम्पमा क्षति पुगेका विद्यालयका शौचालयमध्ये १४६ वटा शौचालय निर्माण सम्पन्न भएको र निर्माणाधीन ४१ शौचालयको काम असार मसान्तसम्म सम्पन्न हुनेछ ।

 त्यस्तै भूकम्पका कारण विद्यालयको खानेपानी प्रणालीमा क्षति पुगेका ८८ वटा विद्यालयको खानेपानी योजनामध्ये जेठ मसान्तसम्म ६३ वटा विद्यालयको खानेपानीको आयोजना सम्पन्न भएको र २५ वटा आयोजनाको काम अन्तिम चरणमा पुगेको शिक्षा विकास तथा समन्वय एकाइ काभ्रेका प्रमुख कार्कीले बताउनुभयो । उहाँले भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत नयाँ भवन निर्माण भई हस्तान्तरण भएका विद्यालय भवनमा पठनपाठन सुरु भएको बताउनुभयो ।