• १६ मंसिर २०८२, मङ्गलबार

जेनजी आन्दोलनमा सुरक्षा त्रुटि , डिएसपी कुँवरलाई कारबाही सिफारिस

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, मङ्ंसिर १६ गते  । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा आफ्नो हतियार र सुरक्षा प्रदान गर्ने कार्यालय जोगाउन नसकेको आरोपमा सशस्त्र प्रहरी बल मुख्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम कुँवरलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । 

जेनजी आन्दोलनका बेला नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग र आसपास क्षेत्रको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी सुरक्षा बेसका कमान्डर डिएसपी कुँवरलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।

सशस्त्र प्रहरी स्रोतका अनुसार झन्डै ३५ जना सशस्त्र प्रहरी रहेको सो सुरक्षा बेसबाट प्रदर्शनकारीले १४ वटा स्वचालित एसएलआर (सेल्फ लोडेड राइफल) र त्यसका गोलीगट्ठासमेत लुटेका थिए । कुँवर नेतृत्वले सुरक्षा प्रदान गर्ने यातायात व्यवस्था विभागमा प्रवेश गरी प्रदर्शनकारीले लुटपाट, आगाजनी, तोडफोड गरी कार्यालय भवन नै ध्वस्त पारेका थिए ।

आफ्ना हतियार र कार्यालय नै जोगाउन नसकेको घटनामा मुख्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको थियो । उक्त समितिले गरेको सिफारिसका आधारमा तत्कालीन कमान्डर कुँवरलाई कारबाहीका लागि सिफारिस गरेको हलचोक स्रोतले बतायो । कुँवरको नेतृत्वमा रहेको उक्त सुरक्षा टोलीले अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न नसकेको पनि जनाइएको छ । 

निलम्बनको सिफारिस गरिएका कुँवरलाई सशस्त्र प्रहरी नियमावली २०५८ अनुसार कुन तहको कारबाही हुने भन्नेबारे खुलिसकेको छैन । जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीबाट मात्र एक हजार दुई सयभन्दा बढी हतियार लुटिएका थिए । तीमध्ये अधिकांश फिर्ता भएका छन् । आन्दोलनका क्रममा आपराधिक समूहको आक्रमणबाट तीन जना प्रहरीको हत्या गरिएको थियो ।