• १३ साउन २०८१, आइतबार

आँपपीपल अस्पताल पुग्ने सडक कालोपत्रे

blog

कालोपत्रे पछि आँपपीपल अस्पताल जाने सडक । तस्बिर : नरेन्द्र ढकाल

गोरखा, असार २१ गते  । आँपपीपल अस्पताल जाने सडक कालोपत्रे भएको छ । ग्रामीण भेगमा रहेर विशेषज्ञ सेवा प्रदान गरिरहेको उक्त अस्पतालसम्म पक्की सडकको पहुँच पुगेको छ । गण्डकी प्रदेश मातहतको पूर्वाधार विकास कार्यालयमार्फत आँपपीपल भन्ज्याङदेखि अस्पतालसम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे भएको छ । 

सडक साइट इन्चार्ज सुनील कुस्वाहाले १५० मिटर ढलान र बाँकी ठाउँमा पिच गरिएको बताउनुभयो । कालोपत्रे भएको सडकमा नाली र आवश्यक ठाउँमा रिटनिङ वाल पनि दिएका छौँ, उहाँले भन्नुभयो, चौतारो आँपपीपल अस्पताल, आँपपीपल शीर्षकको उक्त आयोजना निर्माणका लागि चार करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । डीकेसी-बीएम-आइएनएनएस् जेभीले निर्माणको जिम्मा पाएको उक्त सडकको म्याद आगामी भदौमा पूर्ण रूपले सम्पन्न हुँदैछ । 

कालोपत्रे र बाँकी डेढ किलोमिटरमा ग्राभेल गर्ने जिम्मा ठेकेदार कम्पनी हो, उहाँले भन्नुभयो, बाँकी १५ सय मिटरमा नाली बनाउने काम मात्र बाँकी छ, ग्राभेल भने भइसकेको छ । साउन लागेसँगै तोकिएको समयभित्र नाली निर्माणको काम सक्ने लक्ष्य रहेको कुस्वाहाले बताउनुभयो । उक्त सडक ट्र्याक खनिएको १७ वर्षपछि कालोपत्रे भएको हो ।

आँपपीपल अस्पताल पक्की सडक सञ्जालसँग जोडिएपछि अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीले खुसी व्यक्त गरेका छन् । “आफ्नो यातायात हुनेलाई सजिलो भयो, नहुनेले पनि सजिलै भाडाको गाडी प्रयोग गर्न सकिने भइयो,” उहाँले भन्नुभयो, “अस्पतालका साधनहरू त अब नियमित रूपमा चल्छन् ।” 

पक्की सडक बनेसँगै बिरामीलाई अस्पताल आउन, जान निकै सहज हुने उहाँको विश्वास छ । अस्पतालले एम्बुलेन्ससँगै बिरामीका लागि लक्षित गरी बस सेवा पनि सञ्चालन गरिरहेको छ । आकस्मिक रूपमा आउनु नपर्ने बिरामीलाई अक्षित गरी अहिले हप्तामा चार दिन बस सञ्चालन गरिएको छ । अहिले बर्खाका कारण चार दिन मात्र बस चलाएका छौँ तीन दिन पालुङटार क्षेत्रमा जान्छ । एक दिन सिरानचोकको थालाजुङ, चिफ्लेटीसम्म पठाएका छौँ, उहाँले भन्नुभयो, खोप्लाङ, मिरकोट, धुँवाकोट, च्याङ्लीतर्फ भने अहिले बाटो नभएर पठाउन सकिएको छैन ।

अहिले पालुङटारबाट गएका बिरामीलाई पनि आँपपीपल नै पुग्नुपर्ने बाध्यता छ । सभा चौताराबाट आँपपीपल अस्पतालसम्म कालोपत्रे भए तल्लो भेगका बिरामीलाई सहज हुने सरोकारवालाहरू बताउँछन् । पालुङटारको ठाँटीपोखरी क्षेत्रमा जनघनत्व बढे पनि अस्पताल नरहेकाले अस्पतालसम्म पुग्ने छोटो बाटो निर्माण गर्न सके आपत्कालीन अवस्थामा निकै सहज हुने उहाँले बताउनुभयो । अहिले आँपपीपल भन्ज्याङदेखि अस्पतालसम्म भए पनि सडक कालोपत्रे भएपछि स्थानीयवासी पनि निकै खुसी भएका छन् । 

Author

नरेन्द्र ढकाल