• १० मंसिर २०८१, सोमबार

सप्तकोसी कटानबाट बस्ती जोखिममा

blog

भक्तिविलास पोखरेल 

गाईघाट, असार २१ गते । परराष्ट्रमन्त्री डा.नारायण खड्काले सप्तकोसीको कटानलाई नियन्त्रण गरी बाढी प्रभावित क्षेत्रका मानिस र जमिनलाई सुरक्षित राख्न नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । परराष्ट्रमन्त्रीे खड्काले आइतबार उदयपुरको बेलका नगरपालिका वडा नं. ८ स्थित कोसी कटान क्षेत्रको स्थलगत निरीक्षणका क्रममा सो कुरा बताउनुभएको हो ।

केही दिन पहिले मात्रै सप्तकोसी नदीको बहाव गाउँतिर मोडिएपछि उदयपुरको बेलका नगरपालिकाका विभिन्न वडाका एक दर्जनभन्दा बढी गाउँका बासिन्दा बाढीकोे उच्च जोखिममा परेका थिए । उक्त स्थानमा स्थलगत निरीक्षण गर्न आउनुभएका परराष्ट्रमन्त्री खड्काले कोसी कटानको प्रभावलाई रोक्ने र जनताको जीउ धनको सुरक्षा गर्ने प्रमुख दायित्व सरकारको हो भन्नुभयो ।

कोसी कटान स्थलमा पुगेका पत्रकारहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री खड्काले कोसी सम्झौताअनुसार यसको प्रभावलाई नियन्त्रण गर्ने सन्दर्भमा छिमेकी राष्ट्र भारतसँग आपूmले आवश्यक कूटनीतिक पहल गरिरहेको र नेपाल सरकारबाट पनि अल्पकालीन तथा दीर्घकालीन योजनाहरू बनाएर काम अगाडि बढाउन वर्तमान सरकारले कुनै कसर बाँकी राख्दैन भन्नुभयो । 

सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले तत्काल स्थायी किसिमको संरचना बनाउन नसकिने अवस्था रहेको तर कटान रोक्ने खालका अस्थायी प्रकृतिका कार्यहरू गर्न सकिने बताउनुभयो । उदयपुर, सुनसरी र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित उच्च सुरक्षा अधिकारीसमेतको टोलीले कोसी कटानको प्रभावलाई आइतबार स्थलगत अवलोकन गरेको थियो ।  

बेलका नगरपालिकाका नगरप्रमुख अशोककुमार कार्कीले कोसीमा बाढी आउँदा डुबाउला भन्ने चिन्ता र बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ सखाप पार्ला भन्ने भयले स्थानीयहरूमा व्यापक चिन्ता छाएको बताउनु भयो ।   नगरप्रमुख कार्कीले कोसी सम्झौताअनुसार भारत सरकारले नदीको दुवै तर्फ तटबन्ध निर्माण गर्नुपर्नेमा सुनसरी तर्फमात्र गरेको र उदयपुरतर्फको लागि सप्तरीको भारदहस्थित कङ्कालिनी मन्दिरदेखि बेलकाको सेतीखोला दोभानसम्म तटबाँध निर्माण नगरेपछि बाढी र डुबानको समस्या अझ बढेर गएकोे हो भन्नुभयो ।

हाल बेलका नगरपालिका–३ स्थित चिलिया टप्पु, श्रीलङ्का टप्पु, सिसौली टप्पु, एबीसी टप्पु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्षसमेत बाढीको सम्भावित डुबानको उच्च जोखिममा परेकोे बताउनुभयो । स्थानीयले खयरका हाँगा, बास र अन्य विभिन्न किसिमका सेउलाहरू लगाएर कोसीको छाललाई रोक्ने प्रयास गरिरहेका छन् ।

उहाँका अनुसार प्रभावित क्षेत्रमा बसोबास गर्ने एक हजार तीन सय घर परिवार विस्थापित हुनुका साथै ठूलो जनधनको क्षति हुनसक्ने खतरा बढेको छ । तत्काल रोकथाम गर्न नसके बेलका नगरपालिकाका वडा नं १,२ र ३ सहित सप्तरीको फत्तेपुर, कञ्चनपुर, भारहद, राजविराज हुँदै नदी बग्नसक्ने नगरप्रमुख कार्की बताउनुहुन्छ ।

सप्तकोसीको चारवटा भङ्गालो छन् । पूर्वपट्टीको भङ्गालोले राजाबास चक्रघट्टीतर्फ कटानलाई तीब्र बनाएको छ भने पश्चिमपट्टीको भङ्गालोले उदयपुरतर्फको चिलिया टप्पुमा क्षति पु-याएको छ । सबैभन्दा बढी खतरा पश्चिमतिरको भङ्गालो हो । यसले उदयपुर, सप्तरीको अधिकांश भागमा क्षति पु-याउँछ । सो क्षेत्रमा कोसीले कटान गरेको भागमा बनाइएको बाँध मर्मत नहुँदा स्थानीय बासिन्दाहरूमा बाढीको त्रास बढेको हो । 

कटान तीब्र गतिमा हुँदैछ । बाढी कुनै पनि बेला गाउँ बस्तीमा पस्न सक्ने भएकोले कटान भइरहेको क्षेत्रमा तत्काल रोकथामको लागि बोरा भरेर बाँध लगाउने काम सुरु गरिएको, तत्कालका लागि बाँसझाडी, सेउला लगाएर कटान रोक्ने प्रयास गरिने र यसका लागि राष्ट्रिय विपत् प्राधिकरणबाट २० लाख रुपियाँ तत्काल उपलब्ध गराउने निर्णय गरिएको बेलका नगरपालिकाका नगरप्रमुख अशोककुमार कार्कीले बताउनुभयो ।

स्थलगत अवलोकनमा आउनुभएका कोसी तथा बक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरका प्रमुख कैलाश श्रेष्ठले कोसी सम्झौताअनुसार ब्यारेजदेखि ३४ किलोमिटर उत्तरसम्म भारत सरकारले तटबन्ध निर्माण गर्ने सम्झौता भएको हुँदा नेपाल सरकारबाट यस्तो आपतकालीन अवस्थामा पनि त्यहाँ कुनै काम गर्न नमिल्ने र सरकारले बजेट पनि विनियोजन नगर्ने गरेको बताउनुभयो । 

तर कोसी सम्झौताअनुसार भारत सरकारले त्यस क्षेत्रमा अस्थायी वा स्थायी जुन रूपको भए पनि कटान नियन्त्रणको लागि तटबाँध निर्माण गर्नैपर्ने भएकाले नेपाल सरकारबाट सामान्य मर्मत बाहेक ठूला योजना सञ्चालन गर्न नमिल्ने र बजेट तथा कार्यक्रहरूसमेत केही नरहेको आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार यसको स्थायी समाधान भनेको कोसीको आफ्नो प्रभावित क्षेत्रबाट बस्तीहरूलाई अन्यत्रतिर स्थानानान्तर गर्नु नै हो ।

सिँचाइ, यातायातको विकास गर्ने उद्देश्यले नेपाल र भारतबीच सन् १९५४ अप्रिल २५ मा कोसी सम्झौता भएको हो । भारतीय विशेषज्ञ टोलीले सन १९८१ मा सप्तकोसीको बाढीले भारततर्फको सात हजार ६८० हेक्टर र नेपालतर्फको ७३८ हेक्टर भूमि बर्षेनि क्षति भइरहेको प्रतिवेदनमा औंल्याएको छ । 

जापान सरकारको सहयोग संस्था जाइकाले सन् १९८५ मा गरेको अध्ययन प्रतिवेदनअनुसार सप्तकोसी संसारकै बढी लेदो बोक्ने नदी हो । यसको अत्यधिक पहिरो र भूक्षय हुने ९२ हजार ५३८ वर्गकिलोमिटर जलाधार क्षेत्र छ । त्यसमध्ये ४१ हजार ३३३ वर्गकिलोमिटर नेपालमा रहेको आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ  ।

Author

उदयपुरको बेलका नगरपालिका–८ स्थित कोसी कटान क्षेत्रको स्थलगत निरीक्षण गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितकोे टोली ।तस्बिर : भक्तिविलास पोखरेल