रमेश विश्वकर्मा
गुल्मी, माघ ४ गते। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ। यसै क्रममा दुई निर्वाचन क्षेत्र रहेको गुल्मी जिल्लाका लागि पनि एमालेले उम्मेदवारको टुङ्गो लगाएको बताइएको छ।
निर्वाचन क्षेत्र नम्बर–१ का लागि नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रदीपकुमार ज्ञवाली उम्मेदवार बन्नुभएको छ। प्रभावशाली नेताका रुपमा रहनुभएका ज्ञवाली पूर्वमन्त्रीसमेत हुनुहुन्छ। २०७९ को निर्वाचनमा उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीसँग पराजित हुनुभएको थियो। ज्ञवालीले ३२ हजार १५२ मत प्राप्त गर्दा उहाँले ३३ हजार ७४४ मत प्राप्त गरी विजयी हुनुभएको थियो। नेपाली कांग्रेससँग तत्कालीन मओवादी केन्द्र र नेकपा एसलगायतका पार्टीबीच गठबन्धन भएको थियो।
निर्वाचन क्षेत्र नम्बर– २ का लागि नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष गोकर्णराज विष्ट उम्मेदवार बन्नुभएको छ। पूर्वमन्त्री समेत बन्नुभएका उहाँ यस क्षेत्रबाट पटक–पटकको निर्वाचनमा विजयी हासिल गर्नुभएको छ। २०७९ को निर्वाचनमा विष्टले तत्कालीन नेकपा एसका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गर्दा विष्टले २८ हजार ४८५ मत प्राप्त गरी विजयी हुनुभएको थियो। झाँक्रीलाई नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका पार्टीले सहयोग गरेका थिए। नेकपा एसबाट एमालेमै फर्किनुभएकी उहाँ केन्द्रीय सदस्य बनेसँगै राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्नुभएको छ।