• ४ माघ २०८२, आइतबार

सामाजिक सञ्जाल र निर्वाचन

blog

कागजी पर्चा, पम्प्लेट, पोस्टर र भित्ते लेखनको जमाना गयो । अहिले सामाजिक सञ्जालका चौतारी नै गरमागरम हुने गरेका छन् । जेनजी विद्रोह पनि सामाजिक सञ्जालको जगमा उभिएरै भयो । सत्ताको सीमित वृत्तभित्र मात्र होइन नेपाली सामाजिक मनोविज्ञानमा समेत जरा गाढेको कुशासन र दण्डहीनताको संस्कृतिविरुद्ध नवयुवा पुस्ताले विद्रोह गरेपछि उत्पन्न सङ्कट झेल्ने क्रममा घोषित निर्वाचनले एउटा शान्तिपूर्ण निकास दिन्छ भन्ने विश्वास अधिकांश नेपालीले लिएका छन् । यस सन्दर्भमा, चुनावी प्रचारका लागि सामाजिक सञ्जाल व्यापक रूपमा प्रयोग भइरहेको देख्न सकिन्छ । हजुर बाआमाको पुस्ताले आफ्ना पालाका सञ्चार माध्यमको प्रयोग गरे भने नातिपनाति पुस्ताले सामाजिक सञ्जालको धेरै हदसम्म प्रयोग गरिरहेछन् । रासन वा अन्य आवश्यकता कटौती गरेर भए पनि सामान्यतः मानिस इन्टरनेट प्रयोग गरिरहेका छन् । ह्यास्ट्यागले मतपेटिकासँग समेत नाता जोड्छ भन्ने नेपालमा पनि देखिँदै छ । हाल फागुन २१ मा हुने निर्वाचनलाई लिएर पनि सामाजिक सञ्जाल तात्तिरहेको देखिन्छ । 

राजनीतिक निर्णय प्रक्रियाको तहसम्म जनताको वस्तुगत गुनासो पु-याउन केन्द्रीकृत रिपोर्टिङ वा पार्टी सर्कलको रिपोर्टिङ कदापि पर्याप्त नभएको छर्लङ्ङ भइसकेको छ । जनताका विविध गुनासा, पीडा, अनुभव र आवेग सामाजिक सञ्जालमा कच्चा पदार्थ जस्तै छरपस्ट रूपमा तौरिने गरेका छन् । नेता र विश्लेषकलाई जमिनमै पुगेर सबै सर्वेक्षण गर्न सम्भव हुँदैन । धरातलीय यथार्थ भोगेका पीडित वर्गले समेत सामाजिक सञ्जालका चौतारीमा प्रदर्शन गरेका विविध समस्याका फेहरिस्तबाट नेतृत्व तहले पनि वस्तुनिष्ठ रूपमा मूल्याङ्कन गर्ने र आफ्नो राजनीतिक यात्रा तय गर्न सक्छन् । आफ्ना पक्षका रिपोर्टिङ मात्रै सही नहुँदो रहेछ भन्ने अहिलेसम्मका परिणामले नदेखाएका होइनन् । सामाजिक सञ्जालमा तौरिरहेका सबै कच्चा पदार्थ टपक्कै टिपेर उपयोग गर्न मिल्ने खालका हुँदैनन् । अर्थात् जसरी बस्तीमा भौतिक रूपमा फोहोरमैलाको डङ्गुर देख्न सकिन्छ, त्यसरी नै सामाजिक सञ्जालमा पनि फोहोरमैलाको चाङ देखिँदा अचम्मित हुनु पर्दैन किनकि समाजको प्रतिविम्ब सामाजिक सञ्जालमा पनि हुन्छ नै । सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोगले समाजलाई हुने हानिलाई न्यूनीकरण गर्दै सामूहिक हितमा प्रयोग गर्न सकिन्छ । आउँदो चुनावलाई स्वतन्त्र र प्रभावकारी रूपमा सम्पन्न गर्न विशेषतः पक्षधरता नअपनाउने मिडिया वृत्त र नागरिक समाजको वृत्तले पर्याप्त योगदान दिन सक्छन्; यस सम्बन्धमा सामाजिक सञ्जाल झन् विशेष महìवका हुन्छन् । 

जेनजी पुस्ताले पनि विद्रोह ओकल्न उपयोग गरेको डिजिटल प्लेटफर्मलाई असल मन, वचन र कर्मको निर्माणतर्फ परिचालन गर्नु अति महìवपूर्ण हुन्छ । किनभने हामीले राम्रा नतिजा खोजेका हौँ । त्यसका निम्ति हाम्रा मानसिक कर्म, सञ्चार कर्म र भौतिक कर्म पनि असल हुनु आवश्यक हुन्छ, जसका लागि सामाजिक सञ्जालको सदुपयोग अति जरुरी छ । विध्वंसात्मक प्रयोजनका निम्ति पनि सामाजिक सञ्जालको दुरुपयोग हुन सक्ने सम्भावना हुन्छ, यद्यपि सचेत प्रयोगकर्ताको सामूहिक प्रयासबाट त्यस्तो कुचेष्टालाई नियन्त्रण गर्न सकिन्छ । 

वस्तुतः छर्लङ्ङ भइसकेको छ कि समकालीन नेपाली समाजमा सामाजिक सञ्जाल अब पटक्कै गौण विषय होइन । पार्टीपङ्क्तिले आआफ्नो पार्टीलाई प्रवर्धन गर्ने प्रयोजनका निम्ति हाल व्यापक रूपमा सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । विगतमा चुनावी प्रचारमा अज्ञात धनराशि खर्च हुने गथ्र्यो । अहिले आर्थिक रूपले कमजोर उम्मेदवारले पनि आफ्नो सूचना प्रविधिको ज्ञान र सिपको उपयोग गरेर वा सहयोगी टिमको सहायताले सामाजिक सञ्जालका प्लेटफर्ममार्फत आफ्नो चुनावी माहोल तताउन सक्ने स्थिति विद्यमान छ । अब उम्मेदवार बन्न सीमित साधनस्रोतबाट पनि सम्भव छ र सामाजिक सञ्जालमार्फत यथाशाक्य बढी मतदाता समक्ष आफ्नो विचार र एजेन्डा पेस गर्न सकिन्छ । स्रोतको अपर्याप्तता भएका तर इमानदारी र विश्वसनीयता भएका ऊर्जावान् उम्मेदवार डिजिटल मार्गको प्रयोग गरी सिधै जनतासामु उपस्थित हुने अपेक्षाकृत सहज स्थिति बनिरहेको छ । जनताले पनि नेताको सम्बोधन सुन्न कार्यव्रmम स्थलमै जानु नपर्ने स्थिति बनेको छ । सामाजिक सञ्जालमार्फत नै नेताको सम्बोधन सुन्न र हेर्न पाउने स्थिति बनेको छ । 

कसका भाषणमा के तुक छ भनेर सामाजिक सञ्जाल प्रयोग गर्ने मतदाताले छानी छानी हेर्न सुन्न पाउँछन् । मतदाताका निम्ति भाषणभन्दा सत्य सूचना र विश्वसनीयताका आधार ज्यादै महìवपूर्ण हुन्छन् । नेताले विभिन्न समयमा बोलेका विरोधाभासपूर्ण कुराले सामाजिक सञ्जालका प्रयोगकर्ताको बढी ध्यान आकर्षित गर्ने गरेको पाइन्छ । दर्शिएको विरोधाभासको तुलनामा नेताले गर्ने खण्डन कमजोर साबित हुने गरेको छ । त्यसैले नेताले पनि विचार पु¥याएर, तौली तौली आफ्नो भनाइ राख्नुपर्ने हुन्छ । उम्मेदवारले युट्युब, टिकटक, इन्स्टग्राम जस्ता सामाजिक सञ्जालका प्लेटफर्ममार्फत आफ्ना सन्दर्भमा उठेका विविध असहज प्रश्नको प्रत्योत्तरमा मतदाता समक्ष प्रत्यक्ष स्पष्टीकरण दिनुपर्ने बाध्यता पनि छ । विगतका अभिलेखसमेत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आउने हुँदा कुनै पनि उम्मेदवारले लोकप्रिय मात्र भएर पुग्दैन, खलखली पसिना निकालेर प्रश्नको उत्तरसमेत दिन तयार हुनुपर्ने स्थिति छ । निर्वाचनताका सम्प्रेषण गरिएका वाचा पनि मतदाताले स्मरणको लागि सङ्कलन गरेर राख्न सक्ने हुँदा नक्कली भाषणले मात्र काम दिने अवस्था छैन । यस प्रकार निर्वाचनसँग सामाजिक सञ्जालको नजिकको साइनो रहन्छ भन्ने प्रस्ट हुन्छ । 

राजनीतिकर्मी भ्रष्टाचारविरुद्ध साँच्चै उभिने हो भने उनीहरूले सामाजिक सञ्जालको दुरुपयोग गरेर झुटलाई सत्य साबित गर्ने निरर्थक प्रयास गर्नु हुन्न; उनीहरूले आफ्नै इमानदारी र राजनीतिक प्रतिबद्धता वस्तुसङ्गत ढङ्गले प्रमाणित गर्ने थलो सामाजिक सञ्जाललाई बनाउनु बुद्धिमानी ठहर्ने छ । 

सामाजिक सञ्जालको सदुपयोग गरेर जुन दलले जेनजी पुस्तालाई नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विश्लेषणमार्फत सही प्रशिक्षण दिन्छ, त्यही दलको वैचारिक, सैद्धान्तिक र दीर्घकालीन औचित्य साबित हुने छ । आवश्यकताबमोजिम सामाजिक सञ्जाललाई राजनीतिक साक्षरताको माध्यमसमेत बनाइनु उचित हुन्छ । नीति, नैतिक आचरण र एजेन्डाको बहसबाट नेपाली समाजलाई टाढै राखेर केवल गालीगलौज र छोटो समयको लागि भाइरल बन्ने उद्देश्यले मात्र गरिने फोस्रो प्रचार र विज्ञापनले अन्ततः नेपाली समाजलाई झन् बढी निराश बनाउने हुँदा सबै राजनीतिक शक्ति यसबारे सजग बन्नु आवश्यक छ । 

मुख्यतः भ्रष्टाचार के हो, समाजमा यसको प्रकोप कसरी फैलिन्छ र यसलाई नियन्त्रण गर्ने नीति, विधि र प्रणाली कस्तो हुनु पर्छ भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा जेनजी पुस्ताले मात्र होइन सबै पक्षले निर्वाचनको सिलसिलामा सव्रिmय बहस चलाएको देखिँदैन । चम्किएका मिडियाले समेत जेनजी विद्रोहपछि भ्रष्टाचारका सम्बन्धमा पर्याप्त बहस सञ्चालन गरेको देखिँदैन । जब जेनजी विद्रोह नै मूलतः भ्रष्टाचारविरुद्ध भएको थियो भने जेनजीले त झन् बढी मात्रामा भ्रष्टाचार नियन्त्रण गर्ने ध्येयमै केन्द्रित निर्वाचनसम्बन्धी बहस छेड्नुपर्ने होइन र ? जेनजीको स्वभाव अनुसार उनीहरूलाई मोटो वा भाववाचक प्रचारमा अल्झाउनु उपयुक्त हुँदैन । दीर्घकालीन दृष्टिकोणमा आधारित नैतिक नागरिक शिक्षा, संस्थागत रूपान्तरण, ठेक्कापट्टा र खरिद प्रव्रिmयामा हुने घोटाला, बजेटको दुरुपयोग र स्वार्थको द्वन्द्व जस्ता मुद्दाबारे सामाजिक सञ्जालका प्लेटफर्ममार्फत जेनजीका उत्प्रेरक तथा अगुवा पङ्क्तिले ठोस, सरल र छोटो मिठो भाषामा बुझाउने कसरत गर्नु श्रेयष्कर देखिन्छ । 

सामाजिक सञ्जाल बहुसङ्ख्यक जनताले प्रयोग गर्ने मिडिया हो । निर्वाचनलगायत अन्य सार्वजनिक विषयमा सामग्री सम्प्रेषण गर्दा सबै प्रयोगकर्ताले जिम्मेवारी बोध गर्न सक्नु पर्छ । झन् सामाजिक सञ्जालका इन्फ्लुयन्सर र प्लेटफर्मले त सामाजिक उत्तरदायित्वको सिद्धान्तलाई अनिवार्य पालना गर्नु पर्छ । सामाजिक सञ्जाललाई सनसनी बेचेर पैसा कमाउने थलो मात्र बनाउनु समाजका लागि हानिकारक हुन्छ । निर्वाचनकै अभिन्न अङ्गको रूपमा यसको नैतिक प्रयोगमा जोड दिँदै सुशासनको पक्षमा नागरिक शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता हो । सार्वजनिक क्षेत्रको पारदर्शिता, जवाफदेहिता र प्रभावकारी कार्यसम्पादनका मुद्दालाई निर्वाचनसँग गाँसेर सञ्जालमा फराकिलो ठाउँ दिनु वाञ्छनीय छ ।