हुम्ला समाचारदाता
हुम्ला, माघ ४ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटै मतदान स्थलमा मतदाता आउन कठिन हुने भएको छ । लिमी प्रवेश गर्ने दुई वटै नाका चार हजार ६७० मिटर उचाइको नारा र पाँच हजार मिटर उचाइको न्यालु नाकामा हिमपात भई आवागमन बन्द भएकाले मतदान गर्न अधिकांश मतदाता आउन नसक्ने देखिएको हो ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले आउँदो प्रतिनिधि सभाको निर्वाचनका लगि मतदाता लिमी आउन कठिन हुने बताउनुभयो । गत कात्तिकदेखि भएको हिमपातका कारण हाल लिमी जाने दुई वटै नाकाको सडक बन्द भइसकेको र अझै हिउँ पर्ने समय बाँकी भएकाले मतदानको अवधिमा मतदाता लिमी पुग्न कठिन हुने देखिएको उहाँले जनाउनुभयो । यसअघि मङ्सिर वा वैशाखमा भएका निर्वाचनमा ७० देखि ९० प्रतिशतसम्म मत खस्ने गरेको भए पनि यस पटक भने अहिलेकै अवस्था कायम भए थोरै मात्र मत खस्ने उहाँको भनाइ छ ।
लिमीका तीनमध्ये भृकुटी प्रावि मतदान केन्द्रमा रहेको जाङगाउँ मतदाताविहीन रहेको छ । हिमशिखर प्रावि मतदान केन्द्र रहेको तिलगाउँँमा केही र सुनखानी आवि मतदान केन्द्रमा भने केही बढी मतदाता छन् । फागुन २१ गतेको निर्वाचनका लागि लिमी जाने दुई वटा मार्गमा जमेको हिउँ पन्छाएर सडक सुचारु नगरे न्यून मतदाताको मात्र मतदानमा सहभागिता हुन सक्ने उहाँको भनाइ छ । हाल काठमाडौँमा रहेका वडाध्यक्ष तामाङले सडक बन्द भएका कारण आफूले पनि यस पटकको निर्वाचनमा भोट खसाल्ने सम्भावना नरहेको बताउनुभयो ।
हाल लिमीका तीनमध्ये दुई वटा गाउँँ तिल र हल्जी मतदान केन्द्रमा २०३ मतदाता मात्र छन् । लिमीका तीन मतदान केन्द्रमा ६७२ मतदाता छन् । त्यसमा २९७ पुरुष र ३७५ महिला मतदाता छन् । मतदातामध्ये ४६९ लिमीबाहिर जाडो छल्न, व्यापार व्यवसाय र अध्ययनका लागि गएका छन् । लिमीका स्थानीय कुन्जोक तामाङले यस पटक फागुनमा तोकिएको निर्वाचनका लागि लिमीबाहिर रहेका मतदातालाई गाउँ फर्कन समस्या हुने बताउनुभयो ।
हाल ७० प्रतिशतभन्दा बढी मतदाता लिमीबाहिर रहेका कारण ती मतदातालाई कसरी लिमी भिœयाउने भन्ने चिन्ता भइरहेको उहाँले जनाउनुभयो । तीन वटा मतदान स्थल र तीन वटै मतदान केन्द्र रहेको लिमीमा पहिलो पटक कम मतदाताको सहभागिता रहने सम्भावना बढेको हो ।