• ४ माघ २०८२, आइतबार

भिस्वा कन्स्ट्रक्सनका गाडी खिएर नष्ट

blog

सर्लाहीको लक्ष्मीपुरमा खिइँदै गएका भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सनका टिप्पर । तस्बिर : जनार्जन खत्री

सर्लाही समाचारदाता 

सर्लाही, माघ ४ गते  । सर्लाहीको हरिपुर नगरपालिका–४, लक्ष्मीपुरमा १३ वर्षदेखि अलपत्र रहेका भिस्वा कन्स्ट्रक्सनका गाडी खिएर गइरहेका छन् । भारत सरकारले नवलपुर–मलङ्गवा सडक निर्माणमा सहयोग गर्दा भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सनलाई सडक कालोपत्रे गर्ने जिम्मेवारी प्रदान गरेको थियो । १३ वर्षअघि उक्त निर्माण कम्पनीले केही समय काम गरेर छाडेको थियो । 

सुस्त गतिमा भए पनि काम गर्दागर्दै बेपत्ता भएपछि निर्माण कम्पनीका सवारीसाधन त्यसै अलपत्र परेका हुन् । लक्ष्मीपुरमा नवलपुर–मलङ्गवा सडकछेउमै निर्माण कम्पनीका आठ वटा टिप्पर १३ वर्षदेखि अलपत्र रहेका छन् । 

टिप्परका पाटपुर्जा खिया लागेर काम नलाग्ने भइसकेका छन् । भिस्वा कन्स्ट्रक्सन सम्पर्कमै नआउँदा यहाँका व्रmसर व्यवसायी, होटेल सञ्चालक, पेट्रोल पम्प, जग्गाधनीलगायतले पनि उधारो रहेको पैसासमेत पाउन सकेका छैनन् । 

भारतीय निर्माण कम्पनीले टिप्पर र निर्माण सामग्री राखेको जग्गा हरिपुर नगरपालिकाका पूर्वनगरप्रमुख जमिरुद्दिन मन्सुरको हो । भिस्वा कन्स्ट्रक्सनसँग आफूले साढे तीन बिघा जग्गा भाडा दिएबापतको ५० लाखभन्दा बढी रुपियाँ लिन बाँकी रहेको मन्सुरको भनाइ छ । 

जग्गाको भाडा भुक्तानीका लागि भारतीय कम्पनीविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेर ढिलो गरी मुद्दा जिते पनि आफ्नो जग्गामा खिइएका गाडी लिलाम गर्ने, भारतीय कम्पनीसँग भाडा लिनेलगायतका विषय झन्झटिलो रहेकाले निरीह भएर बसिरहेको मन्सुरले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो त भाडा मात्र बाँकी होइन, १३ वर्षदेखि जताततै गिट्टी, बालुवा छरपस्ट रहेकाले जग्गामा कुनै बाली उब्जाएर खान सकेको छैन ।” 

सरकारले नवलपुर–मलङ्गवा सडकमा नयाँ ठेक्का लगाएर आफ्नै खर्चमा निर्माण गर्ने निर्णय गरेसँगै भारतीय निर्माण कम्पनी भिस्वा कन्स्ट्रक्सन सम्पर्कविहीन बनेको थियो । लालबन्दी नगरपालिका–६ मा रहेको रामछविला आयल स्टोरका सञ्चालक पवन साहले भिस्वा कन्स्ट्रक्सनसँग इन्धनबापतको साढे २५ लाख रुपियाँ लिन बाँकी रहेको बताउनुभयो । 

निर्माण कम्पनी फरार भएपछि आफूले सडक विभाग, जिल्ला प्रशासन, भारतीय राजदुतावाससम्म पुगेर भुक्तानी पाऊँ भनी निवेदन दिए पनि केही पाउन नसकेको साहको गुनासो छ । साहले भन्नुभयो, “१३ वर्षसम्म त पाइएन अब त झन् के पाइएला भनेर आस पनि मरिसक्यो । निर्माण कम्पनीकै अत्तोपत्तो नभएपछि अड्डा, अदालत धाउन पनि छाडिसकेँ ।” 

निर्माण कम्पनीका कामदारले यहाँका होटेलमा खाजा, खाना खाएको, व्रmसरबाट गिट्टी, बालुवा खरिद गरेकोलगायतको भुक्तानी भएको छैन । नेपाली निर्माण कम्पनीले नवलपुर–मलङ्गवा सडक कालोपत्रे गरेको चार वर्ष बितिसक्दा पनि भारतीय निर्माण कम्पनीको उधारो भने यथावत् रहेको छ । 

हुलाकी सडक आयोजना निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रन्जित यादवले सुरुमा भारतीय सरकार लगानी गरेको र निर्माण कम्पनी पनि भारतीय नै रहेकाले कार्यालयसँग पुरानो विवरण कुनै नरहेको बताउनुभयो । पछि सरकार आफैँले लगानी गरेपछि दुई खण्डमा ठेक्का लगाएर यो सडक कालोपत्रे गरिएको यादवले बताउनुभयो । 

इन्जिनियर यादवले भन्नुभयो, “भिस्वा कन्स्ट्रक्सनको सर्लाहीमा लक्ष्मीपुर र बाराको पिलुवामा पनि यसै गरी सवारीसाधन अलपत्र रहेका छन् तर हामीसँग त्यसको कुनै रेकर्ड भने छैन । भारतीय कम्पनीले काम नै गर्न नसकेपछि पछि अर्को ठेक्का लगाएर कालोपत्रेको काम पूरा गरिएको हो ।” भारतीय कम्पनी भिस्वा कन्स्ट्रक्सनले सुस्त गतिमा काम गर्दा त्यसबेला नागरिक समाज, सञ्चारकर्मी, स्थानीय बासिन्दा, सर्वसाधारण, हुलाकी सडक आयोजनालगायतले धुलोका कारण असाध्यै समस्या परेको भन्दै चाँडोचाँडो काम गर्न निरन्तर दबाब दिने गरेका थिए । 

काम गर्न नसकेर भारत फर्किएको भिस्वा कन्स्ट्रक्सनको निर्माण सामग्री तथा सवारीसाधन अलपत्र रहेको विषयमा जिल्ला प्रशासन कार्यालयमा कयौँ पटक छलफलसमेत भएको थियो । भारतीय कम्पनि सवारीसाधन, निर्माण सामग्री सबै माया मारेर कामै छाडेर भारत नै फर्किएपछि यहाँका व्यवसायीको उधारो भने त्यसै बसेको हो ।