अमरराज नहर्की
तनहुँ, माघ ४ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले तनहुँका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुङ्गो लगाएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार तनहुँ क्षेत्र नम्बर १ मा भगवती न्यौपाने र क्षेत्र नम्बर २ मा केदार सिग्देललाई उम्मेदवार बनाउने निर्णय भएको हो । उम्मेदवार चयन गरिएका दुवै जना नेकपा एमालेका केन्द्रीय सदस्य हुनुुहुन्छ ।
तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी न्यौपाने पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुनुहुन्छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्ने निश्चित भइसकेकाले यहाँको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ । तत्कालीन जनप्रतिनिधि रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको यस क्षेत्रमा एमालेले आफ्नो बलियो उपस्थिति देखाउन पूर्वमन्त्री न्यौपानेलाई मैदानमा उतारेको हो ।
त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवार तय गरिएका केदार सिग्देल यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिनुभएको थियो । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शङ्कर भण्डारीसँग पराजित भएका सिग्देललाई एमालेले पुनः अवसर दिएको छ ।