बोमलाल गिरी
नवलपुर, माघ ३ गते। नवलपुरको देवचुलीमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले आगामी वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ। पोखरा विश्वविद्यालयको सम्बन्धन लिएर आगामी वर्षदेखि प्राकृतिक चिकित्सा विज्ञान अध्ययन गराउने शिक्षण अस्पताल सञ्चालनमा आउने चिकित्सालयका महाप्रबन्धक हरि सापकोटाले जानकारी दिनु भयो।
आगामी शैक्षिकसत्रदेखि पोखरा विश्वविद्यालयको संयुक्त आगिंक क्याम्पसको रूपमा रहने गरि शिक्षण अस्पताल सन्चालनको तयारी अगाडि बढाइएको सापकोटाले बताउनुभयो। चिकित्सा शिक्षा आयोगको सिफारिसमा २०८२ को जेठ २८ गते नेपाल सरकारले राजपत्रमा ब्याचरल इन नेचुरोपेथी एन्ड योगा साइन्स (बिएनवाइस) को कक्षा नेपालमा सञ्चालन गर्न पाउने सूचना प्रकाशित गरेको थियो।
नेपालमा बिएनवाइसको कक्षा सन्चालन गर्न पाउने व्यवस्था भएपछि चिकित्सालयले शिक्षण अस्पताल सन्चालनको कार्यलाई तीव्रता दिएको अस्पतालका अध्यक्ष प्रदीपराज घिमिरेले जानकारी दिनु भयो।
चिकित्सालयले आवश्यक तयारी गरेको र विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगसमेत सकारात्मक भएकाले आगामी वर्षबाट सो कक्षा सञ्चालन हुने घिमिरे बताउनु भयो।
“नेपालबाट हरेक वर्ष हजारौँ विद्यार्थी प्राकृतिक चिकित्सा अध्ययन गर्न भारत जाने गर्छन्, यहाँ शिक्षण अस्पताल सुरु भयो भने प्राकृतिक चिकित्सा सम्बन्धी प्राज्ञिक जनशक्ति उत्पादन देशभित्रै हुने र पैसा बाहिर जान रोकिन्छ”, घिमिरेले भन्नु भयो।
नेपालमा अहिलेसम्म प्राकृतिक चिकित्सा विज्ञानको अध्यापन नभएकाले आफूले शिक्षण अस्पताल सञ्चालन गर्न लागेको महाप्रबन्धक सापकोटाको भनाइ छ। उहाँका अनुसार शिक्षण अस्पतालका लागि आवश्यक फरकफरक १४ विभाग बनाउनेदेखि छात्रावास लगायतका भौतिक संरचनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
अस्पतालले चर्चेको १० बिघा जमिन अस्पतालको नाममा नेपाल सरकारले भोगाधिकार दिइसकेको र आसपासका थप सार्वजनिक जग्गा प्राप्तिका लागि स्वास्थ्य मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइएको सापकोटाले बताउनु भयो।
अस्पतालमा आगामी असारदेखि आवासीय रूपमा तीन सय बिरामीलाई उपचार गर्ने सकिने गरेर निमार्णको कामलाई तीव्रता दिइएको उहाँको भनाइ छ।
राष्ट्रिय योजना आयोगले विशेष अनुदानमार्फत् १२ करोड ४६ लाख रुपियाँ विनियोजन गरेको बजेटबाट अहिले अस्पताल भवन तथा शिक्षण अस्पतालको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। शिक्षण अस्पताल लागि चिकित्सालयले प्राध्यापक देविभक्त ढकाललाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकेको छ।
कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रूपमा यस चिकित्सालयले ख्याती कमाएको थियो। प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिना औषधी उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस अक्युपञ्चर, फिजियोथेरापी योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ।