नवराज नेपाली
बागलुङ (गलकोट), माघ ४ गते । नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष हीराबहादुर केसीलाई उम्मेदवार बनाउने भएको छ । एमालेको सचिवालय बैठकले क्षेत्र नं. १ बाट केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । निर्वाचन क्षेत्रीय समन्वय कमिटिले केसीसहित मनकुमारी केसी जिसी र इन्द्रलाल सापकोटालाई उम्मेदवार सिफारिस गरेको थियो ।
बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य मञ्जु चालिसेलाई उम्मेदवार चयन गरेको छ । क्षेत्रीय समन्वय कमिटिले चालिसेको मात्र नाम सिफारिस गरेको थियो । बागलुङ क्षेत्र नं. १ का उमेदवार केसी २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७९ को प्रदेशसभाअन्तर्गत बागलुङ क्षेत्र नं. १ (क) मा उमेदवार बन्नुभएको थियो ।
दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर खड्का र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापासँग केसी पराजित हुनुभएको थियो ।